- ज्ञानमणि नेपाल कालोटोपी
- प्रदीप केसी बञ्जारा ।
पनौती । गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोमा ठूलो धनजनको क्षति बेहोरेको काभ्रे जिल्लाको पनौती नगरपालिकाले बाढीपहिरो गएको करिब दुई महिनापछि क्षतिको अन्तिम विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले क्षतिको विवरण सार्वजनिक गरेको हो । यसअघि क्षतिको प्रारम्भिक विवरण मात्र सार्वजनिक गरेको पनौतीमा बाढी पहिरोमा परि १९ जनाको मृत्यु भएको थियो । यहाँ २५ जना गम्भीर घाइते भएका नगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
बाढीले करिब ७ हजारभन्दा बढी पशुचौपाया र पंक्षीहरु मरेका छन् भने ५९२ वटा घर पूर्ण क्षति र ४७२ वटा घर आंशिक क्षति भएका छन् । यस्तै ४२२ वटा गोठ र टहराहरुमा क्षति पुगेको छ । काभ्रे उपत्यका एकीकृत खानेपानीको मूख्य पाइपमध्ये ७ किलोमिटर पूर्णरुपमा क्षति भएको तथा नगरभित्रका अन्य खानेपानी आयोजनामा पनि ठूलो क्षति भएका कारण नगरमा अहिले खानेपानीमा चरम समस्या रहेको प्राप्त विवरणमा उल्लेख छ ।

सडक संरचनामध्ये पनौती पुन्यमाता रोशी करिडोरको मात्र ११ किलोमिटर सडक पूर्णरुपमा क्षति पुगेको छ भने नगरका अन्य सानाठूला सडक गरि ३८ किलोमिटर सडकमा क्षति पुगेको छ । नगरभित्र रहेका १४ वटा पक्कि पुल, १२ वटा कल्भर्ट र एउटा झोलुंगे पुल पूर्ण क्षति भएको छ । यसैगरि ३ वटा स्वास्थ्यचौकीहरुमा क्षति पुगेको छ भने १८ वटा विद्यालयमा क्षति पुगेको नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

पुरातात्विक क्षेत्रका मठमन्दिरहरुमा ठूलो क्षति भएको र पनौती बजार खोला किनारबाट अढाई किलोमिटर क्षेत्रमा क्षति पुगेको बताइएको छ । ६ वटा सरकारी भवन र ४ वटा सार्वजनिक भवनमा पनि क्षति भएको छ । १ हजार ७७० मिटर आरसिसि ढलान गरिएको सठक, २ हजार २३२ मिटर ढुंगा विछ्याइएको सडक पनि बगेको छ ।
कृषिमा कति क्षति ?
नगरपालिकाको समग्र कृषिमा २३ करोड ६४ लाख ४४ हजार बराबरको क्षति भएको तथ्यांक छ । जसमध्ये १ करोड ३४ लाख ५२ हजार बराबरको धानबाली, १० करोड ९० लाख ९२ हजार बराबरको आलु र ४ करोड ७ लाख ९० हजार बराबरको मकैमा क्षति पुगेको छ । यसैगरि ४ करोड ३७ लाखको तरकारी, ९३ लाख ८६ हजारको तोरी, १ करोड ७८ लाख ९७ हजारको फलफूल र अन्य बालीतर्फ २१ लाख २७ हजारको क्षति पुगेको छ । टनेल, च्याउघर, कृषि यन्त्र तथा उपकरणमा १ करोडको क्षति पुगेको तथ्यांकमा उल्लेख छ । नगरभरिमा १ हजार ५४१ रोपनी ६ आना जमिन पुरिएको र बगाएको छ । सबै क्षेत्रमा प्रभावित घरधुरीको संख्या ३ हजार ४८७ रहेको छ । यसैगरि कूल २८ दशमलव ५७ किलोमिटर कूलो क्षति भएको छ भने ४ किलोमिटर सिंचाई पाइप बगाएको छ । ९० किलोमिटर खानेपानी पाइप, ६५ वटा इन्टेक, २५ वटा ट्यांकी र ३ वटा पम्प बगाएको छ ।

