• ज्ञानमणि नेपाल कालोटोपी

एउटा यथार्थ यो छ कि खोरमा थुन्दैमा बाघ स्याल बन्न सक्दैन, अनि दूध चुसाउँदैमा सर्प विषरहित हुन सक्दैन । यसको मतलब सबैले आआफ्नो गुण देखाउँछन् । यति हो कि सबैले उचित समय पर्खिरहेका हुन्छन् । हामीले जनावर र मानिससँग चिनेर मात्र संगत गर्नुपर्छ । गलत साथीको संगत कालान्तरमा घातक हुन्छ । कुलत र खराब बानीले मानिसको इज्जतमा धक्का लाग्छ । विगत सम्झेर दुःखी हुनु भनेको आत्मबल कमजोर बनाउनु हो । अरुको कुरा काटेर समय खेर फाल्नु हुँदैन, अनावश्यक कुरा मनमा खेलाउनु पनि हुँदैन । अल्छीपना र नैराश्यतालाई ल्याग्नुपर्छ । गलत कुराहरुको पछि लाग्नु हुँदैन, अनावश्यकरुपमा बाहिर समय बिताउनु र अरुसँग आफूलाई दाज्नु पनि हुन्न । यी सबै दुःखका कारण हुन् । हामी दुःखी हुने वा सुखी हुने त्यो आफैंमा भर पर्छ ।

हामीले सुनेका त छौं तर धेरै कुरा व्यवहारमा उतार्न सकेका छैनौं । जसले समस्याहरु निम्तिएका छन् तर हामीले ती कुराको पत्तै पाएका हुँदैनौं । राति सुत्नुअघि घरको भान्साकोठामा जहिले पनि एक भाँडो पानी भरेर सुत्ने गर्नुपर्छ । यसो गरेमा ऋणबाट मुक्ती मिल्ने मान्यता छ । यस्तै शौचालय वा वाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतीका बाटोहरु खुल्ने विश्वास गरिन्छ । घरको मूख्य ढोका अघिल्तिर फोहोर राख्नाले छिमेकी शत्रु बन्न पुग्छन् । खाना खाएपछि भान्साकोठामा जुठो भाँडा नराख्नुस्, भाँडा माझ्न सकिएन भने पानीले पखालेर भए पनि सफा राख्नुस्, यसो गरियो भने धन हानी हुनबाट जोगिन्छ । सूर्यास्तको समयमा कसैलाई पनि दूध, दही वा प्याज नदिनु भन्ने शास्त्रीय मान्यता छ । यसो गरियो भने परिवारको सुख, शान्ति र सम्पत्ती नष्ट हुनबाट जोगिने विश्वास गरिन्छ ।

यस्तै सुत्ने ओछ्यानमा बसेर खाना कहिल्यै नखानुस्, यसले घरमा अशान्ति ल्याउने र ऋण लाग्ने मान्यता छ । घोडाले जहाँको पानी खान्छ, मानिसले पनि त्यहीँको पानी खानु, किनकी घोडाले दूषित पानी कहिल्यै पनि खाँदैन । बिरालो सुतेको ठाउँमा आफ्नो ओछ्यान लगाउनु, किराले छोएको फलफूल र तरकारी खानु, किनकी त्यसमा विष हुँदैन । जमिनमुनीका प्राणीले माटो खनेको ठाउँमा रुख रोप्नुपर्छ । किनकी यस्तो ठाउँमा माटो खुकुलो हुन्छ र बोट सप्रिन्छ । सर्पले घाम ताप्ने पारिलो ठाउँमा घरको जग हाल्नु, चराले छहारी खोज्ने ठाउँमा कुवा खन्नु । चराचुरुङ्गीसँगै सुत्नु र उनीहरुको चिरबीर आवाजसँगै उठ्नु । पानीमा पौडन सक्यो भने जीवन माछा जस्तै सलल बग्छ । सकेसम्म मौन रहनु, कम बोल्न सकियो भने हृदयमा शान्तिको बास हुन्छ । आकाशतिर हेरेर सोच्नु, स्पष्ट र सफा विचारको सृजना हुन्छ ।

यी कुराहरुको कुनै प्रमाण छैन तर पनि हामीलाई जीवनमा सुहाउने चाहिँ पक्कै छन् । जति नै नास्तिक विचार राखेपनि हामीले मन्दिरको बाटो हिँड्दा वा कुनै मुर्ति देख्दा त्यसलाई ढोग्छौं । यसको मतलब हामीमा पनि भगवान छन् , यति हो कि कसैले धेरै विश्वास गर्छन्, कसैले कम । तर यथार्थ कुरा सबैले मान्नै पर्छ । के हामीले अविश्वास गर्दैमा आगोले नपोल्ने हुन्छ र ? वा पानी जति नै तातो भए पनि त्यसले आगो निभाउँदैन र ? त्यसैले सोच बदल्न हामीले आफैंबाट शुरु गर्नुपर्छ । अरुलाई भनेर होइन, गरेर देखाउन सकियो भने सबैले विश्वास गर्छन् ।

असल मानिसहरु कम बोल्छन् तर अर्थपूर्ण बोल्छन् । उनीहरुले कुनै मान्छेको भावनासँग खेलबाड गर्दैनन् । उनीहरु भाग्यमा भन्दा कर्ममा विश्वास गर्छन् । आवश्यकताभन्दा बढी खर्च गर्दैनन् । बोल्न हुने र नहुने कुरा छुट्याएर मात्रै बोल्ने गर्छन् । यस्ता मानिस ध्रुम्रपान र मद्यपानबाट परै बस्छन्, खाए भने पनि नियन्त्रणमा रहेर खान्छन् । यस्ता चीजहरु खानै नहुने भन्दा पनि यिनीहरुले चाहिँ मानिसलाई नखाउन् भन्ने सोच्छन् । त्यसैले मानिसले आफूले आफूलाई कसैसँग तुलना गर्न छोड्नुपर्छ, सकारात्मक व्यक्तिहरुको संगत गर्नुपर्छ । हामीले आफैंसँग गफ गर्ने बानी राख्नुपर्छ । किनकी यसले सही र गलत छुट्याउन सजिलो हुन्छ । हामीले आफूलाई असहज लाग्ने कुरालाई त्यग्नैपर्छ । हरेक समस्या र डरसँग सामना गर्न सक्नुपर्छ । साथै आफ्नो शरीरको पनि ख्याल गर्नुपर्छ, शरीर छ र त सबै कुरा छ नि । यसरी सबै कुरालाई आत्मसाथ गर्न सकियो भने मात्र जीवनको लक्ष्य र योजना तय गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *