काभ्रे । एकद्वार संकट ब्यवस्थापन केन्द्र, धुलिखेल अस्पतालले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला तथा आसपासका क्षेत्रबाट अस्पतालमा उपचारार्थ आएका घटना, त्यसको अवस्था तथा भएका समस्या र आगामी योजनाका बारेमा सरोकारवालासँग संवाद गरेको छ । साथै विद्यार्थीहरुले लैङ्गिक हिंसा न्यूनिकरणमा खेल्नु पर्ने भूमिका तथा अवस्थाका बारेमा नाटक प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले कविता, गीत र नृत्य मार्फतसमेत लैङ्गिक हिंसाविरुद्ध सबै पक्ष एक हुन आब्हान गरेका थिए ।
धुलिखेल अस्पताल, एकद्वार संकट ब्यवस्थापन केन्द्र, (ओसीएमसी), हेल्थकेयर रेस्पोन्डिङ टु भाइलेन्स एन्ड अब्यूज (हेरा) परियोजना, रोट¥याक्ट क्लबअफ केयुएसएम र युथ रेडक्रस सर्कल टोलीसँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान शुरु गरिएको हो । यो पहल नोभेम्बर २८, २०२४ बाट शुरु भएको हो । यस अवधिभर विभिन्न गतिविधिहरू आयोजना गरिनेछ ।
कार्यक्रमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरेका थिए । सो अवसरमा माइती नेपालका संस्थापक समाजसेवी अनुराधा कोइराला, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, जिल्ला न्यायाधीवक्ता कृष्णा भण्डारी, प्रहरी निरिक्षक सरस्वती कार्की, जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, ओसीएमसीका प्रमुख डा. सम्झना बस्नेतलगायतले जिल्लामा भएका लैङ्गिक हिंसाका घटनाको अवस्था र न्यूनिकरणमा सरोकारवाला निकायको भूमिकाका बारेमा धारणा राखेका थिए ।
धुलिखेल अस्पतालमा रहेको ओसीएमसीले एक वर्षको अवधीमा १ सय ३६ जनालाई सेवा दिएको छ । जसमध्ये श्रीमानबाट पीडित भएका १ सय ३५ महिला छन् । १ जना मात्रै पुरुष छन् ।
