ज्ञानमणि नेपाल कालोटोपी
हामी आफू जान्ने भएपछि बुबाआमालाई खासै वास्ता गर्दैनौं । उहाँहरु त के जान्ने र म पो जान्ने ठान्छौं । तर के हामीले कहिल्यै सोचेका छौं ? बुबाआमा साक्षात भगवान हुन् भनेर । हामी हरेक तीर्थ, मन्दिर, धामतिर जान्छौं तर घरमा बुबाआमालाई वास्ता गर्दैनौं । हाम्रै कारण उहाँहरुले दुःख पाइरहनुभएको छ भने जतिसुकै पवित्र धाम गएपनि त्यसको फल पाउन सकिँदैन । बुबाआमाले जति माया संसारमा अरु कसैले पनि गर्दैनन् । बुढेसकालको साहारा होला भनेर नै हो सबै बुबाआमाले छोराछोरीलाई मायाममता दिने । हामीले उहाँहरुलाई बाँचुन्जेल केही गर्न सकेनौं भने मरेपछि दुनियाँलाई देखाउनका लागि गर्ने श्राद्ध र पितृकार्यको पनि कुनै अर्थ हुँदैन ।
तपाईंले कुनै दिन घर ढिला जाँदा आमा घरको ढोकामा कुरेर बसेको क्षण जीवनमा कहिल्यै याद गर्नुभएको छ ? छ भने त्यहाँ लुकेको माया छ भनेर पनि थाहा पाउनुभयो होला । छैन भने तपाईंलाई कसैले म यति माया गर्छु, उती माया गर्छु भन्ने भ्रममा पारिरहेको छ, त्यो सबै झुटो हो । जीवनको सफरमा हामीले जहिले पनि साँचो साथीको साथ मात्र खोज्नुपर्छ । किनकी असल साथी नै हाम्रो सबैभन्दा बलियो आधारशीला हो र त्यो असल साथी बुबाआमा मात्रै हुन् । न बुबाले दिने सल्लाह नजाती हुन्छ न आमाले दिने माया कम नै ।
सकिन्छ असल र साँचो कुरा मात्र बोल्नु, आफैंले बोलेका कुरा आफैंतिर वाणझैं फकिन्छ भने सोचेर बोलौं । यस्तो बेलामा जतिसक्दो मौन रहनु उचित हुन्छ, किनकी सबैभन्दा धेरै अपराध मान्छेलाई उसको जिब्रोले गराउँछ । हिँड्दै जाँदा सधैं सजिला बाटाहरु मात्रै हुन्छन् भन्ने पनि छैन । बाटोहरु खराब छन् भन्ने थाहा हुँदाहुँदै पनि हिँड्नैपर्छ । बाटोहरुमा भएका तगाराहरु पन्छाएर गन्तव्यमा पुग्नैपर्छ । जो मान्छे असजिलोहरुसँग चुनौतीका साथ अघि बढ्न सक्दैन, त्यो कहिल्यै सफल हुन सक्दैन । अरुले गरेका काममा यो र त्यो भनेर प्रश्न चाहिँ गर्ने र आफूले त्यो कामका लागि कुनै योगदान नगर्ने मान्छेलाई अरुलाई नराम्रो भन्ने अधिकार पनि हुँदैन । अरुलाई नराम्रो भन्नेले त आफूले राम्रो काम गर्न पनि सक्नुपर्छ नि । अवसरवादी सोचले क्षणिक फाइदा त लिन सकिएला तर त्यो दीर्घकालीन हुँदैन ।
यहाँ केही सत्य र उपयोगी भनाईलाई पनि समावेश गरिएको छ । भनिन्छ नि, निद्रा के हो भनेर ड्राइभरलाई सोध्नु रे । पीडा र दुःख के हो भनेर परदेशीलाई सोध्नु रे । भोक के हो भनेर एउटा अनाथ र टुहुरो भोको बच्चालाई सोध्नु । जीन्दगी के हो भनेर जान्न मन लागे बुबालाई सोध्नु । र जलन, रिस के हो भनेर सोध्न मन लागे छिमेकीलाई सोध्नु । यी भनाईहरु केही अपवाद बाहेक अधिकांशको जीवनमा मेल खान्छन् ।
खुर्सानी खाँदा पीरो हुन्छ भन्ने जानेरै पनि मानिसहरु खुर्सानी खान्छन् । आगोले पोल्छ भनेर जान्दाजान्दै पनि मानिसहरु आगोको नजिक जान्छन् । पानीको पोखरीभित्र पस्दा डुबिन्छ भनेर पनि थाहा छ, तैपनि मानिस पोखरीभित्र पस्छन् । धेरै चुनौतीहरु मोलेरै पनि मानिसहरु पहाड चढ्ने आँट गर्छन् । औषधी तितो हुन्छ भनेर हामीलाई राम्ररी थाहा छ, तैपनि हामी त्यसलाई खान्छौं । भन्न खोजेको कुरा यो हो की मान्छेको जीन्दगी सोझो रेखामा कहिल्यै पनि हिँड्दैन । बाँगो रेखामा सजिलै हिँड्न सक्ने मान्छेले कहिल्यै पनि हार खाँदैन । अप्ठ्याराहरुको सामना गर्न सक्नु नै सच्चा जीवन जिउनु हो, सजिलाहरु त सबैले पार गरिरहेकै हुन्छन् नि ।
मानिसलाई केही गरे पनि चित्त बुझाउन चाहिँ सकिँदैन । घामले त निकै अपजस खेप्नुपर्छ भने पनि अरुको त के कुरा र ? अलिकती मधुरो भयो भने मान्छेहरु भन्छन्, कस्तो अल्छे घाम, अनि अलि बढी चर्कियो भने उनीहरु नै भन्न थाल्छन्, ‘अलच्छिना घाम ।’ खासमा मान्छेको स्वभावै असन्तोषी हो के । कतिबेला मरिन्छ भन्ने थाहा छैन र त यतिसम्म असन्तोषी र घमण्डी छ भने अझ कहिल्यै नमर्ने थियो भने के गथ्र्यो होला मान्छे ? भोलि उज्यालो नहुँदै मरिन्छ कि भनेर थाहा छैन तर कतिपय मान्छेहरु हरेक राति सुत्नेबेलामा मोबाइलमा वा टेबुल घडीमा अर्लाम राखेर सुत्छ । उनीहरुलाई विश्वास छ म भोलिसम्म त बाँच्छु, तर दिन आएपछि को छ र यहाँ बस्न पाउने, यतिसम्म चाहिँ हामीले कहिल्यै पनि भुल्नु हुँदैन । जीवन सरल र सहज बनाउने सही उपाय नै यहि हो ।
