
- श्री सिद्धिबहादुर कर्माचार्य
योमरि पुन्हि पर्व नेपाल को एउटा महत्वपूर्ण मौलिक पर्व हो । यो पर्व सबैलाई मनपर्ने मिठो रोटी पकाएर खाने खुवाउने पर्वको रुपमा लिइन्छ । यसलाई नेपाल मण्डलको धानबाली सम्बन्धित एउटा प्रमुख र प्रख्यात पर्वको रुपमा पनि लिइन्छ । यो पर्व सबैलाई मनपर्ने हुनुमा धेरै कारणहरु छन् ।
⁃ १. सबैलाई मनपर्ने योमरि रोटी बनाएर खाने र खुवाउने पर्व ।
⁃ २. सबैको घरमा धानको भकारी भरेर खुशियाली मनाउने पर्व ।सबैलाई आत्मनिर्भर भएको महसूस दिलाउने पर्व ।
⁃ ३. ऐतिहासिक महत्व बोकेको पर्व ।
⁃ ४. सामाजिक र धार्मिक महत्व भएको पर्व ।
⁃ ५. हाल आएर ज्यापु दिवसको रुपमा मनाइएको पर्व ।
१.. सबैलाई मनपर्ने यो मरि रोटी बनाएर खाने र खुवाउने पर्व : –
मेहनत गरी ,धान खेती गरी , घरमा नयॉ धान भित्र्याएपछि सो धानको चामलको पीठो बनाएर एक मौलिक बिशेष प्रकारको यो मरि रोटि बनाएर कुलदेवता, ईष्टदेव, धनेश्वर शिवलिंग , धनधान्य लक्ष्मी , पितृहरु, सबैलाइ सम्झेर धन्यबाद दिंदै धान भकारी मा पूजा गरी यो मरि रोटि चढाएर प्रसादको रुपमा ग्रहण गरिने नेवा: परम्परा को अति पुरानो र महत्वपूर्ण पर्व हो ।
१.१. योमरि पुन्हि पर्व बर्षको एक पल्ट मार्ग शुक्ल पूर्णिमा को दिन यो मरि पुन्हि पर्व को नाममा मनाईआएको छ ।
१.२. यो योमरि पुन्हि पर्व भन्नाले चामलको पीठो मुछेर यो मरि बनाएर यस भित्रको स्पेशमा चाक़ू तिल खुवा मास अदुवा को रस आदि राखेर यो मरि पकाएर भगवान लाई चढाएर खाने ख्वाउने पर्व हो ।
१.३. यो पर्व साधारण त प्रत्येक घर घरमा यो मरि बनाएर पकाएर धान भकारी मा पूजा गर्ने र खाने ख्वाउने प्रचलन भएको भएता पनि आजकाल घर परिवारहरु मिलेर सामुहिक रुपमा मनाउन खोजिएको पनि पाईन्छ ।
१.४. यो मरि पुन्हि पर्व मनाउंदा घर घरमा यो मरि मागेर खाने परम्परा कम भएर गएको देखिन्छ । यस पर्वमा प्रेमभाव, दयामाया , र करुणाको आदान-प्रदान गर्ने क्रम कम भएर गएको छ
१.५. साधारण त जनमानस मा यो मरि खानाले जाडो सहन सक्ने क्षमता बढ्ने र बुढाबुढीहरु को कफ नष्टगर्ने शक्ति को बिकाश हुन्छ भन्ने मान्यता छ ।
१.६. योमरि पुन्हि पर्व किसानहरु को लागि धान रोपाईदेखि धान काट्ने , चुट्ने , सुकाउने , सफागरेर भित्र्याउने मेहनत गरेको फलको रुपमा धान भकारी भरिएको देखेर खुशियाली मनाउने पर्व हो ।
१.७. यो मरि पुन्हि पर्वमा धानको भकारीमा कुवेर, लक्ष्मी गणेश कुमार , अन्नपूर्णा , आदि को आकृति बनाई बिधि पूर्वक पूजा गर्दछन् ।
यसरी पूजा को लागि बनाएको आकृति र देवताहरुको लागि चढाएको यो मरि चौथो दिन पछि मात्र झिकेर प्रसाद को रुपमा खाने चलन छ ।
२.. सबै घरमा धानको भकारी भरेको खुशियाली र आत्मनिर्भर भएको महसूस गरेर मनाउने पर्व को रुपमा लिईन्छ । त्यसकारण नेपाल मण्डलमा यस्ले आफ्नै छुट्टै महत्व बोकेको पाईन्छ ।
२.१. नेपाल मण्डलमा धान खेतीलाई मुख्य पेशाको रुपमा लिईन्थ्यो । यहॉ तहलसिं को जग्गामा मोहीले खेती गरेर राम्रो उत्पादन गरी आफ्नु र तहलसिं को भकारी भर्ने ब्यबस्था थियो ।
यस मोही – तहलसिं प्रणाली मा सबभन्दा राम्रो कुरा दुबै समूह को घरमा अन्न ले भकारी भरिने गर्दथ्यौ । यस्मा जमिदार र रैति को भावना थिएन । खेतीपाती गर्ने किसानहरु ले आआफ्नु ईच्छा ले शक्ति पीठहरु र मठ मन्दिर को गुठीहरु को जग्गा ब्यापारीहरुको ब्यक्तिगत जग्गाहरु र ब्यबसाय गर्नेहरु को जग्गाहरु मा मोहीको रुपमा खेती गर्ने चलन थियो
२.२. यस मोही तहलसिं प्रणाली मा कृषकहरु लाई आआफ्नु सीप र ज्ञान अनुसार कामगर्ने र खेतीपाती गर्नेमा तहलसिं को तरफबाट कुनै हस्तक्षेप भएको देखिंदैनथ्यो । कृषकहरु आफ्नु बुद्धि र बिबेक लगाएर बेहतर उत्पादन गर्न कोशिश गरिरहेको पाईन्थ्यो ।
२.३. कोही बेरोज़गार युवाहरु शहर छोडेर बाहिर जानु परेको थिएन ।बिदेश मा नोकरी गर्न जाने भन्ने कुरै थिएन । मोही जग्गा कमाउन दिएको लाई रोजगार दिएको वा कुनै काम बिशेष गर्न आम्दानी गर्न दिएको भन्ने सोंचाइ रहेको थियो । त्यस्कारण कुनै जग्गा बॉझो रहंदैनथ्यो
२.४. यसरी सबै प्रकारका कामगर्नेहरु बिच मतभेद नभइ सद्भाव को भावना रहेको थियो ।यस्ले नेपाल मण्डलमा सबै आत्मनिर्भर देखिन्थे ।
२.५. खास खास काम बिशेष को लागि गुठीहरु खडा गरिएका थिए ।
समाजमा सबैको भलोहुने गरी सामाजिकताबादी सिद्धान्त अपनाएको थियो ।यसरी यो यो मरि पुन्हि पर्व सबैको भलोहुने उद्देश्य राखेर सबैले मनाई आएको पर्व हो ।
२.६. तर आज आएर यो मरि पर्व खुशियाली मनाउन र मिठोखाने उद्देश्य राखेर मनाइन्छ भने पनि नराम्रो होईन । यस्लाई यो मरि बनाएर बेच्ने पेशानै बनाएर ब्यापार गरेमा पनि आजको ब्यापार गर्ने जमानामा त्यो पनि फायदा जनकनै हो ।तर यस्लाई सिर्फ ज्यापु दिवस हो भन्ने सोंचाइ मा जान भएन । यस्लाई कृषकहरु को दिवस हो भन्न पनि मिल्दछ नमिल्ने होईन । यस्मा अझ यो मरि बनाउने सीप बिकाश गरेर ब्यापार गरेर फाईदा उठाउन चाहन्छ भने मौका दिनु पर्दछ ।तर यस्लाई आफ्नै मौलिक पर्व को रुपमा अगाडि ल्याउन जरुरी छ । यस्मा यो मरि को आकारमा बदलाव ल्याउन हुंदैन । कारण यस्को मौलिकता कायम रहनु पर्दछ ।
३.. . ऐतिहासिक महत्व
नेपाल मण्डलको धान खेती बिकाशको ऐतिहासिक पृष्ठभूमि र महत्व यस्बाट झल्किन्छ ।
३.१. पुरानो ऐतिहासिक घटनाहरुको किन्बदन्तिहरु अनुसार किरॉत कालमा बलबल नाम गरेको एउटा बलवान कृषकले आफनु बल बुद्धि लगाएर खनेर धान रोपाई गरी प्रसस्त धान उत्पादन गरी देखाएको एउटा ज्वलन्त उदाहरण भएको किम्बदन्तिको रुपमा यस्लाई लिईन्छ ।यसरी खनेर धान रोप्दा धेरै फ़ायदा भएको देखेर सबै कृषकहरु ले उस्ले देखाएको धान खेती प्रणाली अपनाएको मानिन्छ ।यसरी बलबल किरॉत ले धान रोपाई को लागि खेत खनेर रोपाई को परीक्षण गरी उत्पादन बढाउने तरिका सर्बसाधारण कृषकहरु लाई देखाएको र स्थानीय किसानहरु ले सोही प्रणाली अपनाएर धानको उत्पादन मा बृद्धि भएको एउटा ऐतिहासिक महत्व को बिषय भएको छ।
यो किराँत क़ालीन बलबल किराँतद्वारा धान रोपाईमा अनुसन्धान गरी धान उत्पादन मा प्रसस्त बृद्धि हुने प्रकृया को बिकाश गरेको किम्बदन्तिबाट हामीले त्यस जमानाको एक महत्वपूर्ण धान रोपाई मा भएको अनुसन्धान र बिकाश को उदाहरणको रुपमा लिएर यस्लाई हाम्रो मौलिक खोजको रुपमा लिन सक्तछौं ।
३.२. ऐतिहासिक महत्व २
त्यस्तै लिच्छवि कालमा पॉचाल देश पनौतीमा एक जना सुचन्द्र नाम गरेको ब्यापारी साहु बस्दथ्यो ।सुचन्द्र को परिवार ले गरीब र असक्त असहायहरु सबै माथि दया माया गरेर राम्रो ब्यबहार गर्दछन भन्ने प्रचार प्रसार भएको थियो । सोही कुरा सुनेर धनेश्वर शिवलिंग मा पूजा पाठ गर्न आएका कुवेरले समय निकालेर आफैं सुचन्द्रको घरमा एक दरिद्र ब्यक्ति को भेष धारण गरी परीक्षण गर्न जानु भएछ ।यसरी गरीवको भेष धारण गरेको कुबेरलाई देखेर सुचन्द्र साहूकि पत्नि लाई दया माया लागेर लुगा कपडा दान दिईन।अनि सो दिनमा घरमा यो मरि लगायत अन्य मिष्ठानहरु पकाएर राखेको कारण सो गरीब रुप कुबेरलाई खान दिईन् ।
यसरी सो साहूको परिवार को दया माया को भाबना र स्वभाव देखेर कुबेर ज्यादै प्रसन्न भएर धनेश्वर शिवलिंग बाट प्राप्त धन धान्य होस भन्ने बरदान लागू होस भनेछन्।अनि कुबेरले सो साहू परिवार लाई यो मरि को महिमा बताउँदै धानको भकारीमा योमरि राखेर पूजा गरेमा सबै देवताहरु खुशि भएर घरमा धनधान्य बढ्छ भन्ने अर्ति दिएर गए छन् ।साथै कुबेरले आफ्नु हातमा भएको एउटा बिमिरो पनि दिएर गए छन् । सो कुरा सुचन्द साहू लाई परिवार ले सुनाए छन् । त्यसै घटनाको आधारमा त्यही बेला देखि नै यो परम्परा बस्यो भनिन्छ । सो दिन मार्ग शुक्ल पूर्णिमाको दिन परेको हुनाले सो दिनलाइ यो मरि पुन्हि भन्ने परम्परा को थालनी भएको मान्यता छ । सो बेलामा लिच्छवि राजा अंशुबर्माको पाला परेकाले वहॉको पाला देखि चलेको भन्ने चलन भएको मानिन्छ ।
३.३. ऐतिहासिक महत्व ३
यो मरि सम्बन्धित गीत जुन यो मरि मागेर हिड्नेहरुले गाएर हिड्छन् त्यस्बाट समाज मा सक्षम र असक्षम ब्यक्तिहरु लाई ब्यबहार गर्ने र आशा गर्ने झल्काएको छ । जस्ले मेहनत गरी सिनाज्या गरी धान रोपाई गरी फलाएर धान भकारी भरी त्यस्को पूजा गरी आफ्नु मेहनत बाट उब्जनी भएको धान चामल बाट यो मरि बनाएर सबैलाई बाँड्न सक्ने भए सम्म वहॉलाइ तरुरी भनि संज्ञा गरियो । अनि यो मरि बनाएर बाँड्न नसक्ने भएमा बुढी भयौं भनेर संज्ञा गरेको प्रष्ट देखाइएको छ ।
गीत गाउंदै माग्ने चलन यस्तो छ
त्य: छिं त्य: बकछीं त्य:
लातापाता कुलिंचा जिस त्य: ।
य:मरि च्वामु उकिई दुने हामु,
ब्युसा माकु मब्युसा फाकु ।।
ब्युम्ह ल्यासे, मब्युम्ह बुरिकुति ।।
यसले नेवा समुदायमा गरीब र अशक्तहरुमाथि दया माया गरेको र कुबेरलाई योमरि ख्वाएर प्रसन्न पारेर बरदान पाएको किम्बदन्ति ले नेवा समुदाय मा रहेको धनी र गरीब को सम्बन्ध दर्शाएको छ । नेवा समुदाय मा हुनेले नहुने लाई सहयोग गर्ने प्रचलन रहेको प्रष्ट झल्काएको छ । यसरी योमरि पर्वको यो ऐतिहासिक मौलिक महत्वको कुरालाई बिर्सन हुँदैन ।
४.. सामाजिक महत्व
यो मरि पुन्हि पर्व सामाजिक दृष्टिकोण ले पनि एक महत्व बोकेको पर्व हो ।
४.१. नेपाल मण्डलमा स्थानीय वासीहरु ले जीवन को बिशेष दिनहरुमा पनि यो मरि बनाएर चढाउने चलन छ ।
४.२. कुनैपनि राम्रो काम गर्न , स्वागत सत्कार गर्न , यो मरि को प्रयोग गर्ने नेवा मौलिक परम्परा हो ।
४.३. बच्चाहरु को जन्मदिन मनाउंदा दुई बर्ष देखि बारह बर्षसम्म यो मरि को संख्या बाट बर्ष थाहा हुने गरि दुई वटा यो मरि देखि बारह वटा यो मरिको माला लगाई दिएर आशिर्बाद दिने चलन छ।सो आशिर्बाद को उद्देश्य जीवन भर धनसम्पत्तिबाट सम्पन्न रहोस , धन धान्य ले सधै पूर्ण रहोस , अन्नपूर्णा माताको कृपा रहोस, आदि भनेर आशिर्बाद दिने चलन छ ।
४.४. गर्भवती महिलाहरु को सुस्वास्थ्य को कामना गर्दै यो मरि बनाएर ख्वाउने चलन छ ।
४.५. यहॉ सम्मकि उमेर पुगेका बुढ़ा पाकाहरु को जंकू गर्दा समेत यो मरि लाई आशिर्बाद कोरुपमा प्रयोग गर्ने प्रचलन छ ।
४.६. आजकाल त झन बिबाह आदि मा मात्र होईन कि मेलाहरु आयोजना गर्दा समेत यो मरि हर्सोउल्लास बढाउन प्रयोग भएको पाईन्छ ।
४.७. यहाँसम्म कि नयाँ घर प्रबेश गर्नु भन्दा पहिले घर छानाबाट यो मरि खसालेर सुसाइटको कामना गरिन्छ।४.८. नेवा समुदाय मा शक्ति पीठहरु मा गरिने शक्ति पूजाहरु मा पनि यो मरि को प्रयोग भएको पाईन्छ ।
४.९. म्हपूजा र किजा पूजा मा समेत यो मरि बनाएर प्रयोग भएको पाईन्छ ।
४.१०. यसरी यो मरि मार्फत आशिर्बाद दिने/ लिने एक बिशेष प्रचलन चलिआएको प्रष्ट देखिन्छ । यो मरि लाई धन धान्य सम्पन्न को प्रतीक बस्तुहरु को रुपमा लिएर आशिर्बाद दिने / लिने प्रचलन भएको देखिन्छ । सो आशिर्बाद को उद्देश्य जीवन भर धनसम्पत्ति बाट सम्पन्न रहोस , धन धान्य ले सधै पूर्ण रहोस , अन्नपूर्णा माता को कृपा रहोस, आदि भनेर आशिर्बाद दिने लिने प्रचलन हो ।
५.. हालआएर यो मरि पुन्हि: पर्व लाई बिशेष ज्यापु दिवस को रुपमा मनाउने गरिएको छ ।यो स्वागतयोग्य नै छ ।
५.१. ज्यापु कृषकहरुले धान उत्पादन गरी भित्र्याएर भकारी भरेर अन्नको दुःख नहुने गरी योमरि पुन्हि को दिनलाई ज्यापु दिवस को रुपमा मनाउनु ज्यादै सान्दर्भिक देखिन्छ ।
५.२. यस अबसरमा ज्यापु महागुठी र अन्य गुठीहरुले बिभिन्न उत्सवहरुको साथ बिशेष कार्यक्रमहरु गर्ने प्रचलन छ ।यस्ले यो मरि को महत्व बढाएको छ । यसैको सन्दर्भमा धिमे बाजा , बॉसुरी बाजा , र अन्य बाजा बजाएर सॉस्कृतिक र्याली गरेर बसन्तपुरमा सभा गरिन्छ ।यस्ले अरु समाजमा पनि प्रचार प्रसार भएको छ ।
५.३. यसमा ज्यापु कृषकहरु ले धानबाली लगाउने देखि लिएर धान पाकेपछि काट्ने , चुट्ने , सुकाउने र सफागरेर भित्र्याउने काम गरेर धान भकारी भरिएको देखाउन सक्नेछ ।
५.४. आदिबासी ज्यापु , भूमिपुत्र ज्यापु , कृषिबिज्ञ ज्यापु , कृषि पेशामा निर्भर ज्यापु ले यस दिनलाइ दिवस को रुपमा मनाउनु स्वागत योग्य नै छ ।
हाम्रो मौलिक संस्कृति र संस्कार अमर रहोस !
(लेखक नाला उग्रचण्डी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ)
