ज्ञानमणि नेपाल कालोटोपी

हाम्रो समाजमा जति पनि मानिस छन्, ती सबै असल र मिलनसार कहाँ छन् र ? कोही यति स्वार्थी छन्, जो आफ्नो मात्र फाइदा हेर्छन्, अरुको भावनाको वास्तै गर्दैनन् । अरुलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्छन्, अरुलाई सहयोग गर्न हिच्किचाउँछन् । आफ्नो कुरा मात्र ठीक भन्छन्, अरुको सफलतामा कहिल्यै खुशी हुँदैनन् । उनीहरु यतिसम्म घमण्डी हुन्छन् की आफ्नो कमजोरी कहिल्यै स्वीकार गर्दैनन् । अरुलाई दोष दिएर आफू उम्कन खोज्छन्, सम्बन्धलाई पनि आफ्नो स्वार्थका लागि मात्र प्रयोग गर्छन् । यस्ता मान्छेहरुसँग सधैं बचेर काम गर्न सक्नुपर्छ । नत्र कतिबेला कहाँ लगेर फसाउँछन्, पत्तै हुँदैन ।
हामीले सधैं नकारात्मक कुरा मात्र सोच्नु पनि हुँदैन । कुनै पनि विषयमा धेरै डर लिने र अनावश्यक चिन्ता गर्ने काम पनि गर्नु हुँदैन । हामीले गर्न नसक्ने कामै के छ र ? त्यसैले कुनै पनि काम गर्न डराउने र असफल भइन्छ भन्ने सोच राख्ने पनि गर्नु हुँदैन । अरुसँग तुलना गरेर आफूलाई सानो कहिल्यै पनि सोच्नु हुँदैन । विगतका नराम्रा कुरालाई भुल्नुपर्छ । नयाँ योजनाका साथ काम अघि बढाउनु पर्छ । जसरी सुन घोटिए पनि र आगोले जलाए पनि आफ्नो चमक गुमाउँदैन नि, हो त्यसरी नै इमान्दार भएर काम गर्ने मानिसलाई जतिसुकै परीक्षा लिए पनि उसको निष्ठा कहिल्यै धमिलो हुँदैन । यसमा हामी सधैं सतर्क हुनुपर्छ ।
हामीले जानेर कहिल्यै पनि अरुलाई चोट दिनु हुँदैन । अरुको मन दुखाउनु पनि हुँदैन । किनकी ती व्यक्तिहरु पनि जीवनका कुनै न कुनै छेउमा टुटिरहेका हुन सक्छन् । संसार तपाईंलाई त्यही दिन्छ, जुन तपाईंले अरुलाई दिनुहुन्छ । माया, प्रेम, घृणा वा तिरस्कार, यी सबै तपाईंले अरुलाई दिने व्यवहारमै भर पर्छन् ।
बदला सबैभन्दा ठूलो शत्रु हो । सहनशीलता सफलताको सबैभन्दा महान सुत्र हो । आवेगमा कुनै पनि निर्णय लिनु हुँदैन, जे कुराको अन्तिम फैसला गरिन्छ नि, त्यसमा धेरै सोचविचार पुर्याउनुपर्छ । महान व्यक्तिहरु जन्मिँदै महान भएर जन्मिएका होइनन् । उनीहरु त आफ्ना कामले महान भएका हुन् । हामीलाई हतार भयो भन्दैमा असम्भव कुरा कहाँ सम्भव हुन्छ र ? रातमा लुगा धोएर तुरुन्त सुकोस् भन्ने सोच्नु मूर्खता हो । धोबीले मध्यरातमा घाम लागोस् भनेर तपस्या गर्दैमा घाम लागेर आउने हुन् र ? भन्नुको मतलब यो हो की, हरेक कुराको एउटा निश्चित समय आउनुपर्छ । समयअघि र समयपछि केही कुराको अर्थ हुँदैन, समय आएपछि त्यो टारेर पनि टर्दैन ।
तपाईं कुनै सवारी साधन चढेर हिँडिरहनु भएको छ, एक्कासी तपाईं चढेको सवारीको टायर पन्चर भयो भने तपाईं टायरमा हावा हाल्न ग्यारेजमै जानु हुन्छ नि, हावा तपाईंको वरिपरी नै छ त, तैपनी किन ग्यारेज जानु र ? किनकी हावा मात्र भएर त भएन नि, हावालाई टायरसम्म हाल्ने निश्चित यन्त्र उपकरण त ग्यारेजमा मात्र छ । त्यसैले तपाईं ग्यारेजमै जानुपर्छ । हो यस्तै हो, हामी जुन ठाउँमा बसिरहेका छौं, त्यहाँ पनि ईश्वर त छन् नि तर साक्षात दर्शन पाउन मन्दिरमै धाउनु पर्छ । त्यसैले हरेक कुराको निश्चित ठाउँ र समय हुन्छ । जसलाई हामीले बुझ्न सक्नुपर्छ ।
हामीले अर्ति उपदेश दिने पनि एउटा निश्चित समय हुनुपर्छ । भोक लागेको समयमा अर्ति दिन थालियो भने त्यहाँ न अर्तिले काम गर्छ, न लिने र दिनेको नै भ्यालु हुन्छ । अर्तिउपदेशले मानिसलाई सहीमार्गमा हिँडाउन सहयोग त गर्छ तर कुबेलाको अर्तिउपदेश मन्त्र नभएर विषझैं हुन्छ । हामीलाई थाहा छ नि, दबाईले रोग निको हुन्छ भनेर तर दबाई पनि रोग अनुसार फरक फरक हुन्छन् भन्ने पनि हामीले हेक्का राख्नुपर्छ । टाउको दुखेको निको हुने दबाईले पेट दुखेको निको हुँदैन । समस्या जहाँ छ, जे मा छ, त्यही अनुसार उपचार शुरु गर्नुपर्छ । गलत व्यक्तिको संगतले सही मानिस पनि उल्टोयात्रामा हिँड्न बाध्य हुन्छ । किनकी किरा मार्ने विषादीले मानिसलाई पनि मार्छ ।
हामी हरसमय अरुको कुरा काटेर बिताइरहेका हुन्छौं । अरुको कुरा काटेर तपाईंलाई फाइदा चाहिँ कहाँनिर छ ? आफ्नो मानु खाएर अरुको कुरा किन गर्नु ? सित्तैमा अरुको विज्ञापन किन गर्नु ? हामीले आफूलाई सधैं व्यस्त राख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *