काठमाडौं । विपद् जोखिम व्यवस्थापन तथा न्यूनिकरणका विभिन्न क्षेत्रमा काम गर्दै आएको विपद् पूर्वतयारी संजाल (डिपीनेट) नेपालले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित वार्षिक साधारणसभा तथा मनसुन समीक्षा र प्रतिबिम्ब बैठकमा संस्थाका गतिविधीहरु तथा विपदमा कसरी काम गर्ने लगायत विभिन्न विषयमा छलफल भएको थियो । संस्थाका अध्यक्ष डा. राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल प्रमुख अतिथि रहेका थिए ।

संस्थाले स्थापना भएको २८ वर्ष पुरा गरेको छ । यस अवधिमा २ दर्जनभन्दा बढी साझेदार संस्थासँगको सहकार्यमा काम गरिरहेको कार्यक्रममा जानकारी दिइयो । संजालले यो अवधिमा विपद् तथा मानविय कार्यको मापदण्डसम्बन्धी सयौंको संख्यामा सरोकारवालाहरुको क्षमता विकास कार्यसमेत गरेको छ । कार्यक्रममा विज्ञ तथा सदस्यहरुले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रलाई अझै सशक्त बनाउन सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, मिडिया, प्राविधिक समूहको सामूहिक प्रयासबाट बढ्दो विपदबाट हुने नोक्सानीलाई न्यून गर्न सकिने धारणा राखेका थिए ।

विपद् जोखिम न्यूनीकरणलाई विकासका हरेक गतिविधिमा मूल प्रवाहीकरणका लागि बहस गर्न जरुरी रहेकाले आगामी दिनमा डिपिनेटले यस किसिमका कार्यक्रमलाई जोड दिनुपर्ने कार्यक्रमका वक्ताहरुले सुझाव दिए । विपदका कामहरु सुरक्षा तालिम लिएका व्यक्तिले गर्नुपर्छ भन्दै डिपीनेटका अध्यक्ष चापाले भन्नुभयो, विपद जोखिम न्यूनीकरणका लागि हरेक सरकारी निकाय, गैरसरकारी संस्था, मिडिया र प्राविधिक क्षेत्रको पनि उत्तिकै भूमिका रहन्छ । डिपीनेटले आगामी दिनमा विपद जोखिम न्यूनीकरणसम्बन्धी नीति नियमको कार्यान्वयनका लागि सरकारलाई झक्झक्याउने र यसलाई बहसको विषय बनाउनेसमेत थापाको भनाइ थियो ।

डिपीनेटले हरेक २/२ वर्षमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तिलाई डिपीनेट अवार्ड प्रदान गर्दै आइरहेकोमा यो वर्षको डिपिनेट अवार्ड गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाका कारण बागमती नदी स्थित बल्खुको बाढीमा बगेका २ जनालाई पौडिएर उद्धार गर्न सफल काभ्रेका चनिकलाल तामाङलाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *