काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ मा रहेको बालुवा मावि, बालुवापाटीका १३५ विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पनौतीका स्थानीय आरजु केसीले विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । आफ्नो १० वर्षका नाती एडिक केसीको जन्मदिनको अवसर पारेर उनीलगायत परिवारका अन्य सदस्यहरुले झोला वितरण गरेका थिए । जन्मदिनलाई विभिन्न होटल तथा रेष्टुरेन्टमा गएर भड्किलो तरिकाले मनाउने क्रम पछिल्ला दिनहरुमा बढीरहेको अवस्थामा केसी परिवारले समाजसेवाका काम गरेर पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

यस कार्यक्रमको समन्वय गरेका थिए पत्रकार यदुनाथ गौतम देउपुरेले । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुका हरेक समस्याहरु आफूले देखिरहेको अवस्थामा उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर खोजी गर्दै जाँदा केसी परिवारले आफूहरु केही सहयोग गर्न तयार रहेको बताएपछि यहाँका विद्यार्थीहरुलाई झोला वितरण सम्भव भएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर तामाङको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक मोहनबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी आरजु केसीले समाजसेवामा सहभागी हुने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरे । उनले यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आफूले सकेको सहयोग गरिरहने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खड्काले टाढादेखि आफ्नो विद्यालयमा सहयोग गर्न आउनुभएका दाताहरु र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले पछिल्ला दिनहरुमा होटल र रेष्टुरेन्टमा गएर फजुल खर्च गर्दै जन्मदिन मनाउनेहरुका लागि केसी परिवार उदाहरण भएको बताउँदै सहयोगका लागि आभार व्यक्त गरे ।

विसं. २०३४ सालमा स्थापना भएको बालुवा माविबाट ०६४ सालदेखि एसइइमा सहभागिता हुन थालेको थियो । हाल यहाँ कक्षा १ देखि १० सम्मका २१२ जना विद्यार्थी अध्ययनरत छन् । यो पटक यस विद्यालयबाट २३ जनाले एसइइ परीक्षा दिने तयारीमा रहेको प्रधानाध्यापक खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *