धुलिखेल । सरकारले नमुना रोजगार सेवा केन्द्रका रुपमा छनौट गरेको धुलिखेल नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धुलिखेलका विभिन्न वडाहरुमा संचालित आयोजनाहरुलाई पूर्णता दिन बेरोजगार नागरिकहरुको सूचीकृत गरी रोजगार उपलब्ध गराएको छ ।
शुक्रबार धुलिखेलमा स्थानीय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । नगर प्रमुख अशोक ब्याञ्जुले छनौट भएका ब्यक्ति र कार्यक्रमको प्रभावकारिता बढाउन समन्वय र सहकार्य आवश्यक रहेको बताए । राष्ट्रिय कार्यक्रम निर्देशक डन्डुराज घिमिरेले प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रभावकारिता, आवश्यकता र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
नगरपालिकाका रोजगार संयोजक सम्झना शर्मा नेपालले कार्यक्रमका बारेमा जानकारी गराउँदै छनौट भएकाहरुले ध्यान दिनुपर्ने विषय र उनीहरुले पाउने पारिश्रमिक लगायत नमूना रोजगार कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । २०७५ सालदेखि शुरु भएको उक्त कार्यक्रममा धुलिखेलमा चालु आर्थिक वर्षमा १६ वटा आयोजनाका लागि २ सय ४१ जना छनौट भएका छन् । जसमा महिला १ सय ८३ जना र पुरुष ५८ जना रहेका छन् ।
उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने तथा जनप्रतिनिधिहरु, नीजि क्षेत्रका ब्यक्तिहरु, उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अशोक रेग्मी र विद्यासागर पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