पशुमा कति क्षति ?
पनौतीका १२ वटै वडामा पशुपंक्षीमा पनि व्यापक क्षति भएको छ । जसमध्ये ७३ वटा गाई मरेका छन् भने ७७ वटा भैंसी र २७३ वटा बाख्रा मरेका छन् । यस्तै बंगुर ६० वटा, हाँस ५२५ र ६ हजार ४१२ वटा कुखुरा मरेका छन् । ८ हजार ६३ केजी ट्राउट माछा र ५ हजार वटा कार्पको क्षति भएको उल्लेख छ ।
नगरपालिकाले के के गर्यो ?
बाढीपहिरो प्रभावितको उद्धार र राहत वितरणमा विभिन्न संघसंस्था र नगरपालिकाको प्रयासमा हेलिकोप्टरसमेत प्रयोग गरि उद्धार गरिएको थियो । अवरुद्ध विद्युत लाइनहरु जडान गरिसकिएको छ भने क्रसर व्यवसायीहरुसमेतको संलग्नतामा अवरुद्ध सडकहरु सुचारु गरिएको थियो । स्टेशनरी तथा शैक्षिक सामाग्री वितरणका साथै पाठ्यपुस्तक बगाएका विद्यार्थीलाई निःशुल्करुपमा पुस्तक वितरण गरिएको थियो ।
पुनर्निर्माणमा कस्ता छन् चुनौती ?
क्षतिग्रस्त खानेपानी तथा सिंचाईको स्थायी व्यवस्थापनमा मुख्य चुनौती रहेको नगरपालिकाले जनाएको छ । दीगो तथा एकीकृत बस्ती विकास र सार्वजनिक सम्पत्ती र व्यक्तिगत सम्पत्तीको संरक्षणमा पनि उस्तै चुनौती देखिएको छ । यसैगरि सडक सञ्जालको दीगो विकास र वातावरण संरक्षण, विद्यालय, स्वास्थ्य तथा सार्वजनिक संघसंस्थाहरुको पुनर्निर्माणमा पनि चुनौती देखिएको छ । कृषि क्षेत्रको पुनर्निर्माण, क्षतिग्रस्त सम्पदाहरुको संरक्षण र आर्थिक, सामाजिक तथा मानसिक क्षमता विकासका लागि योजनाबद्ध विकासका कार्यक्रम गर्न पनि चुनौती देखिएको छ ।
कार्यक्रममा कसले के भने ?
नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा नगरपालिकाका तर्फबाट नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, प्रमुख कार्यकारी अधिकृत रामप्रसाद आचार्य लगायतको उपस्थिति थियो । यस्तै संविधानसभा सदस्य रामहरी सुवेदी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिबप्रसाद हुमागाईं, बागमती प्रदेशका पूर्वमन्त्री वसुन्धरा हुमागाईं, पूर्वनगर प्रमुख सप्तकाजी बुद्धाचार्य, कार्यपालिका सदस्यहरु, विभिन्न दलका प्रतिनिधि, संघसंस्थका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । उनीहरुले नगरपालिकाले आगामी दिनमा दीर्घकालिन सोच राखेर पुनर्निर्माणमा जोड दिनुपर्ने बताए । सबै क्षेत्र उस्तै प्रभावित रहेकाले अतिप्रभावितलाई पहिलो प्राथमिकता दिएर काम गर्न पनि उनीहरुको सुझाव थियो । नगरभित्र रहेका खानी र पानीका स्रोतहरुको उचित प्रयोगमा जोड दिँदै यी संरचनाले क्षति नहुने गरि योजना तर्जुमा गर्नुपर्ने पनि सहभागीहरुले सुझाव दिएका थिए । विपदको बेलामा यो र त्यो भनेर अलमल नगरि एकढिक्का भएर काम गर्न जनप्रतिनिधीहरुलाई सल्लाह र सुझाव दिइएको थियो । नगरप्रमुख तथा उपप्रमुख लगायत अन्य जनप्रतिनिधीहरुले सबैको सल्लाह र सुझावलाई मनन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ७९
असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा ७९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु र ७५ जना घाइते भएका छन् । ५ जना बेपत्ता छन् । पालिका अनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १९, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७, रोशीमा १२, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा १२ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमध्ये १६ जना बालबालिका रहेका छन् । प्रभावित पालिकालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

