मण्डनदेउपुर, काभ्रे । दीगो कृषि प्रणालीको प्रवद्र्धन र कृषकहरूको पेसागत स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै MDM/TGH को आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकासका लागि किसान संस्था FRDEV तथा चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्था, मण्डनदेउपुरको साझेदारीमा सञ्चालनमा रहेको परियोजनाले स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउँदै आएको छ ।
यसै परियोजनाबाट लाभान्वित कृषक हुन्—मण्डनदेउपुर नगरपालिका वडा नं. १० निवासी शंकरप्रसाद नेपाल । परियोजनामार्फत प्रदान गरिएको तालिम र प्राविधिक मार्गदर्शनको आधारमा उहाँले प्लास्टिक टनेल प्रविधि, उन्नत बीउबिजन तथा अर्गानिक -जैविक) खेती प्रणाली अवलम्बन गर्न थाल्नुभएको छ ।
पहिले परम्परागत तरिकाले खेती गर्दै आउनुभएका नेपालले अहिले कुनै पनि रासायनिक विषादी तथा मलको प्रयोग नगरी पूर्णरूपमा जैविक विधिबाट खेती गर्न सफल हुनुभएको छ । उहाँले सृजना जातको टमाटर उत्पादन गर्नुभएको छ, जुन अहिले बजार पठाउनका लागि तयार अवस्थामा रहेको छ । विशेषगरी, जिवामृत -झोलमल) तथा विभिन्न जैविक मलहरूको प्रयोगले पनि उच्च उत्पादन लिन सकिन्छ भन्ने कुरा उहाँको अभ्यासले प्रमाणित गरेको छ । रासायनिक मल र विषादीबिना पनि राम्रो उत्पादन लिन सकिन्छ भन्ने कुरा मैले यस परियोजनाबाट सिकेँ, उहाँले भन्नुभयो ।
उहाँले चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्थाप्रति विशेष धन्यवाद व्यक्त गर्दै भन्नुभयो, यस्तो प्रभावकारी कार्यक्रममार्फत हामी किसानलाई जोडेर क्षमता विकास गर्ने अवसर प्रदान गर्नुभएकोमा सहकारी संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
उहाँको सफलताले अन्य किसानहरूलाई पनि प्रेरणा दिएको छ । जैविक खेतीप्रति बढ्दो आकर्षण, स्वास्थ्यप्रति सचेतना र वातावरण संरक्षणको दृष्टिकोणले यस परियोजनाले ग्रामीण समुदायमा दीगो विकासको मार्ग प्रशस्त गरिरहेको छ ।
यस परियोजनाले कृषकहरूलाई आत्मनिर्भर बनाउँदै सुरक्षित, स्वस्थ र गुणस्तरीय कृषि उत्पादनतर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पु¥याइरहेको छ । भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ विस्तार गर्दै थप किसानहरूलाई समेट्ने लक्ष्यसमेत राखिएको छ ।
