मङ्सिरको बाईस गते शनिबारको बिहानी साँढे चारबजे हाम्रो अग्रिम योजना अनुसार पुन्यवती घले मिस र अन्य दुई जना धुलिखेल र म बनेपा अठ्ठाइस किलो के यु चोकबाट हामी बारा जिल्लाको कलैयामा बिराजमान हुनुभएकी गढिमाई मन्दिरको पाँचवर्षे मेला भर्ने धोको लिएर हिड्यौं । चिसो मौसममा तातो चियाको चुस्की पश्चातको यो यात्रा अनेक कौतुहलताको साथ अगाडी बढ्यो । गढिमाई मन्दिर एक प्रसिद्ध मन्दिर हो ।
यो मन्दिरको स्थापना परापुर्वकालमा जेल सजाय भोगिरहेका दास थारुलाई मकवानपुरकि तुलजा भवानीले सपनामा आएर मलाई तिम्रो गाउँंमा लगेर राख तब म तिम्रो सारा दुख, कष्ट र जेल सजायबाट मुक्ती दिनेछु भन्दै एक त्रिशुल दिएको र दास थारु जेलबाट मुक्त भएर घर फर्कदा बारा जिल्लाको बरियारपुरमा भवानिले दिएको त्रिशुल गाडेका थिए भन्ने किंवदन्ती रहेको छ । बिस्तारै पछि गढिमाई माताको मन्दिर बनाएर उक्त मन्दिरमा तन्त्र मन्त्रको विधान अनुसार पुजा गरि परेवा, हाँस, सुँगुर,खरायो र राँगोको पञ्चबलि चढाएपछि यहाँ एक महिना मेला लाग्छ । यति मात्र कहाँ हो र यस मन्दिरमा मानिसको पाँच अंगबाट रगत निकालेर नरबली स्वरुप चढाउनु पर्ने नियम पनि छ भन्ने कुरा मैले गुगलमा पढेकी थिएँ । बलि भनेपछी फिटिक्कै मन नपर्ने म यो काटमारको कुरादेखी भने अवाक थिएँ । लगभग उज्यालोले धर्तिको मुहारमा चुम्नै लाग्दा हामिले ललितपुरको चापागाउँ र टिकाभैरव क्रस गर्यौं । हामी २०८१÷६÷१२ गतेको भीषण बर्षा पछि गएका ठुला ठुला पहाडी पहिरोका अनगिन्ती उदाहरण नियाल्दै जाने क्रममा लेले र हेटौंडा छुटिने बाटोमा पुगसकेका थियौँ । यो बाटोमा पहिलोचोटि हिँडेकाले म केही फरकपनको आभाष गर्दै साइट सिइङ मा रमाइरहेकी थिएँ । उकालो ओरालो गर्दै हामी घाम झुल्कनै लाग्दा तिनपाने भन्ने ठाउँमा पुगयौँ । यहाँ केही होटेलहरु रहेछन् । केहिबेर रोकेर यस ठाउँमा हामिले चिया पियौँ । त्यहाको सुरम्य हल्का हुस्सु लागेको वातावरणमा केही तस्वीरहरु आफ्नो मोबाइलको क्यामेरामा कैद गरि गन्तव्य पछ्याउँदै अगाडी बढ्यौं । कतै रुख भएका त कतै नभएका सेतो माटाका चुच्चे पहाडहरुको दृश्य नियाल्दै हाम्रो गाडी बगुवा खोलातिर ओरालियो । बगर फराकिलो र खोला पनि ठुलै थियो । पुल तरेर पारी पट्टि केही उकालो चढेपछी बाटोमा माथिबाट झरेको नागबेली आकारकी झरनाले बाटोलाई केही आवतजावतमा बाधा पुर्याएकि रहिछन् । केहिबेर गाडी जाम परेकाले हामीले ओर्लेर झरनासँगै फोटो खिच्ने अवसर पायौं । झरना झरेर बाटोमा पोखरी बनेको यो ठाउँमा गाडी र बाइक तथा स्कुटरहरु आधा डुबेर चल्दा रहेछन् । कतै पिच त कतै कच्ची बाटो गाडी गुडाउँदै जाँदा हामिले फास्ट ट्र्याकका केही निर्माणाधीन बाटो र पुलहरुको पनि अवलोकन गर्ने अवसर पायौं ।
