ज्ञानमणि नेपाल कालोटोपी
कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।
विगत २ बर्षदेखिको निरन्तर प्रयासपछि जापानका लागि नेपालका राजदूत डा दुर्गा सुवेदीको विशेष सहयोग र समन्वयमा यी दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको हो । यससँगै अब दुई नगरपालिकाबीच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधीहरु आदानप्रदान लगायतका विषयमा भगिनीसम्बन्धका लागि सहमति भएको छ ।
यसलाई अन्तिम रुप दिई कार्य प्रारम्भ गर्न आइतबार फुजिनोमिया नगरपालिकाका नगरप्रमुख हितोतादा सुदोसहितको टोलीले मण्डनदेउपुर नगरपालिकाको औपचारिक भ्रमण गरि यसको औपचारिक घोषणा गरिएको मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइवाले जानकारी दिनुभयो ।
दुई नगरका सहमतिपत्र दुवै नगरका प्रमुखहरुले हस्ताक्षर गरि एकआपसमा आदानप्रदान गर्नुभयो । कार्यक्रममा फुजिनोमिया नगरपालिकाका प्रमुख सुदोले यो सम्बन्ध शुरुवात हुनु आफैंमा एउटा ऐतिहासिक क्षण भएको चर्चा गर्दै यसले आगामी दिनमा दुई नगरपालिकाबीचका विविध आयामहरुलाई थप उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसमा सहयोग गर्नुहुने मण्डनदेउपुर नगरका प्रतिनिधिहरु, जापानका लागि नेपालका राजदूत डा दुर्गा सुवेदीलगायतलाई विशेष धन्यवाद दिनुभयो ।
यस्तै मण्डनदेउपुरका नगरप्रमुख वाइवाले जापान जस्तो विकसित देशको नगरसँग भगिनी सम्बन्ध स्थापित हुनु निकै गौरवको विषय भएको र यसले यहाँका कृषि, पर्यटन, सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक गतिविधीहरु आदानप्रदानका साथै यी क्षेत्रको विकासमा थप प्रगति हुने आफूले अपेक्षा गरेको बताउनुभयो । उहाँले जापानले यसअघि पनि नेपालको विकासमा धेरै सहयोग गरिरहेको चर्चा गर्दै मण्डनदेउपुरको विकासमा यो सम्बन्ध कोशेढुंगा साबित हुने बताउनुभयो ।
कार्यक्रममा जापानको हितोतादा सुदो नेतृत्वको टिमलाई स्वागत गर्दै नगरउपप्रमुख विष्णुमणि नेपालले नेपाल र जापानका भौगोलिक र साँस्कृतिकलगायत धेरै रहनसहनहरु मिल्दोजुल्दो रहेको बताउनुभयो । उहाँले यो सम्बन्धले आगामी दिनमा दुई नगरबीचका धेरै क्षेत्रले प्रगति गर्ने आशा व्यक्त गर्नुभयो ।
यसअघि गत माघ ६ देखि १४ गतेसम्म मण्डनदेउपुरका जनप्रतिनिधिलगायतको टीम जापान भ्रमणमा गएर त्यहाँको फुजिनोमिया नगरपालिकासँग सम्झौता गरिसकेको थियो । त्यतिबेला यससम्बन्धी पहलका लागि मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवा र उपप्रमुख विष्णुमणि नेपाललगायतको ८ सदस्य टोली जापान भ्रमणमा गएको थियो ।
त्यसलाई मण्डनदेउपुरका तर्फबाट औपचारिकता दिन आइतबार जापानी टोली मण्डनदेउपुर आएको हो । कार्यक्रममा दुवै देशका नगरपालिकाका प्रतिनिधिहरुले एकआपसमा खुशी साटासाट गर्दै मायाको चिनो पनि आदानप्रदान गरेका थिए । यससँगै दुवै देशका केही साँस्कृतिक गतिविधिहरु पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरवासीका साथै पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।
दुई नगरपालिकाबीचको भगिनी सम्बन्धको औपचारिक कार्यक्रम अघि आइतबार नै नगरसभाको दोस्रो विशेष अधिवेशन–०८१ बसेको थियो । सो बैठकले दुई नगरबीचको भगिनी सम्बन्ध कायम गर्ने र नगरकोट भ्रमण वर्ष–२०८२ सम्बन्धमा दुई प्रस्ताव पास गरेको थियो । कार्यक्रम नगरप्रमुख टोकबहादुर वाइवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पहिरो प्रभावित भेगको अवलोकन

यसैबीच गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले क्षतिग्रस्त मण्डनदेउपुर नगरको वडानम्बर ९ र १० को पछिल्लो अवस्थाबारे जापानिज टोलीले अवलोकन गरेको छ । भगिनी सम्बन्ध स्थापित भएसँगै दुवै पालिकाका प्रतिनिधिहरुको टोलीले वडा नम्बर १० स्थित जोगिटार, माझीखोला र हल्देटारको अवस्थाबारे जानकारी लिएको हो । स्थलगत अवलोकनमा मण्डनदेउपुरका प्रमुख, उपप्रमुख तथा फुजिनोमिया नगरपालिकाका नगरप्रमुख हितोतादा सुदोसहितको टोलीको उपस्थिती थियो । त्यस क्षेत्रमा जोखिममा रहेका बस्ती, मन्दिर, सडक लगायतको अवलोकनपछि यहाँको विकासमा जापानले चासो राखेर काम गर्ने अपेक्षा गरिएको छ ।
गत असोजको बाढीपहिरोले यस नगरपालिकामा ७ जनाको मृत्यु भएको थियो भने करिब एक सय घर क्षति हुनुका साथै करोडौंको कृषि बालीमा क्षति गरेको नगरपालिकाले जनाएको छ । पछिल्लो पटक भएको दुई नगरबीचको सम्बन्धपछि यहाँका नागरिक निकै आशावादी रहेका छन् । भगिनी सम्बन्धलाई स्थायी बनाएर विकासका काम अघि बढाउनुपर्नेमा उनीहरुले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *