चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई ३८ अर्ब ३८ करोड कायम भएको छ । यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आएर तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ ।
गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आएर तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ । यस्तै, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड रहन गएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव पाँच प्रतिशतले वृद्धि भई तीन खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो ।
चालु आवको पहिलो त्रैमासमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिती एक खर्ब एक अर्ब ६६ करोडले बचतमा रहेको थियो । औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ । गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो ।
तरकारी तथा दलहन उप–समूहको उच्च मूल्य वृद्धिका कारण २०८१ असोजमा वार्षिक विन्दुगत आधारमा खाद्यान्न समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी समूहको मुद्रास्फीति क्रमशः आठ दशमलव ४८ प्रतिशत र छ दशमलव ८५ प्रतिशत रहेको थियो ।
गत असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ७८ प्रतिशत रहेको थियो । त्यसैगरी, तलब तथा ज्याला सूचकाङ्क तीन दशमलव ३६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क पाँच दशमलव ६५ प्रतिशतले बढेको थियो ।
यसरी हेर्दा यस वर्ष केही मात्रामा व्यापारघाटा घटेको देखिए पनि समग्रमा उच्च छ । आज पनि करिब २८ खर्ब सार्वजनिक ऋण खेपिरहेको नेपालका हरेक व्यक्तिको टाउकोमा यतिबेला ८७ हजार ऋण छ । देशका उत्पादन बाहिर पठाउनुको तुलनामा बाहिरबाट सामान ल्याउने अनुपात उच्च भएकाले व्यापारघाटा पनि बढेको हो । यसतर्फ सरकारले ध्यान दिन सकेन र आयातलाई निरुत्साहित गर्दै निर्यातलाई बढाउन सकेन भने स्थिती अझै भयावह हुने निश्चित छ । यसतर्फ कहिले सोच्ने ?
