बनेपा । काभ्रेको बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ हास्यकलाकार जितु नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा क्याम्पस प्रमुख नवराज चौँलागाइँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका रिता बादेले गर्नुभएको थियो । विद्यालयका सहायक प्रिन्सिपल नवराज दाहालले प्रतिष्ठानको शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो । कक्षा १२ की विद्यार्थी सृष्टि पराजुलीले आफ्नो अध्ययन अनुभव साझा गर्दै नवप्रवेशी विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको थियो ।
प्रमुख अतिथि जितु नेपालले स्वदेशमै प्रशस्त अवसरहरू रहेको उल्लेख गर्दै कक्षा १२ पूरा गरेलगत्तै विदेश जाने सोच नबनाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । समयको सही व्यवस्थापन गर्दै मिहेनतपूर्वक काम गर्न सके असफल हुन नपर्ने उहाँको भनाइ थियो । साथै, सामाजिक सञ्जालको सही र सकारात्मक उपयोग गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
कार्यक्रममा अध्यक्ष सुरकृष्ण वैद्यले विद्यालयले व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै आगामी दिनमा यसलाई अझ जिम्मेवार, प्रभावकारी र विद्यार्थीमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रबन्धक प्रताप वैद्य, सञ्चालक आत्मराम थापा, कलाकार भुषण भूमी, पत्रकारहरू तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो । नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालयको वातावरण, शैक्षिक प्रणाली तथा अनुशासनसम्बन्धी जानकारी प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
