पनौती । काभ्रेको पनौती नगरपालिका वडानम्बर ८ मा रहेको मध्यमार्ग कृषि सहकारीको समन्वय र पनौती नगरपालिकाको कृषि शाखाको साझेदारीमा ३५ जना किसानहरुलाई १३६ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ ।
सोमबार पनौतीमा आयोजित एक कार्यक्रमका बीच टनेल वितरण गरिएको हो । पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जारा र संस्थाका अध्यक्ष प्रदीप केसी बञ्जाराले उनीहरुलाई टनेल वितरण गर्नुभयो ।
टनेल वितरण गर्दै उपप्रमुख बञ्जाराले पनौती नगरपालिकामा तरकारी प्रवर्द्धन कार्यक्रमका लागि आएको अनुदान हरेक किसानले एक पटक पाउने गरि नगरपालिकाले वितरण गरिरहेको बताउनुभयो । नगरपालिकाले विगतमा ०७६ सालदेखि यस्तो सहयोग गरिरहेको जानकारी दिनुहुँदै नगरका किसानलाई विभिन्न तालिमहरु प्रदान गरिरहेको र यसलाई निरन्तरता दिइने बताउनुभयो । नगरका १२ वटै वडामा तरकारी खेतीका लागि विभिन्न कार्यक्रमहरु ल्याइरहेको उहाँले जानकारी दिनुभयो । किसानहरुका लागि दूधमा पनि अनुदान दिइरहेको र तरकारी खेतीमा लागेका किसानलाई प्रोत्साहन गरिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाकी कृषि प्राविधिक सम्झना लिंखाले नगरपालिकाको ५० प्रतिशत अनुदानमा टनेल वितरण गरिएको बताउँदै यसलाई राम्ररी सदुपयोग गर्न किसानहरुलाई अनुरोध गर्नुभयो । उहाँले यसका लागि नगरपालिकाले बेलाबेलामा अनुगमन गर्ने पनि बताउनुभयो ।
संस्थाका अध्यक्ष प्रदीप केसी बञ्जाराले संस्थाले यस कार्यक्रमका लागि नगरबाट प्राप्त २ लाख २४ हजार ९०० अनुदान आएको र यति नै रकम किसानहरुबाट लगानी गरिएको जानकारी दिनुभयो । आफ्नो संस्था बिशुद्धरुपमा कृषक केन्द्रीत रहेको बताउँदै उहाँले रासायनिक मल उपलब्ध गराउनेदेखि किसानहरुका लागि आवश्यक हरेक गतिविधिहरुमा आफूले सकेको सहयोग गरिरहेको बताउनुभयो ।
अनुदानमा पाइएको टनेललाई सदुपयोग गर्ने र यसबाट सकेको फाइदा लिन आफूले के कसरी काम गर्नुपर्ने हो भन्ने बारेमा नगरपालिका र मध्यमार्ग कृषि सहकारीसँग सल्लाह र सहयोग लिने स्थानीय कृषक सुभद्रा बञ्जाराले बताउनुभयो । ‘मध्यमार्ग नभएको भए त हामीले खेती गर्नै नसक्ने रहेछौं । संस्थाले मल, बीउ र अन्य सहयोग धेरै नै गरेको छ । यसका लागि धेरै धेरै धन्यवाद ।’ – उहाँले भन्नुभयो ।
अर्की किसान स्वस्तिका बञ्जाराले पनि संस्थाले सहयोग गरेर अनुदानमा पाएका सामाग्रीको आफूले सदुपयोग गर्ने बताउनुभयो । ‘गाउँमै कमाउने, गाउँमै रमाउने’ नारासहित आफ्नो संस्था किसानको हितमा लागिरहने संस्थाका अध्यक्ष बञ्जारा बताउनुहुन्छ ।
