हरेक व्यक्तिको सफलताको पछाडि परिवारको हात रहन्छ । अनि व्यक्ति आफैं अघि बढ्न सकिँदैन जब कसैको प्रेरणा पाइँदैन । यस्तै भएको छ रश्मी मञ्जुश्री हुमागाईंमा पनि । उनी सानैदेखि आफ्ना प्रतिभाहरु प्रस्तुत गर्थिन्, कतै लेखेर त कतै देखेर । ती प्रतिभाहरु बुबा हरि मञ्जुश्रीले पुस्तक र पत्रपत्रिकामार्फत प्रकाशित गराइदिएर सहयोग गर्नुहुन्थ्यो । सानै उमेरमा उनले तीन वटा कृतिहरु लेखिन् । त्यतिले मात्र उनी चुप बसिनन् । आफ्ना रुचीका अन्य विषयहरुमा पनि आफूलाई अग्रसर बनाउँदै लगिन् । पछिल्ला दिनहरुमा गीत–संगितहरुमा पनि अग्रसर उनले गाएका केही गीतहरु सार्वजनिक पनि भइसकेका छन् । आँटेपछि सफलता पाइने रहेछ भन्ने अनुभव सुनाउने रश्मी प्राध्यापनतिर पनि संलग्न छिन् । यसरी सफलता पाउने सुत्र के हो ? हामीले यसपटक उनै रश्मीसँग केही कुराकानी गरेका छौं । प्रस्तुत छ, मध्यमार्गका सहसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले उनीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ः
हिजोआज के के मा व्यस्त हुनुहुन्छ ?
हाल घरायसी काममै व्यस्त छु । अब विस्तारै प्राध्यापनतिर लाग्दैछु । यसअघि नानीबाबुहरु सानै थिए । अब विस्तारै घर बाहिरको काममा पनि लाग्दैछु ।
उतिबेला बाल साहित्यकार भनेर चिनिनु भएको रश्मी मञ्जुश्री अहिले प्राध्यापकसम्म भइसक्नुभयो । लेखनमा कसको प्रेरणा मिल्यो ?
म १० वर्षको हुँदा मैले पहिलो कृति सार्वजनिक गरेको थिएँ । यसको श्रेय म मेरो परिवारलाई दिन्छु । किनकी मेरो बुबा, हजुरबुबा, आमा सबै लेखकहरु हुनुहुन्छ । उहाँहरुकै प्रेरणाबाट सिक्दै अघि बढेको हुँ । प्राध्यापनको कुरा त समयअनुसार विस्तारै पढाई पूरा भएपछि थालिने कुरा भयो नि ।
हालसम्म कति वटा कृतिहरु प्रकाशित भएका छन् ?
तीन वटा कृतिहरु सार्वजनिक भएका छन् । पहिलो पुस्तक बालमञ्जरी, दोस्रो बाललहरी र कस्तो होला भोलि । सबै बालबालिकासँग सम्बन्धित पुस्तकहहरु हुन् । सबै कविता संग्रह हुन् ।
तपाईँ बालक हुँदा बालकालिकाहरुका लागि पुस्तक लेख्नुभयो । युवा हुनुभयो तर युवाहरुका लागि चाहिँ पुस्तकहरु लेख्न छोड्नुभयो नि । किन ?
समय अनुसार मानिसका जिम्मेवारीहरु पनि बढ्दै जाने रहेछन् । पछि पढाईलाई निरन्तरता दिनु पर्ने भयो । साथै अरु कामहरु पनि गरिरहनु परेकाले समय दिन पाइएन । तर लेख्नै छोडेको चाहिँ छैन । कृतिको रुपमा प्रकाशित नभएको मात्र हो ।
लेखन छोडेर तपाईं गीत–संगीततिर पनि लाग्नु भएको छ । यसको प्रेरणा चाहिँ कसलाई दिनु हुन्छ ?
यसको पनि जस मैले मेरा बाबालाई दिन्छु । उहाँ साहित्यकार भए पनि गीतहरु लेख्नुहुन्छ । उहाँले तिमी सक्छौ भनेरलाई प्रेरणा दिनुभयो । त्यसपछि एक वर्षअघि मात्र मैले गायनतिर पाइला चालेको हुँ ।
कतिवटा गीतहरु गाउनुभएको छ ? कस्ता कस्ता छन् ?
हालसम्म ६ वटा गीतहरु सार्वजनिक भएका छन् । भजनहरु अलि धेरै छन् । सबै गीतहरु उत्तिकै मन पर्छ मलाई ।
गीत–संगीत के हो जस्तो लाग्छ ?
सौन्दर्य अनि मानिसका भावना पोख्ने माध्यम हो जस्तो लाग्छ । त्यसैले शुरुमा म गीतहरु गुन्गुनाउने गर्थेँ । व्यवसायिकरुपमा गीत गाउँछु भन्ने सोच थिएन । तैपनि प्रयास गरें । यसलाई निरन्तरता दिने प्रयास गर्छु ।
मानिसहरु धेरै प्रयास गरेर पनि गाउन सक्दैनन् । तर तपाईंले भने कुनै तयारी नगरी गायिका बन्नुभयो । कसरी सम्भव भयो ?
तयारी नै नगरेको त होइन तर धेरै दुःख भने गर्नु परेन । प्रयास गर्ने हो भने नसकिने केही छैन । कुनै पनि काम गर्दा मन भित्रैदेखि गर्नुपर्छ । साथमा परिवारको पनि सहयोग चाहिन्छ । आफ्नो रुची हुने हो भने र मिहेनत गर्ने हो भने नसकिने केही छैन । मलाई आफ्नो जन्मघरमा र कर्मघरमा पनि उतिकै साथ र सहयोग छ । त्यसैले मलाई सहज भएको छ ।
पढाई कहाँ पुर्याउनुभयो नि ?
मैले ११ वर्ष पहिले नै मास्टर्स डिग्री सकिसकेको छु । अब प्राध्यापनतिर फेरि लाग्दैछु । स्वास्थ्य क्षेत्र हो मेरो पढाई ।
परिवार साहित्य र गीतसंगीततिर तर तपाईंको पढाई भने स्वास्थ्य क्षेत्रतिर । किन नि ?
मेरो पहिलेदेखि रुचीको विषय भएकाले पढाई यसमै भयो । स्वास्थ्य क्षेत्रमै जाने सोच पहिलेकै हो मेरो ।
कुनै पनि क्षेत्रमा जति गरे पनि सफल भइएन भन्नेहरु पनि छन् नि । तपाईं त हरेक क्षेत्रमा सफल भइरहनु भएको छ । उनीहरुलाई के सन्देश दिनुहुन्छ ?
म पनि सफल भइसकेको छैन । तर नसकिने केही छ जस्तो लाग्दैन मलाई । यसका लागि प्रयास र मिहेनत गर्न भने छोड्नु हुँदैन । एक दुई पटक असफल भइयो भन्दैमा निराश नहुनुहोला भन्न चाहन्छु ।
पछिल्ला दिनहरुमा गीत संगीत, पढाई लेखाइ, हरेक क्षेत्रमा अरुको सिर्जना चोरी हुने क्रम पनि बढेको छ । यसप्रति तपाईंको भनाई के छ ?
जुनसुकै कुराहरु पनि चोरी गर्नु अपराध हो । चाहे त्यो कसैको धनसम्पत्ती होस् वा बौद्धिक रचना । त्यसो गर्नु हुँदैन । आफ्नै काम देखाउनु पर्छ ।
आगामी दिनमा कलाकारितातिर पनि लाग्ने सोच छ त ?
यसमा भने मैले त्यति ध्यान दिएको छैन । समय मिल्यो भने र उचित अवसर आयो भने सोच्नु पर्छ ।
कुन कुन संस्थाहरुमा संलग्न हुनुहुन्छ ?
म शब्दयात्रातिर संलग्न छु । यसको आजीवन सदस्य हुँ म । यसका साथै हुमागाईं समाज नेपालमा पनि आबद्ध छु ।
यी सबै विषय सुन्दा रश्मी मञ्जुश्रीलाई बहुप्रतिभाको धनी भन्न मिल्छ ? आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
म अहिले नै त्यति सफल भइसकेको छैन । गर्नुपर्ने काम धेरै छन् । गर्दै जाउँ कहाँ पुगिएला ।
कुराकानीका लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद ।
मेरा कुराहरु पनि सबै सामू सार्वजनिक गर्ने अवसर दिनुभएकोमा यहाँको संचार माध्यम र तपाईंलाई पनि धेरै धेरै धन्यवाद ।
