भकुण्डेवेसी । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायीरूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।
बाढीपहिरोबाट क्षतिग्रस्त भएको ६ महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ ।
क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । जसका लागि ७२ करोडमा ठेक्का आह्वान गरिएको हो । यसमा सहभागी हुने कम्पनीले एक करोड ८२ लाख ५० हजार सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ ।
काभ्रेतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि पहिलो टेन्डर आह्वान गरिएको छ । यसतर्फको आठ किमी सडक (डालाबेंसीदेखि–चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि दुई अर्ब ५० करोड बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले ६ करोड ५० लाख ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ । गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ ।
राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायीरूपमा मर्मतका लागि सरकारले २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायी रूपमा पुनर्निर्माण गर्न ठेक्का प्रक्रियामा जाने बताइएको छ । हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधनहरुले खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् ।
