भौतिक प्रगति ४३ प्रतिशत, समय सकिन १० महिना बाँकी

जगाती । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडक चार लेनमा विस्तार गर्ने काम थालिएको २६ महिनामा निर्माण प्रगति ४३ प्रतिशत मात्र सकिएको छ ।
अबको १० महिनामा ५७ प्रतिशत काम सक्नु पर्ने भएपनि अहिले भइरहेको निर्माण गति हेर्दा निर्धारित समयभित्र काम सकिने अवस्था छैन । कुल १५ दशमलव ८ किलोमिटर उक्त सडकलाई दुई खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको छ । जसमध्ये सूर्यविनायक–साँगा खण्डको दूरी ७ दशमलव ५ किलोमिटर छ ।
उक्त खण्डको आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ मा ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लिएको छ । २०८२ पुस २७ सम्म सक्नु पर्ने यस खण्डको प्रगति ३७ प्रतिशत छ । उता साँगादेखि धुलिखेल खण्डको दूरी ८ दशमलव ३ किलोमिटर छ । साँगादेखि धुलिखेल खण्डमा ‘स्ट्रक्चर’ निर्माणको काम भइरहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । अहिले साँगा खण्डमा पनि काम भइरहेको आयोजनाले जनाएको छ । उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २०७९ मंसिर २७ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । यसको भौतिक प्रगति भने ४२ प्रतिशत छ । यस खण्डको म्याद २०८२ मंसिर २७ सम्म रहेको छ ।
अहिलेसम्म दुवै खण्ड गरेर भौतिक प्रगति ४३ प्रतिशत रहेको आयोजनाले जनाएको छ । जगाती र महादेव खोलामा पक्की पुल निर्माणका लागि डिजाइन स्वीकृत भई निर्माण सुरु भएको छ । त्यस्तै पुन्यमाता खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।
यो सडक खण्ड भएर पूर्वका लागि सवारी साधन छुट्ने गरेका छन् । बीपी राजमार्गमा यही खण्ड भएर सवारी साधन गुड्ने गर्छन । सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माणका लागि भत्काइएका सडकका कारण दैनिक ट्राफिक जामको समस्या थपिएको छ भने घाम लाग्दा धुलो र पानी पर्दा हिलोको अवस्थामा यात्रा गर्न नागरिक बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *