काभ्रे । काभ्रेपलाञ्चोकको व्यापारिक नगरि बनेपामा माघ १६ गतेदेखि साताव्यापी रुपमा सोनाम ल्होछार मेला तथा महोत्सव हुने भएको छ ।
बिहीबार बनेपामा पत्रकार सम्मेलन गर्दै आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले यसको जानकारी दिएको हो । बनेपा नगरपालिका अन्तर्गत वडा नम्बर ८ मा रहेको उग्रेश्वर मन्दिर परिसरको खाली जग्गामा २८६१ डुल सोनाम ल्होछार मेला तथा महोत्सव–२०८१ आयोजना गरिएको संयोजक क्षेत्रबहादुर वाइबाले जानकारी दिनुभयो ।
यसका लागि बनेपा नगरपालिका, जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालयलगायत सम्बन्धित निकायसँग सहकार्य गरी मेला तथा महोत्सवको भव्यरुपमा आयोजना गरिएको उहाँले बताउनुभयो । जसअनुसार माघ १६ गतेदेखि २२ गतेसम्म महोत्सव हुनेछ । तामाङ जातीको बाक्लो बसोबास रहेको काभ्रे जिल्लामा सांस्कृतिकरूपमा संरक्षण, प्रचारप्रसार गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले यो मेला तथा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।
कृषि क्षेत्रको प्रवद्र्धन तथा आधुनिक कृषितर्फ किसानहरुलाई उजागर गराई स्थानीयस्तरमा तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा बजार विस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न, घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तुको बजार प्रवद्र्धनमा टेवा पुर्याउने मेलाको मुख्य उद्देश्य रहेको कार्यक्रममा जानकारी दिइयो । ग्रामिण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु, सीपमुलक तालिम र तालिमबाट उत्पादित वस्तुको प्रवद्र्धन पनि मेलाका आकर्षण रहनेछन् ।
मेलामा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, कृषि प्रदर्शनी, गार्मेन्टका उत्पादन, जुत्ता चप्पल, वैकल्पिक ऊर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरिय दैनिक उपभोग्य सामग्री, निर्माण सामाग्री तथा औजार लगायतका विभिन्न ६० वटा स्टल रहने पनि संयोजक वाइबाले बताउनुभयो । उहाँका अनुसार मेलामा सूचना प्रविधि तथा विद्युतीय सामाग्री, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरु, सांस्कृतिक कार्यक्रम, हास्यव्यङ्ग्य, स्थानीय पहिचान झल्काउने झाँकी तथा जातीविशेषका नाच, पर्यटन क्षेत्रको विस्तृत जानकारी, स्थानीय खानाका विशेष परिकारहरु पनि विशेष आकर्षक रहनेछन् । यस्तै बाल उद्यानहरु राखिनुका साथै तामाङ समुदायका रहनसहन, भेषभुषा र खानाका परिकार तथा नृत्य पनि मेलामा प्रस्तुत हुनेसमेत उहाँले जानकारी गराउनुभयो ।
मेलाको काभ्रे जिल्लाको डाँडापारि क्षेत्रमा उत्पादित कृषिजन्य सामग्रीहरूका प्रदर्शक लगायत झण्डै २ लाख जती अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा जेष्ठ नागरिक र बालबालिकाको लागि प्रवेश निःशुल्क गराउने तयारी रहेको पनि कार्यक्रममा जानकारी दिइएको छ ।
