ज्ञानमणि नेपाल कालोटोपी

कोही कसैले तपाईंको झुटो प्रशंसा गरिरहेको छ भने यहाँ बुझ्नुपर्छ कि यस्तो प्रशंसा गुलियो मिठाई जस्तै हुन्छ । जिब्रोलाई गुलियो त हुन्छ तर स्वास्थ्यलाई यसले ठूलो असर गर्छ । बरु करेला जस्तो तितो र साँचो आलोचना ठीक हुन्छ, एकछिनलाई तितो लागेपनि दीर्घकालिनरुपमा यसले फाइदा गर्छ । जिन्दगीमा साँचो बोलेर अरुको मन जित्नसक्नु पर्छ, झुटो बोलेर विश्वास तोड्दा त्यो घाउ कहिल्यै मेटिँदैन, सत्य बोल्न सक्यो भने यसले जोसुकैलाई पनि साँचो सम्मान दिलाउँछ ।

यहाँ हामीले यो पनि भुल्नु हुँदैन की स्वार्थी मानिसले हरकोहीलाई केवल एउटा सिँढीको रुपमा प्रयोग गर्छन्, जब उनीहरु माथि पुग्छन्, अरुलाई बिर्सिन्छन् । कतिपय आफन्त पनि आफन्त जस्ता हुँदैनन्, रगतको नातामा पनि भावना छैन भने रगत हुनु र नहुनुमा केही फरक हुँदैन । त्यसैले भनिन्छ नि, कसैले तिमीलाई बुझ्न सकेन भने त्यो तिम्रो कमजोरी होइन, त्यो त उनीहरुको दृष्टिकोणको कमी हो । मानिस सही गन्तव्यमा पुग्नका लागि हरकदममा विश्वास र प्रयासका साथ अघि बढ्नुपर्छ । किनकी यात्रा जति नै कठिन भए पनि गन्तव्यको नजिकै पुग्दा आइपरेका हरेक कठिनाईले मानिसलाई बलियो बनाइसकेको हुन्छ । जीवनमा कहिल्यै पनि हार मान्नु हुँदैन, यदि हार मान्दै हुनुहुन्छ भने जीवनमा हार मान्नु अघि एकपटक आफैंलाई सोध्नुहोस्, के म यसरी नै रोकिनका लागि जन्मिएको हुँ त ? कि हरेक कठिनाईलाई जितेर आफैंलाई नयाँ उचाईमा पुर्याउन सकिँदैन र ? यो सोचेर अघि बढ्दा सफलता पनि सँगै आइरहेको हुन्छ ।

मान्छेलाई दुःख मात्र पर्नुपर्छ, को साथी र को शत्रु सर्लक्कै छुटिन्छन् । त्यही बेलामा हो माया गर्ने र ठिक्क पार्नेका यथार्थ चित्रण पाइने पनि । त्यसैले भनिएको हो सुखमा साथी हजार भेटिन्छन्, दुःख काट्ने एउटै हुन्छ । जीवनको यात्रामा कहिलेकाहिँ चोट लाग्छ नै, तर कालान्तरमा त्यहि चोटले नै हो भविष्यको यात्रा बलियो बनाउने पनि भनेर हामीले भुल्नु हुँदैन । पैसा कमाउनु ठूलो कुरा होइन, आत्मसन्तुष्टि कमाउनु चाहिँ ठूलो कुरा हो । सफलता तब मात्र मूल्यवान हुन्छ, जब त्यसले मानिसलाई घमण्डी होइन, विनम्र बनाउँछ । तिमीले दिएको समयको कदर जसले गर्दैन, तिनीहरुलाई फेरि सम्झाउन नखोज, किनकी समयको मूल्य बुझ्नेलाई तिम्रो मौनता नै काफी हुन्छ ।

अर्को बुझ्नै पर्ने महत्वपूर्ण कुरा के छ भने हामीले कसैलाई कुनै कुराको पनि आशा देखाउनु हुँदैन । आशा देखाएर पूरा गर्न सकिएन भने त्यहाँ तपाईंको मूल्य घट्ने मात्र होइन, तपाईंलाई उसले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुन्छ । बरु आशा नै नदेखाई कसैलाई सहयोग गर्नुस् । यसमा भने तपाईंलाई चिन्नेहरुको जमात बढ्न थाल्छ । मानिसले कमाएको धन सम्पत्ती हो भनिन्छ, तर इज्जत र साथित्व कहाँ धनले किन्न सकिन्छ र ? हामीले यो कुरा कहिले बुझ्ने ? जति लामो कुरा गरे पनि मूख्य कुरा इमान्दारिता नै हो । जब मानिसले इमान्दारितालाई बिर्सन्छ, त्यसपछि उसका दुःखका दिन शुरु हुन्छन् । इमान्दारिता गुमाउँदा क्षणिक जीत त लिन सक्ला मानिसले, ढिलो चाँडो दीर्घकालिन जीत सत्यकै हुन्छ ।

हिजो धनले गरिब भएको मानिस आज धनी बनेर जिउन सक्छ । तर हिजो धनी भएकाहरु आज गरिब भएर बाँच्न कठिन हुन्छ । हरेक समस्या जुधेर अघि बढेकाहरुका लागि जतिसुकै समस्याहरु आए भने पनि ती सामान्य लाग्छन् । तर कहिल्यै समस्या नभोगेकाहरुका लागि सानासाना समस्याहरु पनि पहाडभन्दा बढी बोझिला हुन्छन् । दुःख भोगिरहेकाहरुले सुख सहजै लिन सक्छन् तर सुखमा रमाइरहेकाहरुका लागि दुःख भोग्न कठिन मात्र होइन, महाकठिन हुन्छ । यो कुरा मानिसले अरुको देखेर होइन, आफैंले भोगेर मात्र थाहा पाउँछ ।

कतै जानु छ भने वा कुनै काम गर्नु छ भने तुरुन्तै शुरु गरिहाल्नुपर्छ । समय बितेपछि गरेको कामको कुनै महत्व हुँदैन । कुनै काम गर्नका लागि कुनै बाहाना पनि गर्नु हुँदैन । बाहिर पानी परेको छ र कतै नगइ हुँदैन भने पानी परेको बाहानामा घरै बसेर गन्तव्यमा पुगिन्छ र ? पानी परे के भयो त , छाता छँदैछ नि भनेर हिँड्ने मान्छे गन्तव्यमा पुगेरै छाड्छ । हामीले सिकेको र सिकाएको जीवनको मूल सार नै यही हो । यो बुझ्न सकियो भने जीवन के हो भनेर बुझ्न हामीलाई समस्या हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *