प्रदीप केसी बञ्जारा
प्राचीन भारतीय समाजको विकासक्रम, परिवारको संरचना, वर्ण व्यवस्थाको उत्पत्ति, वर्ग निर्माण, राज्यसत्ताको विकास तथा प्राचीन राजनीतिक चिन्तनलाई ऐतिहासिक र समाजशास्त्रीय दृष्टिले केलाउने प्रयास गरिएको महत्वपूर्ण कृति हो—‘प्राचीन भारतमा परिवार, वर्ण र राज्यको उत्पत्ति ।’
लेखक कृष्ण गोपाल वैदारले लामो समयदेखि प्राचीन भारत, सिन्धु सभ्यता, वेद, महाभारत, रामायण तथा पुराण साहित्यप्रति राख्दै आएको अध्ययन र रुचिलाई यस पुस्तकमार्फत व्यवस्थित रूपमा प्रस्तुत गरेका छन् । पुस्तक केवल प्राचीन भारतको इतिहास वर्णन गर्ने प्रयास मात्र होइन, इतिहासका घटनाभित्र लुकेका सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक पक्षलाई प्रश्न गर्ने तथा तिनको उत्पत्तिको आधार खोज्ने अनुसन्धानात्मक प्रयत्नका रूपमा देखिन्छ ।
परिवार, वर्ण र राज्य कसरी विकसित भए ? वर्ण र वर्गबीचको सम्बन्ध के हो ? राज्यसत्ताको विकास कुन सामाजिक परिस्थितिबाट भयो ? आर्य–अनार्य सम्बन्ध र संघर्षले भारतीय समाजलाई कसरी प्रभावित गर्यो ? यस्ता प्रश्नको उत्तर खोज्ने क्रममा लेखकले विभिन्न धार्मिक ग्रन्थ, ऐतिहासिक सामग्री र पूर्ववर्ती विद्वानका कृतिहरूलाई आधार बनाएका छन् । पुस्तकको संरचना र विषयवस्तु पुस्तकमा जम्मा बाह्रवटा लेख समावेश छन् । तीमध्ये अधिकांश लेख प्राचीन भारतमा परिवार, वर्ण र राज्यको उत्पत्तिसँग सम्बन्धित छन् भने ‘इजरायलमा राजतन्त्रको उत्पत्ति’ र ‘प्राचीन बनेपाको इतिहास’ शीर्षकका दुई लेखलाई परिशिष्टमा राखिएको छ ।

पुस्तकका लेखलाई हेर्दा लेखकले एउटा मात्र कोणबाट विषयलाई व्याख्या गरेका छैनन् । सामाजिक संरचना, उत्पादन सम्बन्ध, धार्मिक मान्यता, वर्ण व्यवस्था, राज्यसत्ता, गणराज्य, आर्य–अनार्य सम्बन्ध तथा राजनीतिक विचारलाई परस्पर सम्बन्धित विषयका रूपमा प्रस्तुत गरेका छन् । यही कारण पुस्तकको अध्ययन गर्दा प्राचीन भारतीय समाजको एउटा समग्र चित्र बुझ्ने अवसर प्राप्त हुन्छ । अध्ययनको लामो पृष्ठभूमि यस पुस्तकको विशेषपक्ष मध्ये एउटा लेखकको लामो अध्ययन यात्रा हो । लेखकका अनुसार प्राचीन भारत र सिन्धु सभ्यताको इतिहास तथा वेद, महाभारत, रामायण र पुराणलगायतका साहित्यमा उनको रुचि दुई–तीन दशक अघिदेखि निरन्तर रहँदै आएको छ ।
विद्यालय तहमा अध्ययन गर्दादेखि नै मानव समाजको विकाससम्बन्धी साहित्य पढ्न थालेका लेखकले पछि नारायणमान बिजुक्छे, राहुल सांकृत्यायन, श्रीपाद अमृत डाङ्गे तथा फ्रेडरिक एंगेल्सलगायतका लेखकका कृतिहरू अध्ययन गरेको उल्लेख गरेका छन् । विशेषगरी एंगेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ बाट प्रभावित भएर प्राचीन हिन्दु समाजमा परिवार, वर्ण र राज्यको उत्पत्तिबारे थप अध्ययन गर्ने प्रेरणा प्राप्त भएको देखिन्छ । यसरी पुस्तक कुनै आकस्मिक लेखनको परिणाम नभई लामो समयको अध्ययन, जिज्ञासा र खोजको परिणाम भएको लेखकको भनाइबाट स्पष्ट हुन्छ ।
यही पृष्ठभूमिले पुस्तकलाई व्यक्तिगत रुचिभन्दा माथि उठाएर अनुसन्धानात्मक स्वरूप दिन खोजेको देखिन्छ । वर्ण र वर्गबारे लेखकको मौलिक दृष्टिकोण पुस्तकको सबैभन्दा महत्वपूर्ण र बहसयोग्य पक्ष वर्ण र वर्गबीचको सम्बन्धबारे लेखकले अघि सारेको धारणा हो ।
लेखकले पुराण साहित्यमा वर्णको उत्पत्तिबारे गरिएका उल्लेखलाई अध्ययन गर्दै वर्ण व्यवस्थाको ऐतिहासिक विकास खोज्ने प्रयास गरेका छन् । गणेश पुराणमा त्रेता युगमा ब्रह्माले चार वर्णको सृष्टि गरेको प्रसङ्ग भेटिएपछि त्यसअघि वर्ण व्यवस्था अस्तित्वमा थिएन भन्ने निष्कर्षतर्फ आफू पुगेको लेखकले उल्लेख गरेका छन् । त्यसपछि उनले काम, अधिकार तथा उत्पादनका साधनमाथिको स्वामित्वलाई वर्ण निर्धारणको आधारसँग जोडेर हेरेका छन् । यही क्रममा वर्ण र वर्गबीचको सम्बन्धलाई नयाँ ढंगले व्याख्या गर्ने प्रयास गरिएको छ । लेखकका अनुसार वर्ण र वर्गबीच समानता भए पनि तिनको निर्माण प्रक्रियामा महत्वपूर्ण भिन्नता छ । वर्ण स्थिरता वा गतिहीनताबाट जन्मिन्छ भने वर्ग गतिशीलताबाट जन्मिन्छ भन्ने उनको मूल तर्क देखिन्छ । उदाहरणका रूपमा एउटै व्यक्ति कारखानामा काम गर्दा मजदूर, प्राध्यापन गर्दा प्राध्यापक र व्यापार गर्दा व्यापारी बन्न सक्छ । त्यस अवस्थामा उसको वर्ग उसको काम र आर्थिक भूमिकासँग परिवर्तन हुन्छ ।
तर वर्ण व्यवस्थाको कठोर सामाजिक नियम लागू भएपछि पेशा पुस्तौँसम्म एउटै परिवारमा कायम रहँदा त्यसले जातीय तथा वंशगत स्वरूप ग्रहण गर्न पुग्यो भन्ने लेखकको व्याख्या छ । यो अवधारणा पुस्तकको मौलिक बहस सिर्जना गर्ने पक्ष हो । यसले पाठकलाई वर्ण र जातलाई एउटै स्थिर सामाजिक संरचना मानेर बुझ्ने परम्परागत दृष्टिकोणभन्दा बाहिर गएर उत्पादन, पेशा, सामाजिक गतिशीलता र वंशगत स्थिरताको सम्बन्धमा सोच्न प्रेरित गर्छ ।
आर्य–अनार्य सम्बन्ध र सिन्धु सभ्यता
पुस्तकमा ‘आर्य, अनार्य र आर्य–अनार्य सङ्घर्ष’ शीर्षकका लेखहरूले विशेष ऐतिहासिक महत्व राख्छन् । लेखकले आर्यहरूको आगमन, सिन्धु सभ्यताको विनाश तथा त्यसपछि विभिन्न समुदायको स्थानान्तरणका विषयलाई वर्ण व्यवस्था र राज्य विकाससँग जोडेर हेरेका छन् । यस क्रममा नेपाल उपत्यका र सिन्धु सभ्यताबीचको सम्भावित सम्बन्धतर्फ पनि लेखकले ध्यान दिएका छन् । विशेषगरी प्राचीन नेवार समुदायको उत्पत्ति र इतिहासलाई सिन्धु सभ्यताको सन्दर्भमा पुनर्विचार गर्नुपर्ने नयाँ तथ्य तथा दृष्टिकोण प्रस्तुत गरिएको दाबी पुस्तकमा पाइन्छ । यस्ता विषयहरू इतिहासका स्थापित व्याख्याभन्दा फरक कोणबाट प्रस्तुत भएकाले पुस्तकलाई थप अध्ययन र बहसको आधार बनाउन सकिन्छ । तर यस्ता ऐतिहासिक निष्कर्षलाई मूल्याङ्कन गर्दा प्रमाण, पुरातात्त्विक सामग्री, भाषा वैज्ञानिक अध्ययन तथा अन्य स्वतन्त्र ऐतिहासिक स्रोतसँग तुलना गर्नु आवश्यक हुन्छ । यही पक्षले पुस्तकलाई पाठकका लागि बहसयोग्य र खोजमूलक बनाएको छ ।
नयाँ क्षत्रिय वर्णको उत्पत्तिबारे चर्चा
पुस्तकमा ‘नयाँ क्षत्रिय वर्णको उत्पत्ति’ शीर्षकमार्फत भारतीय समाजमा विभिन्न समुदायको ब्राह्मणीकरण तथा क्षत्रियकरणको प्रक्रियाबारे चर्चा गरिएको छ । मनुले ‘ब्रात्य’ भनेका खस लगायत विभिन्न जातिका मानिसहरूले भागवत धर्म स्वीकार गरेपछि उनीहरूको ब्राह्मणीकरण भएको तथा विदेशबाट भारतवर्षमा आएका विभिन्न लडाकू समुदायलाई हिरण्यगर्भ संस्कारमार्फत नयाँ क्षत्रियका रूपमा स्थापित गरिएको लेखकको तर्क छ । यसले वर्ण व्यवस्था पूर्णतः अपरिवर्तनशील वा एकैपटक निर्माण भएको संरचना होइन, ऐतिहासिक परिस्थिति अनुसार त्यसमा नयाँ समूह समावेश हुने प्रक्रिया पनि रहेको हुन सक्ने प्रश्न उठाउँछ । यही कारण यो अध्याय सामाजिक इतिहास, धार्मिक संस्कार र राजनीतिक वैधानिकताबीचको सम्बन्ध बुझ्नका लागि महत्वपूर्ण बहसको विषय बन्न सक्छ ।
परिवारदेखि राज्यसम्मको विकासक्रम
पुस्तकको अर्को प्रमुख पक्ष परिवार, वर्ण र राज्यलाई अलग–अलग विषय नभई एउटै सामाजिक विकासक्रमका विभिन्न चरणका रूपमा हेर्ने प्रयास हो । लेखकले कविला र गणबाट गोत्र, वर्ण, परिवार हुँदै राज्यसत्ताको विकास भएको धारणा अघि सारेका छन् । यस दृष्टिले हेर्दा राज्य कुनै आकस्मिक राजनीतिक संस्था नभई समाजभित्र विकसित हुँदै आएका उत्पादन सम्बन्ध, सामाजिक संगठन, अधिकार, स्वामित्व र शक्ति संरचनाको परिणाम हो भन्ने अवधारणा रहेको छ ।
