धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीहरुको संयुक्त बैठक आयोजना गरेको छ ।
शुक्रबार जिससको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सुदर्शन श्रेष्ठ र दीपककुमार नेपालीले कार्यपत्र प्रस्तुत गर्दै कार्यालयका सूचना अधिकारीले गर्नुपर्ने काम, सूचना प्राप्त गर्ने र गराउने कार्यविधि र प्रक्रियाबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा नागरिकहरुले प्राप्त गर्नुपर्ने सूचना सहजरुपमा उपलब्ध गराउन सम्बन्धित कार्यालय प्रमुख र सूचना अधिकारीलाई प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निर्देशन दिनुभयो ।
जिल्ला स्थित कार्यालय प्रमुखहरु र सूचना अधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारीलगायतले नागरिकहरुको सरोकारका विषयमा ध्यान दिन अनुरोध गर्नुभयो । कार्यक्रमकै बीच केही कार्यालयका सूचना अधिकारीहरुले अध्यक्ष न्यौपानेलाई आफ्ना कार्यालयमा भएका कामहरुको बारेमा सूचना उपलब्ध गराएका थिए ।
कार्यक्रममा तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले तेमालको बस्दोस्थितीका बारेमा भिडियो रिपोर्ट प्रस्तुत गर्दै प्रमुख जिल्ला अधिकारीलाई तेमालको भ्रमण गर्न आग्रह गर्नुभयो । कार्यक्रम प्रजिअ ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *