धुलिखेल । ट्राफिक ब्यवस्थापनका समस्या तथा जनगुनासो सम्बोधन गर्नका निम्ति जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेले हटलाइन नम्बर १०३ सञ्चालनमा ल्याएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेको अनुगमन निरीक्षणका क्रममा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले हटलाइन नम्बर १०३ मा प्राप्त फोन उठाएर यो सेवाको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले आम नागरिकले ट्राफिक व्यवस्थापनसम्बन्धी सूचना सुनिश्चित गर्न यस किसिमको सेवाले टेवा पुर्याउने बताउनु भयो ।
साथै आम सर्बसाधारणहरुले आफूलाई परेको ट्राफिक समस्या जस्तै, बाटोको अवस्थाको जानकारी, सवारी साधनमा मालसामान छुटेको, बढी भाडा लिएको, गन्तव्यमा जान नमानेको लगायतको बिषयमा तुरुन्त गुनासो राख्न सक्ने र ट्राफिक प्रहरीका तर्फबाट सर्बसाधारणले राखेका त्यस्ता गुनासोका सन्दर्भमा तत्काल समस्या समाधानका लागि पहलकदमी लिनुपर्ने बताउनु भयो ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले अबको समय भनेको सूचना र प्रबिधिको समय भएकोले सोही अनुरुप प्रहरी सेवा पनि प्रवाह गर्नुपर्ने र त्यसको लागि यो एउटा महत्वपूर्ण पहल भएको बताउनु भयो । सबैको हातहातमा मोबाइल पुगेको अवस्थामा पनि आफूलाई परेको ट्राफिक समस्या समयमै जानकारी गराउन नसकिने अवस्था रहेकोमा अब सञ्चालनमा आएको ट्राफिक हटलाईन नम्बरले त्यस्ता समस्या तथा गुनासोको तत्काल निरुपण हुने बताउनु भयो । त्यस्तै ट्राफिकसँग सम्बन्धित निवेदन, बिबिध जानकारीहरू क्युआर कोडमार्फत पनि उपलब्ध गराउनेतर्फ पहल गर्नसमेत ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो ।
बागमती प्रदेश अन्तर्गत जिल्लाहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले प्रथम जिल्लाको रुपमा उक्त सेवा सुरुवात गरेको छ ।