पुर्णतया मकवानपुरका पहाडी दृश्यावलोकन गर्दै तोरी फुलेका डाँडा पाखा र बस्तिहरु नियाल्दा हामिमा भोकको पत्तो थिएन । हामी आनन्दित र पुलकित थियौं । जाँदै गर्दा हामी मकवानपुर गढी र दरबार जाने बाटो देखाइएको ठाउँमा पुग्यौं । त्यहाँ पुगेपछी मलाई पृथ्वीनारायण शाहले दाइजो नपाएर अन्माउने बेलामा बेहुली छोडेर फर्किएको ऐतिहासिक कुरा, उनको मकवानपुर आक्रमण र विजयको कथा याद आयो । यात्रारत सबैलाई यो कुरा बताउँदै गएँ । गोर्खादेखी कसरी मकवानपुर आएको होला !! एकीकरण अभियान सफल पार्नु कहाँ सजिलो थियो होला र ? यस्ता भयानक पहाड हिँडेर लडाइँ लड्न कसरी सकेको होला ? फेरि जितै जित हातमा ….. मन तरङ्गित भो ।
केही बेरपछी हामी सम्म् सम्म परेका ठाउँ देख्न थाल्यौं । पुग्यौँ चौघडा हेटौंडा । पहाडको फेदि पुरै समथर केरा असाध्यै फलेका र बजारभरी मालपुवा केरा बेच्न राखिएका थिए । सुन्दर थियो बजार । हामिले त्यहाँ गढिमाई कहाँबाट जाने भनेर सोध्यौँ । एकजना प्रहरीले हेटौंडा हुँदै पथलैया पुगेर देब्रेतिर कलैयाको बाटो जानुपर्ने बताएपछि गाडी हेटौंडातिर अगाडि बढ्यो । हामी त्यहाँबाट पथलैया पुग्यौं र पुर्वतिर को बाटो मोडियौँ । करिब करिब दुई घण्टा गाडी कुदाएपछी हामी कलैया पुग्यौं र लाग्यौँ बरियारपुर्तर्फ । गाडी गाउँ गाउँ जस्तो बाटो अगाडि बढ्यो र केही पर पुगेर एउटा बसपार्कमा रोकियो । बाटोमा भिडभाड बढी भएकाले गाडिमा जान नसक्ने बताउँदै ड्राइभरले हिँडेर जाने कुरा सुझाएपछी हामी त्यहाँबाट तिर्थयात्री सँगै पछि लाग्यौं । मन्दिर पुग्ने कोहि रिक्सा चढेका त कोहि ट्र्याक्टर भरी चढेका। तराईको टिपिकल ड्रेसमा महिला र पुरुष हरु मेला भर्न जाँदै थिए । प्रायको साथमा पुजाले रङ्गाइएका बोका, राँगा र जोडि परेवा थिए । म्या म्या गरि कराएका बोका कुनै ठुला थिए भने कुनै साना थिए । राँगाहरु पनि हिँड्न नमानेर कुट्दै घिच्च्याएको देख्यौँ हामिले ।
यो दृश्य देखेर धिक्कार मानव चोला भन्न मन लाग्यो । पशुलाई यस्तो यातना दिएर मन्दिरमा लगेर बलि दिनु आफ्नो भाकल पूरा भयो भन्नू कतिसम्मको अपराध हो यो !! !! ?
मन पर्यो ताराइको फाँट, त्यहाँ फलेको तोरि, मकै, मेवा, उखुघारी र धानखेत । लवाईखवाई र जिवनशैली तर पटक्कै मन परेन बलि प्रथा र निर्दोष पशुलाई दिइएको यातना । फाँटै फाँट तेर्सिएको बाटोको दायाँबायाँ अस्थायी टहरा र रङ्गिचङ्गी पसलहरु, ठाउँ ठाउँमा खानेपानीको धारा र अस्थायी शौचालय हरुको व्यबस्था पनि राम्रो थियो । बाटो लाखौं तिर्थयात्री, व्यापारी र उपभोक्ताको आवतजावतले धपक्कै बलेको थियो । गएका साथिहरु भिडमा हराउँला वा छुट्टिउँला भनेर हामी एक अर्काको हात समाएर हिँडेका थियौँ । सम्म ठाउँ चारैतिरबाट बाटो जोडिएकाले मान्छे मन्दिर गएको हो वा फर्किएको हो छुट्ट्याउन नसकेर हामी मन्दिरभन्दा केही पर पुगेछौँ । दुविधा भएपछी मैले एकजना मधेसी भाइसँग सोधेँ । भैयाजी गढिमाई मन्दिर कित्नी दुर हे ? उनले भने दुर नहिं लगभग डेढ किलोमीटर अगाडि हेँ । हामिले त मन्दिर छोडेर डेढ किलोमीटर बढी हिँडिसकेछौँ । त्यसपछि हामी फेरि फर्कियौ डेढकिलोमिटर । मन्दिर छिर्ने ठाउँमा त झन् अत्याचारै भिड थियो । ठेल्दै ठेलिँदै र त्यो भिडमा च्यापिदै बल्लतल्ल एक