बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम भव्य तथा सब्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार तथा प्रशासनिक कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा संस्थाका प्रबन्ध निर्देशक प्रताप वैद्यले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत मन्तव्य दिदै, ज्ञानकुञ्जको शिक्षण परम्परा, अनुशासन र भविष्य निर्माणमा केन्द्रित शैक्षिक दृष्टिकोणबारे जानकारी गराए । उनले विद्यार्थीहरुलाई आफ्नो क्षमताको अधिकतम प्रयोग गर्दे सशक्त, नैतिक र जिम्मेवार नागरिक बन्न प्रेरित गरे ।

सहायक कलेज प्रमुख नबराज चौलागाईले आफ्नो मन्तव्यमा व्यावसायिक र व्यावहारिक शिक्षाको महत्वमा जोड़ दिंदै, विद्यार्थीहरुलाई आजको प्रतिस्पर्धी युगमा आत्मनिर्भर र सक्षम बन्न आवश्यक मार्गनिर्देशन गरिने बताए । उनले भने, “ज्ञानकुञ्ज केवल किताबी ज्ञानमा सीमित छैन, हामी विद्यार्थीहरुको समग्र विकासमा विश्वास गर्छौ ।“

त्यस्तै, सहायक प्रिन्सिपल नमराज दाहालले नैतिक शिक्षाको अपरिहार्यता औंल्याउँदे, “आजको शिक्षा प्रणालीमा मूल्य–मान्यताको खड़ेरी छ। ज्ञानकुञ्जले विद्यार्थीहरूमा नैतिकता, सामाजिक जिम्मेवारी र सकारात्मक सोचको विकासमा जोड़ दिएको छू,“ भन्ने धारणा राखे ।

कार्यक्रममा हास्य कलाकार तथा जादूगर राजेन्द्र गिरीको प्रस्तुति विशेष आकर्षणको केन्द्र बन्यो । उनको हास्यव्यङ्ग्य र जादुका माध्यमबाट शिक्षा र जीवन मूल्यहरूमा आधारित सन्देशहरूले कार्यक्रमलाई थप प्रेरणादायी बनायो । विद्यार्थीहरु र अभिभावकहरू दुवैले गिरीको प्रस्तुति अत्यन्तै मनोरञ्जनात्मक र सन्देशमूलक भएको प्रतिक्रिया दिए ।
कार्यक्रमका सभापति तथा अध्यक्ष सुरकृष्ण वैद्यले समापन मन्तव्य दिंदै, “हामीले शिक्षा प्रणालीलाई केवल परीक्षा र प्रमाणपत्रको सीमामा राखेका छैनौँ । ज्ञानकुञ्ज एक यस्तों मंच हो जहाँ विद्यार्थीहरु आफ्नो सृजनशीलता, नेतृत्व क्षमता र जीवनपयोगी सीप विकास गर्न सक्छन्,’’ भने । कार्यक्रममा विभिन्न सांगीतिक र सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएका थिए, जसले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास थपेको विद्यार्थीहरुको धारणा थियो । प्रतिष्ठानका अनुसार,अभिमुखीकरण कार्यक्रमको उद्देश्य नव आगन्तुक विद्यार्थीलाई शैक्षिक वातावरणसँग परिचित गराउनुका साथै संस्थाको कार्यशैली, नीति र मान्यताहरुबारे जानकारी दिनु रहेको थियो ।

कार्यक्रम मार्फत नव आगन्तुक विद्यार्थीहरूमा अध्ययनप्रति जागरुकता र संस्था प्रतिको भरोसा थप बलियो भएको विश्वास प्रतिष्ठानले लिएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आगामी दिनहरूमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दे जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *