• ज्ञानमणि नेपाल कालोटोपी

बिहानै निस्कन्छु, सबैतिर भीडैभीड छ । सडकतिर हेर्यो, मानिसकै भीड, अस्पतालतिर पनि उस्तै । गाडी चढ्ने स्टेशनतिर हेर्छु पाइला राख्ने ठाउँ छैन । पेट्रोलपम्पमा त्यतिकै भीड छ । सिनेमाहल, बैंक, सरकारी कार्यालय, एयरपोर्ट, मन्दिर जहाँ गयो त्यहाँ मानिसकै घुईंचो ।

हरेक क्षेत्रमा जाउँ, त्यहाँ मानिसको लाइन नभएको कतै पनि छैन । एक मानिसको अनुहार अर्कोसँग मिल्दैन । सबै जना घरमै बसेका छन् । सबैले खानै पर्छ । खाने पनि अन्नपात मात्रै हो । सबै जना हतारमा छन् । दिनमा सडकमा बसेर नियाल्दा लाग्छ यी सबैको गन्तव्य कहाँसम्म होला ? रात पर्न थालेपछि दिउँसोको भीड कता हराउँछ कुन्नी मुसो पनि सडकमा भेटिंदैन । पूरै सुनसान हुन्छ । दिउँसो मानिसको भीड भइरहेको ठाउँमा राति जान एकदमै डर लाग्छ । तर के कुराको डर भनेर चाहिं पत्तो हुँदैन । किन यसरी यिनीहरु तँछाड–मछाड गरिरहेका होलान् ? तर यो सत्य हो कि सबैलाई छिटो गर्नु छ । एउटा काम सकेर अर्को भ्याउनु छ । सकेसम्म धेरै कमाउनु छ । अर्कोभन्दा आफू धनी बन्नु छ । जसरी पनि अरुलाई जित्न पाए हुन्थ्यो भनेर हरेक पाइला–पाइला छिटो छिटो सारिरहेको छ मानिसले ।

करिब ३ करोड जनसंख्या छ । त्यसमध्ये ५० लाखभन्दा धेरै यूवायूवतीहरु बैदेशिक रोजगारीका लागि गएका छन् । अरु ५० लाख जति बृद्ध बृद्धा र केटाकेटी छन् । उनीहरु घर छोडेर बाहिर मुस्किलले निस्कन्छन् वा भनौं काम नपरी सडकतिर जाँदैनन् । ४० लाखभन्दा धेरै विद्यार्थीहरु छन् । स्कूल र कलेज जाने उनीहरुको पनि आफ्नै निश्चित समय छ । सरकारी र प्राइभेट कम्पनीमा जागिर खानेहरु २० लाख जति छन् । उनीहरु पनि काम छोडेर घुम्न जाने कुरै भएन । पाइला–पाइलामा केहि न केहि पसलहरु छन् । प्रत्येक पसलहरुमा त्यतिकै भीड छ । यसरी हरेक क्षेत्रमा मानिसहरु विभाजित हुने हुँदा पनि सडक बजारमा किन यति धेरै भीड भएको होला ? किन मानिसहरुबीच प्रतिश्पर्धा भएको होला ? वा अब कहिलेसम्म यस्तो स्थिती रहिरहला ? अचम्म लाग्छ कहिलेकाहिं ।

यो मनगढन्ते विषय जस्तो लागे पनि अलिकति पनि काल्पनिक छैन । यथार्थको धरातलमा उभिएर हेर्ने हो भने आज मानिस जे का लागि दौडधुप गरिरहेको छ त्यो आखिर केहि प्राप्तीका लागि हो जस्तो लाग्दैन । पैसा कसरी कमाउने, खाने सामल कसरी जुटाउने, लगाउने लुगा कस्तो र कहाँबाट ल्याउने, बस्ने घर कसरी र कति खर्च गरेर बनाउने ? यी र यस्ता कुराभन्दा अरु कसैको पनि उद्देश्य छ जस्तो लाग्दैन ।

मान्छेहरु रोगी पनि कति धेरै हुन्छन् ? अस्पतालमा कहिल्यै विरामी सकिंदैनन् । स्कूल कलेजहरु पनि कुनै वर्ष विद्यार्थी भएन भनेर बन्द गरेको रेकर्ड शायदै होलान् । पसल र बजारहरु उपभोक्ता आएनन् भनेर बन्द नै गरेको पनि थाहा छैन । सिनेमाहलहरुमा जस्तोसुकै चलचित्र चलेको होस्, मान्छे कताबाट आउँछ कताबाट, हल त पूरै प्याक नै हुन्छ । कुनै क्षेत्र होस न, जहाँ मानिसको भीड कम भएको होस् वा भीड नै नभएको होस्, अहिलेसम्म छ जस्तो लाग्दैन । लाखौंथरी मानिसका करोडौं विचारहरु । यो गरौं कि त्यो गरौं का सयौं कौतुहलताहरु, सबैका फरकफरक सोच, फरकफरक विचार । सबै कुरा गर्छ मान्छेले । एकदिन पत्तै नपाई मर्छ, अहिले त आर्यघाटमा पनि भीड उस्तै छ । लास जलाउन पनि पालो कुर्नु पर्छ ।

यो शास्वत सत्य हो, जसको कुनै अन्त्य हुँदैन । यी कुराहरुको अन्त्य भयो भने तपाईं हामी कसैको पनि अस्तित्व हुँदैन । तैपनि मान्छेहरु भन्छन् , यो वर्ष त खै व्यापार पनि छैन । आर्थिक मन्दी लाग्ला जस्तो छ । सबैका आ–आफ्नै गुनासा र जवाफ पनि त्यस्तै । सोचेर ल्याउँदा लाग्छ, जिन्दगीको मूल्य नै यसैमा अल्झिएको होला ! मानिसको भाग्य नै यस्तै होला, तैपनि मानिसले यतातिर थोरै मात्र पनि सोचेको छैन । अझै कसरी धेरै कमाउने ? सोझो बाटोले भएन भने कसरी लुट्ने र भ्रष्ट्राचार गर्ने भन्ने पनि छन् । यो मेरो र यो तेरो गर्दागर्दै मानिस एकदिन मर्छ । मरेर लैजानु केहि छैन । बाँचुञ्जेलको चुरीफुरी केहि दिनमै बिर्सन्छन् मान्छेले । यस्तै हो, यो शास्वत सत्यलाई बुझेर अगाडि जान सक्ने हो भने जीवन सहि नै छ, नबुझ्ने हो भने धेरै कहालीलाग्दो पनि । यी कुरालाई एकपटक चिन्तन गरौं त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *