ज्ञानमणि नेपाल कालोटोपी
रोशी । गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाका कारण सबैभन्दा धेरै प्रभावित काभ्रेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आंकलन शुरु भएको छ ।
संघीय सरकारका गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका वडा नम्बर–२ नारायणटारबाट बुधबार यसको शुरुवात गर्नुभएको हो । उहाँले सो पालिकाको वडा नम्बर–२ का ३ जना पीडितलाई क्षति आंकलन निस्सा उपलब्ध गराउँदै विस्तृत क्षति आंकलनको शुरुवात गर्नुभएको हो । पीडित स्थानीय धनसिंह लामा, राजन बोहोरा क्षेत्री र सुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट निस्सा लिनुभयो । सो बाढीबाट धेरै प्रभावित भएकाले रोशीबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आँकलन गरिने गृहमन्त्री लेखकले जानकारी दिनुभयो । अब जिल्लाका पूर्णक्षति भएका घरको पूनर्निर्माण र आंशिक क्षति भएका घरको प्रवलिकरणको काम शुरु भएको उहाँले बताउनुभयो । प्रकृयागत कामले पूनर्निर्माणको कार्य शुरु गर्न ढिलो भएको स्विकार गर्दै गृहमन्त्रीले अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट चार लाख पाइने जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार मात्रै अस्थायी आवास निर्माणका लागि काभ्रेमा ७ करोड ३५ लाख निकासा भएको र विस्तृत क्षति आँकलनका लागि १८ जना प्राविधिक खटिएका छन् । यसको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीले धेरै नै मिहिनेत गर्नुपर्नेमा उहाँको जोड थियो । सबै पक्षको सहयोगले मात्र पूनर्निर्माणका काम सम्पन्न गर्न सकिने भन्दै सबैलाई सहयोगका लागि आव्हान गर्नुभयो । पीडितलाई निस्सा उपलब्ध गराउनुअघि गृहमन्त्रीले बाढीपहिरो प्रभावित नारायणटारको अवलोकन गर्नुभएको थियो । उहाँलाई स्थानीय जनप्रतिनिधि, प्रदेश सांसद, संघीय सांसद, स्थानीयवासी लगायतले बस्तीको हालको अवस्थाका बारेमा जानकारी दिएका थिए ।
रोशीका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले दिएको जानकारी अनुसार यस पालिकामा ५ सय ६३ घर क्षति भएका छन् भने वडा नम्बर–२ मा ६७ घर क्षति भएका छन् । उहाँका अनुसार पालिकामा तीन वटा क्लस्टर बनाएर क्षति आँकलनको काम शुरु गरिएको छ । यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र त्यहीअनुसार पालिकाले काम शुरु गर्छ ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै रोशीका उपाध्यक्ष मिमबहादुर वाइवाले बाढीपहिरोबाट रोशीमा अर्बौंको जनधनको क्षति भएकाले यसको पूनर्निर्माणका लागि सरकारकै आशामा नागरिक रहेको बताउनुभयो । उहाँले अब रोशीमा भोकमरीको समस्या आउनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै कृषि क्षेत्रका पूर्वाधारमा पनि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विस्तृत क्षति आंकलनपछि पूनर्निर्माणको काम शुरु गर्न सहज हुने भएकाले अब यसले गति लिने विश्वास गर्नुभयो ।
स्थानीय समाजसेवी गणेश लामाले सिंगो स्थानीय तहलाई प्रभावितको सूचीमा राख्नुभन्दा पनि क्षति भएका पालिकाका वडाहरुलाई तोकेरै राहत र पूनर्निर्माणका काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो । कतिपय पालिकामा केही वडामा खासै प्रभाव नपरे पनि केही वडा धेरै नै प्रभावित भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का सांसद सूर्यमान दोङले प्रभावित क्षेत्रका निजी घरका साथै पुल, तटबन्धनलगायतका पूर्वाधार निर्माणमा पनि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्टले पीडितहरुले अस्थायी र स्थायी आवास निर्माणको काम एकैपटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आँकलनको काम भने अनिवार्य हुनुपर्ने बताउनुभयो ।
यस्तै पूर्वसांसद शिवप्रसाद हुमागाईंले आउँदो वर्षाअघि रोशीमा जाने सडक निर्माणमा जोड दिनसके मात्र अस्थायी र स्थायी आवास निर्माण गर्न सकिने बताउँदै फलामेटारमा बाढीले बगाएर केही बाँकी रहेको पुललाई जोगाउन नसके आगामी दिन अझ कठिन हुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । बागमती प्रदेश सांसद एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नारायणटार लगायत काभ्रेका विभिन्न खेतीयोग्य फाँटहरू बगरमा परिणत भएको र जतिसक्दो छिटो पुरानै अवस्थामा फर्काउने गरि योजनाबद्ध कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । यसका लागि प्रदेश सरकारका तर्फबाट हुनुपर्ने सहयोगका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले सरकारले सहयोग गर्ने भनिएको रकमले अस्थायी वा स्थायी आवास निर्माणका लागि नपुग्ने भन्दै सहयोग रकम बढाउन माग गर्नुभयो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदबाट धेरै प्रभावित रोशी गाउँपालिकाबाट क्षति आंकलन शुरु गरेर पुनर्निर्माण थालेकोमा सरकार र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई धन्यवाद दिनुभयो । उहाँले रोशीमा बाढीले बगाएका सार्वजनिक संरचनाको तथ्यांक पनि प्रस्तुत गर्नुभयो ।
रोशीमा गत असोजको बाढीपहिरोले १२ जनाको निधन भएको थियो भने समग्र काभ्रे जिल्लामा ७९ जनाको निधन र ६ जना अझै बेपत्ता छन् । यहाँ अर्बौंका भौतिक संरचना, पुल, अस्पताल, विद्यालय, संग्रहालयलगायत बाढीले बगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *