काठमाडौँ । बौद्ध किसान बजारमा गत साता सम्पन्न किबि महोत्सवले एउटा महत्वपूर्ण सन्देश दिएको छ । किसान र उपभोक्तालाई सिधै जोड्न सकिने हो भने यसले ग्रामीण किसानको जिविकोपार्जन र उपभोक्ताको स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्न सक्छ ।

मंसिर २७ गते शनिबार आयोजित महोत्सवमार्फत हेलम्बुका किसानहरूले उत्पादन गरेको ताजा र जैविक किबि बिचौलिया बिना सिधै काठमाडौंका उपभोक्तासम्म पुग्यो। किबिसँगै आलु र सिमी, स्कुस, सिताके च्याउ, केरा र कागती आदि सामाग्री बिक्रीका लागि ल्याइएको थियो । जसले हेलम्बु र काठमाडौंबीचको पहिलो प्रत्यक्ष बजारसम्बन्ध स्थापना ग¥यो ।

परम्परागतरूपमा आलु र मुला उत्पादनका लागि चिनिएको हेलम्बु क्षेत्रमा AYWESH को पहलपछि किसानहरूले किबि खेती सुरु गरेका हुन् । २ हजार ५०० मिटरभन्दा माथिको उचाइ, उपयुक्त माटो र हावापानीका कारण यहाँ किबि उत्पादन राम्रो हुँदै आएको छ । तर उत्पादन भए पनि उचित बजार पहुँचको अभाव किसानका लागि मुख्य चुनौती थियो ।

बौद्ध किसान बजार व्यवस्थापन समितिका केही सदस्य हेलम्बुकै स्थायी बासिन्दा भएकाले यो सहकार्य सम्भव भयो । करिब दुई साताको तयारीपछि ५–६ जना किसान आफ्नो उत्पादन लिएर बजारमा आएका थिए । प्रचार अवधि छोटो भए पनि उपभोक्ताको उल्लेखनीय उपस्थितीले किसानहरूको उत्साह बढाएको मात्रै छैन जैविक उत्पादनप्रति बजारको माग स्पष्ट भएको छ ।
किसानहरू मिहेनती भए पनि बजार प्रबद्र्धनमा दक्ष हुँदैनन् । यसै कारण उनीहरू प्रायः बिचौलियाबाट कम मूल्यमा उत्पादन बेच्न बाध्य हुन्छन् । यस्ता प्रत्यक्ष बजार पहलहरूले यो चक्र तोड्न मद्दत गर्छन्—किसानले उचित मूल्य पाउँछन् र उपभोक्ताले स्वस्थ, ताजा खाना ।

यो पहलले आगामी दिनमा किसान स्वामित्वको कृषि व्यवसायको रूपमा विस्तार गर्ने योजना छ, जहाँ किसानहरू प्रमुख शेयरधारक हुनेछन् । यस मोडललाई अन्य उच्च पहाडी क्षेत्रमा पनि विस्तार गर्न सकिने सम्भावना छ । सानो रूपमा सुरु भएको यो प्रयास दिगो कृषि, न्यायपूर्ण बजार र स्वस्थ उपभोगतर्फको एउटा महत्वपूर्ण कदम बन्न सक्छ । बौद्ध कृषक बजारको ब्यबस्थापन तथा जस्ट नेपाल फाउन्डेसनको समन्वयमा किबि फेस्टिबल सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *