ज्ञानमणि नेपाल कालोटोपी
भनिन्छ नि, भगवानले दुःख त्यसलाई दिन्छन्, जसले सहन गर्न सक्छ । जति दुःख आउँछ उसलाई यहि जन्ममा मात्रै आओस्, अर्को जन्ममा उसले दुःख के हो भनेर झेल्नै नपरोस् । यी कुरा सुन्दा आदर्शवादी जस्तो लाग्छ तर यसमा केही यथार्थ पनि छन् । तर कहिलेकाहिँ त लाग्छ, भगवान पनि मूर्खसँग डराउँछन् र सज्जनलाई मात्र अनेक झमेलाहरु दिन्छन् । यी संयोग मात्रै पनि हुन सक्छन्, यथार्थ यो हो कि एकदिन सबैले मर्नुपर्छ, संसारमा मृत्यु मात्रै सत्य हो अरु सबै झुटा हुन् ।
सत्य यो हो कि कसैले तपाईंको मन दुखायो वा चोट लगायो भने दुःखी नहुनुस् । प्रकृतिको नियम नै हो जुन रुखमा मिठा फल लाग्छन्, त्यसमा धेरै ढुंगा प्रहार हुन्छन्, त्यही रुखले हो धेरै झटारो खाने पनि । जीवनमा मैले धेरै साथी कमाएँ भन्छौं हामी तर स्थायी र सच्चा साथी भने दुई वटा मात्र हुन्छन् । एउटा ऐना र अर्को छायाँ । ऐनाले कहिल्यै झुटो बोल्दैन भने छायाँले कहिल्यै साथ छोड्दैन । अरु मानव साथीहरु समय र स्वार्थ पूरा भएपछि आफैं किनारा लाग्छन् । उनीहरुको भर हुँदैन ।
मान्छेहरु भन्ने गर्छन्, रक्सी पिउनुमा छुट्टै आनन्द छ । अथवा भनौं मनमा आएका पीडा भुलाउन मान्छे रक्सी पिउँछन् । तर यहाँ बुझ्नु पर्ने कुरा यो छ कि रक्सी पिउनेहरुले रक्सी मात्र पिइरहेका हुँदैनन्, उनीहरुले आमाको खुशी, श्रीमतीको सपना, बालबच्चाहरुको भविष्य अनि बुबाको प्रतिष्ठा पनि पिइरहेका हुन्छन् । स्वास्थ्यमा पुग्ने असरको कुरै अलग छ । हरेक बाहानामा दिनहुँ रक्सी पिउनेहरुको जमात उस्तै बढीरहेको हामीले देखेकै कुरा हो । सबैको जीवन सधैं एकैनासले चलिरहेको हुँदैन । कहिले कस्तो मोड आउँछ थाहा हुँदैन । आज सुख छ भने सधैं सुख मात्रै रहिरहन्छ भन्ने हुन्न । अर्को दिन दुःख पनि सँगै आइरहेको हुन्छ । दुःखलाई भुल्न रक्सी पिउनेहरु सुखमा मात्तिन पनि रक्सी नै पिइरहेका हुन्छन् । त्यसैले पिउनु र जिउनु जीवनका फरकफरक पाटोहरु हुन् ।
सबै मान्छे सबै क्षेत्रमा निपूर्ण हुँदैनन् । केही कुरामा विज्ञ भएपनि उनीहरु संसारभरिको ज्ञान मसँग मात्रै छ जस्तो घमण्ड देखाउँछन् । कहिलेकाहिँ तपाईंलाई खुट्टा तान्ने मान्छेलाई यो चाहिँ थाहै हुँदैन कि तपाईंकै कारण आफू उभिएको छु भनेर । यो कुरा सोच्ने उसलाई फुर्सदै हुँदैन, किनकी ऊ घमण्ड र अहंकारले घेरिरहेको हुन्छ । ऊ कुनै दिन खाडलमै खसेछ भने पनि यो भनिरहेको हुन्छ कि म खाडलमा खसेकै छैन, मलाई कोही चाहिँदैन ।
मानिस एकआपसमा झगडा गर्छन्, झगडाको कारण कि अज्ञानता हो कि पैसा । अहिले मानिसलाई पैसा पनि नभइ हुँदैन तर ती घमण्डी व्यक्तिहरु जो सँग पैसा थिएन र अहिले केही पैसा कमाउन थालेका छन् भने उनीहरुले कसैलाई पनि गन्दैनन् । आफन्तलाई पनि पैसासँग तुलना गर्छन् , पैसा भएपछि सबै कुरा हुन्छ भन्ने घमण्ड देखाउँछन् । कुनै समस्या नै परे पनि मान्छेलाई गन्दैनन्, त्यतिबेला पनि पैसा गनिरहेका हुन्छन् । तर हामीले यो कुरा भुल्नु हुँदैन कि पैसा साधन हो साध्य होइन । पैसा चाहिन्छ तर मान्छे नभइनहुने ठाउँमा पैसा मात्र भएर हुँदैन । त्यसैले भनिन्छ नि, पैसा र वैंशको पछि लागेर आफ्नो भएको सम्बन्ध टाढा नबनाउ, आखिर पैसा र वैंश सकिन समय लाग्दैन ।
चाणक्य नीतिमा भनिएको छ, मनमा छलकपट नभएका सच्चा मानिसहरु रिसाउने स्वभावका हुन्छन्, तर गलत प्रवृत्ती भएका मानिसहरु निकै प्रशंसनिय र चिप्ला कुरा गरेर आफ्नो बसमा पार्ने प्रयास गर्छन् । यसबाट हामीले यो बुझ्न जरुरी छ कि हामी संसारका केही दिनका पाहुना हौं । बल्लबल्ल पाएको जीवन किन रिसराग पालेर खेर फाल्नु र ? हाँसौं, खेलौं, रमाइलो गरौं । जन्मिएर के ल्याएका थियौं र मरेर के नै लैजान्छौं ? यो धर्तीमा हामीले जे असल काम गर्न सक्छौं, त्यही हो मानिसले सम्झने पनि । आज हामीले सम्झिने गरेका इतिहासका पात्रहरु न हाम्रा परिवार थिए, न उनीहरुलाई हामीले कहिल्यै देखेका नै थियौं । तैपनि उनीहरुको हामी अहिले पनि गुणगान गाइरहन्छौं । किनकी ती पात्रहरु मानव जीवनका लागि आदर्शपात्र थिए र रहिरहन्छन् युगौंसम्म पनि । इतिहास लेखिने नै दुई थरिका मानिसको हो, कि असल कि खराब । आफ्नो कस्तो इतिहास बनाउने त्यो व्यक्ति स्वयंमा भर पर्छ । किनकी हामीसँग भगवान मानिएका कृष्ण र श्रीरामको पनि कथा छ भने राक्षश मानिएका कंश र रावणको पनि इतिहास छ । को बन्ने त्यो आफैंमा निर्भर रहन्छ ।
