ज्ञानमणि नेपाल कालोटोपी
मण्डनदेउपुर, काभ्रे । खेतका गह्राभरि राता बोरा ठडिएका छन् । घाम चर्किएको छ, किसानहरु धमाधम आलु खनिरहेका छन् । ‘आलु पनि कति धेरै फलेका रहेछन् । ‘८२ वर्षिय पशुपति श्रेष्ठ भन्दै थिए । गत वर्षभन्दा झण्डै दोब्बरले उत्पादन बढेको उनले बताए ।
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १० स्थित ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यवसायिकरुपमा आलु लगायतका तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । यो सिजनमा यहाँ २०० रोपनी जग्गामा आलु रोपिएको छ । गत वर्ष निकै राम्रो भाउ पाएको यहाँका आलुले यो वर्ष त्यति भाउ पाएनन् ।
स्थानीय किसान नारायण श्रेष्ठले करिब १२ रोपनी जमिनमा आलु रोप्न थालेको ५ वर्ष भयो । जग्गा अधियाँ -वर्षभरिको उत्पादन मध्ये जग्गा धनीलाई धान आधा दिनुपर्ने सर्त) मा लिएर उनले यहाँ आलु रोप्न थालेका हुन् ।
गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु उत्पादन भएको थियो । तर यो वर्ष भने १२० बोराभन्दा बढी फल्यो । गत वर्ष प्रतिकेजी ३० रुपैयाँसम्म बेच्न पाइएको थियो तर अहिले १८ देखि २० रुपैंयाँसम्म भाउ छ । तैपनि डेढ लाखसम्मको आलु बेच्न पाइने झिनो आशा छ उनको । ‘भाउ राम्रो भएको भए दुई लाख आम्दानी लिन सकिन्थ्यो ।’ नारायण भन्छन्, ‘सिजनको बेलामा भारतबाट आलु, प्याजलगायतका तरकारी धेरै नै आयात हुन्छ । त्यसैले स्वदेशी उत्पादनले राम्रो भाउ पाउँदैन ।’ यस्तो आयात रोक्न सके स्वदेशी तरकारीको उचित भाउ आउने उनको भनाइ छ । यो वर्ष उनले आलु रोप्नकै लागि १ लाख १५ हजार जति लगानी गरेका छन् । यहाँ केही वर्ष अघिसम्म परम्पपरागत बालीहरु गहुँ, तोरी रोपिन्थ्यो । जतिबेला उत्पादन निकै कम हुने जग्गामा अहिले आलु, काउली, बन्दा, मटरकोशा, काँक्रोलगायतका तरकारीहरु रोपिन्छ । जसबाट उत्पादन र आम्दानी दोब्बरले बढ्ने गरेको नारायण श्रेष्ठको अनुभव छ ।
श्रेष्ठ जस्तै ज्वानेटारकै ध्रुर्व भुजेलले पनि यो वर्ष ५ रोपनी जमिनमा आलु रोपेका छन् । उनको खेतमा पनि आलु राम्रै उत्पादन भएको छ । तर समस्या एउटै छ , भाउ नै छैन । ‘आलु रोप्न जमिन तयार पार्नेदेखि बीउ, मल, कामदार, विषादी सबैको हिसाब गर्ने हो भने यो सिजनमा ज्याला पनि उठ्दैन ।’ भुजेल भन्छन्, ‘किसानको उत्पादन सरकारले खरिद गरिदिने हो भने स्वदेशी किसानले कहिले नि चिन्ता गर्नु पर्दैन । तर यी विषय त सपनाको जस्तै हुन् । समयमा रासायनिक मल, बीउ किनेर पाउन सके त हुन्थ्यो । अरु के आशा गर्नु र ?’ अब बन्ने भनिएको नयाँ सरकारले चाहिँ किसानका समस्यामा ध्यान दिन्छ कि भन्ने झिनो आशा छ उनीसँग । स्थानीय सरकार भनिएका पालिकाहरुले पनि किसानका लागि खासै सहयोग गरेका छैनन् । पालिकाहरुले भने किसानका लागि धेरै कार्यक्रमहरु ल्याइरहेको दाबी गरिरहेका छन् ।
यतिबेला मण्डनदेउपुरका ज्वानेटार, जोगिटार, माइटार, कुन्तावेँसी तथा चाखोलाका हजारौं रोपनी खेतीयोग्य जमिनमा आलु खेती गरिएको छ । यहाँ वर्षेनी करोडौंको आलु उत्पादन हुन्छ तर उचित मूल्य पाइँदैन । न स्टोर गरेर राख्न किसानको पहुँच नै छ । त्यसैले किसानले समस्या भोग्नु परेको छ । आलु उत्पादनको हब नै मानिने पाँचखालमा यस वर्षको आलु खन्न बाँकी छ । यहाँका आलु बजारमा आउने बितिकै अन्यत्र ठाउँका आलुले झन भाउ नपाउने निश्चित छ । यसले पनि मण्डनका किसान चिन्तित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेले दिएको तथ्यांक अनुसार काभ्रेमा हरेक वर्ष ९ हजार १६३ हेक्टरमा जमिनमा आलु खेती गरिन्छ । यहाँबाट वार्षिक १ लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुन्छ । किसानहरुले आफूले उपभोग गरेर काठमाडौंको बजारमा जाने तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेबाटै पठाउँछन् । जसमा आलुको मात्रा उच्च रहेको कार्यालयका प्रमुख कुलप्रसाद दवाडी बताउँछन् । उनका अनुसार जिल्लाका पाँचखाल, पनौती, नाला, मण्डनदेउपुर, भकुण्डेवेँसीलगायतका स्थानहरुमा आलु खेती उच्च हुन्छ । विगतमा कार्यालयले किसानका लागि धेरै कार्यक्रमहरु संचालन गरिरहेको थियो तर यो वर्ष जेनजी आन्दोलन र निर्वाचनका कारण कृषि कार्यक्रमहरुको बजेट पनि काटिएकाले सोचेजस्तो काम गर्न नसकिएको दवाडी बताउँछन् ।
काभ्रेमा कूल खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टर बाँझै
खेती गर्ने कामदारको अभाव, कृषिमा आएको वितृष्णा, सरकारले कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर हुनु, कृषिमा देखिएका समस्या र उत्पादित उपजको उचित मूल्य नहुनु लगायतका कारण देशमा खेतीयोग्य जमिन बाँझै रहनेक्रम बढेको छ ।
यस्तै तरकारी र धान उत्पादनका लागि पकड क्षेत्र काभ्रे जिल्लामा पनि करिब १३ हजार हेक्टर कृषियोग्य जमिन बाँझै रहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला कृषि विकास कार्यालय धुलिखेलले दिएको एक तथ्यांक अनुसार जिल्लामा कूल ६१ हजार ५९८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये हाल ४८ हजार ४४० हेक्टर -७८.६ प्रतिशत) मा मात्र खेती भइरहेको छ । जिल्लामा हालसम्म खेतीयोग्य जमिनमध्ये बाह्रै महिना सिंचाई हुने क्षेत्र भने जम्मा ८.०७ प्रतिशत अर्थात ३ हजार ९१० हेक्टर मात्र रहेको छ । मौसमीरुपमा सिंचाई उपलब्ध हुने क्षेत्र १२ हजार १५० हेक्टर अर्थात २५ प्रतिशत रहेको छ ।
हालसम्म जिल्लामा हुने खेतीका आधारमा विशेष पकेड क्षेत्रहरु पनि तोकिएका छन् । जसमा ताजा तरकारीका लागि मण्डनदेउपुर, पाँचखाल, धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, तेमाल र बेथानचोक रहेका छन् । यी क्षेत्रहरुमा आलु, काउली, गोलभेंडा, बोडी, करेला, च्याउ, मुला लगायतका तरकारीका साथै धान, मकै, तोरी, दलहन र तेलहन बालीहरु उत्पादन भइरहेका छन् । यहाँ विशेषगरि मौसमी तथा बेमौसमी तरकारी खेती हुने गरेको कार्यालयले जनाएको छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/०८० मा जिल्लामा ८५५ हेक्टर जमिनमा चैते धान खेती गरिएकोमा ३ हजार ७६२ मेट्रिक टन उत्पादन भएको थियो । वर्षे धान भने १० हजार १०८ हेक्टरमा रोपिएकोमा ३८ हजार ४१० मेट्रिक टन उत्पादन भयो । यस्तै मकै २५ हजार ६२० हेक्टरमा ८९ हजार ६७०, गहुँ ८ हजार ५५० हेक्टरमा २४ हजार ७९५ मेट्रिक टन उत्पादन भएको थियो । कोदो ३ हजार ५१० हेक्टरमा रोपिएकोमा ४ हजार ५६३ मेट्रिक टन, फापर ६०० हेक्टरमा ६५० मेट्रिक टन, जौ ३४७ हेक्टरमा ३४१ मेट्रिक टन फलेको थियो ।
तरकारीतर्फ आलु ९ हजार १६३ हेक्टरमा १ लाख ८९ हजार ७८, तेलहन बाली ४७२ हेक्टरमा ५१३ मेट्रिक टन उत्पादन भएको थियो । यसैगरि दलहन बाली १ हजार २९५ हेक्टरमा १ हजार ६६६ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ । उता फलफूल अन्तर्गत पर्ने कागती ६०२ हेक्टरमा लगाइएकोमा ४ हजार ६३५ र सुन्तला १ हजार २६४ हेक्टरमा ७ हजार ६८० मेट्रिक टन उत्पादन भएको थियो । कफि २८५ हेक्टरमा ६२ मेट्रिक टन, किबी ८५ हेक्टरमा ५२७ मेट्रिक टन र अन्य तरकारीहरु १० हजार ७८५ हेक्टरमा १ लाख ८० हजार २१७ मेट्रिक टन उत्पादन भएको पनि कार्यालयले जनाएको छ ।
यसरी हेर्दा कृषिमा लाग्नेहरु घटिरहेको भए पनि उत्पादन भने सन्तोषजनक रहेको देखिन्छ । यद्यपी किसानले कुनै समस्या नझेल्ने हो र सबै खेतीयोग्य जमिनमा खेती गर्न सकिने हो भने यो उत्पादनमा निकै सुधार ल्याउन सकिने कार्यालयका प्रमुख दवाडी बताउँछन् ।
