धुलिखेल/ धुलिखेल अस्पतालले पाँचौँ सामुदायिक तथा आधारभूत जीवन सहयोग दिवस–२०८३ विशेष कार्यक्रमका साथ मनाएको छ । साउन १५ (खिर खाने दिन) को अवसर पारेर विगत पाँच वर्षदेखि अस्पतालले यो दिवस निरन्तर मनाउँदै आएको हो ।
वि.सं. २०५३ सालमा स्थापना भएको धुलिखेल अस्पतालले हाल १० जिल्लामा रहेका १८ शाखामार्फत समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले समुदायमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका संस्थापक प्रा. डा. रामकण्ठ माकजुले अस्पतालसम्म आउन नसक्ने नागरिकलाई उनीहरूको समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ सामुदायिक कार्यक्रम सुरु गरिएको बताए । प्रत्येक नागरिकले आधारभूत जीवन सहयोग (Basic Life Support–BLS) सम्बन्धी तालिम प्राप्त गर्न सके दुर्घटना वा आकस्मिक अवस्थामा धेरैको ज्यान बचाउन सकिने भएकाले अस्पतालले तालिम र सेवाको दायरा निरन्तर विस्तार गरिरहेको उनले जानकारी दिए । उनका अनुसार चालु वर्षमा मात्रै ४ सय ७८ जनाले आधारभूत जीवन सहयोग तालिम प्राप्त गरेका छन् ।
अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यले ‘हामी सबै एकै हौँ’ भन्ने अभियानका साथ अस्पताल समुदायसम्म पुगेको र स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइएको बताए । उनले अस्पतालको ३० वर्षे यात्रामा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको उल्लेख गरे ।
धुलिखेल अस्पतालले विशेषगरी दोलखा जिल्लामा घरधुरी तथा सदस्यलाई सामुदायिक तथा आधारभूत जीवन सहयोग कार्यक्रममा समेट्ने योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ । हाल ३३ हजार घरधुरीका करिब १ लाख ५० हजार नागरिक यस कार्यक्रममा आबद्ध रहेका छन् भने सामुदायिक कार्यक्रममार्फत १४ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन् ।
कार्यक्रममा सामुदायिक कार्यक्रम विभागका अर्जुन बञ्जाडे, डा. रोहित श्रेष्ठ र सङ्गीता सुर्खेतीले धुलिखेल अस्पतालले समुदायस्तरमा पुर्याएको योगदान तथा कार्यक्रमको वर्तमान अवस्थाबारे प्रस्तुति दिएका थिए । संस्थापक प्रा. डा. रामकण्ठ माकजु र सामुदायिक कार्यकर्ता इन्दिरा घिमिरेले संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।
आधारभूत जीवन सहयोग कार्यक्रममार्फत पुनर्जीवन पाएका प्रेमबहादुर विश्वकर्माले भिडियो सन्देशमार्फत आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा दोलखा जिल्लाका उत्कृष्ट सामुदायिक कार्यकर्ताहरूलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङ डोल्मा, अस्पतालका विभिन्न विभागका प्रमुख, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, समुदायका अगुवा, संघसंस्थाका प्रतिनिधि, अस्पतालका संस्थापक, चिकित्सक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियाे ।