बजे दिउँसो गढिमाई मन्दिरभित्र छिर्यौ । संसार जितेजस्तो लाग्यो हामिलाई । दर्शनै नगरी फर्कनु पर्ने होकि भन्ने ठूलो चिन्ताबाट मुक्त भयौँ हामी । मन्दिरभित्र पनि लाइनमा जाने व्यवस्था रहेनछ । हुँलै छिर्दा रहेछन् । भित्र माताको दर्शन गरेर हामी बाहिर निस्कियौँ । थेगिनसक्नुको भिड थियो । बलि दिने भोलिपल्ट भएकाले त्यो दिन परेवाको जोडि उडाउनेको सङ्ख्या बढी थियो । बल्लतल्ल मन्दिर अगाडि जम्मा भएर हामिले केही फोटो खिच्यौँ । टीका प्रसाद ग्रहण गरेपछी बाहिर निस्कने जमर्को गर्यौ । मन्दिर अगाडी ठूलो पोखरी रहेछ। मन्दिरको छानाभरी परेवाहरु खाँदिएर बसेका थिए । उड्दो पनि रहेनछन् । पर्सिएका बोकाजस्तो । लगलग कामेका हुन् कि जस्तो लाग्यो मलाई । मन्दिर परिसर भक्तजनले चढाएको फुलपाती, सौभाग्यका सामान, अविर अक्षता र जल किचिमिची भएर अत्यन्तै फोहोर थियो । जे होस हामी माताको नाम जप्दै बाहिरियौँ र गाडी भएतिर हिँड्यौँ । दुई घण्टा निहिंडि बसपार्क पुगिदैनथ्यो । बाटोमा आउने र फर्कने मान्छेको भिड अझ बड्दै थियो । यतिखेरसम्म भोक पनि लागिसकेको थियो । खाना खाने त्यति राम्रो व्यवस्था देखिदैनथ्यो । घरबाट ल्याएको खानेकुरा गाडिमै भएकोले हामी छिटो छिटो गाडिभएतिर फर्कियौँ । आउँदै गर्दा हामिले सुन्तला, बच्चालाई खेलौना र बदाम पनि किन्यौ । दुई घण्टाको हिँडाई पछि गाडी भएको ठाउँमा आईपुग्यौं । साँढे तीन भैसकेको थियो । खानाको कुरै नगरी हतार हतार गाडी चढ्यौ र फर्कियौ । एक घण्टाजती गाडिमा कुदेपछी घरबाट लगेका चिउरा,तरकारी, अचार, दहि गाडिमै सकि नसकी भाग लगाएर खाँदै आयौं । के गर्नु बसेर खाउँ भने समयले नेटो काटिसकेको थियो । अलिकति भएपनी बाटो काटिन्छ भनेर हामिले समयको सदुपयोग गर्यौं । चौघडा आइपुग्दा झमक्कै साँझ परिसकेको थियो । बिहान आउँदा कतै कतै को कठिन बाटो सम्झदा अर्कै सजिलो बाटो जान पाएपनी हुन्थ्यो भनेर सोचेका थियौ । तर बाटोको बारेमा त्यति धेरै जानकारी नभएकाले हामी ढुक्क मन बोकेर उहीँ बाटो फर्कियौँ ।
२६८ कि. मि. को यो लामो यात्रा राती साँढे दस बजे अट्ठाइस किलोमा झरेपछी तुरियो । माताले मन्दिरमा लैजानु भयो, दर्शन दिलाउनुभयो र यात्रा पुर्ण गराइदिनुभयो । कोटि कोटि नमन माताजिमा । तर मनमा एउटा कुरा चैं तरङ्गित भइ रह्यो किन पचासौँ हजार निर्दोष पशु पंछिको निर्मम हत्या गरि बलि चढाइन्छ ? किंवदन्तीहरुमा माताले बलि चढाउनु भनेको छैन जस्तो लाग्यो र अर्को कुरा मानिसको चैं पाँच अंगबाट रगत झिकेर चढाए हुने रहेछ । पशुको नि यसैगरी रगत सिरिन्जले झिकेर चढाए हुँदैन हुन्थ्यो नि !! समितिले मात्रै ५५५ ओटा एकैदिन बलि चढाउनु पर्छ रे । अरुको भाकल गरेर यसपाली पैँतिस हजार पशुवली चढाइयो भन्ने समाचार आयो । पक्कैपनी आफुले सृष्टि गरेका सन्तानको भोग माताले माग्नुहुन्न । “विचार गरौं, मनन गरौं, हामिमा भएको काम, क्रोध, लोभ र मोहको बलि चढाउँ पशुवली हटाउँ ।”
“जय माता गढिमाई”
प्रस्तुती ः कालिका त्रिपाठी पन्त
