ज्ञानमणि नेपाल कालोटोपी
बनेपा । करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानसहित जनप्रतिनिधिको टोली गत हप्ता बिहीबार कृषिमन्त्री रामनाथ अधिकारीलाई भेट्न उहाँको कार्यकक्ष सिंहदरबार पुगेका छन् ।
यसपटक पनि मन्त्रीले सकारात्मक आश्वासन दिएर पठाएका मन्त्रीलाई भेटेर फर्किएका जनप्रतिनिधि तथा किसानहरुले बताएका छन् । मण्डनदेउपुरको वडानम्बर ९, १० र १२ का वडाध्यक्ष र नगर उपप्रमुखसहित किसान प्रतिनिधिलाई कृषिमन्त्री अधिकारीले डिडिसीमा दूग्धजन्य पद्धार्थको स्टक रहेको र विक्री नभएकाले भुक्तानी दिन ढिलाई भएको पुरानै जवाफ दिएपनि यो पटक भने किसानका अन्य विषयमा पनि सकारात्मक जवाफ मन्त्रीले दिएको उपप्रमुख विष्णुमणि नेपालले जानकारी दिनुभयो ।
यसअघि गत फागुनको अन्तिम साता कृषिमन्त्रीलाई भेट्न गएको यस्तै टोलीलाई कृषिमन्त्री अधिकारीले करिब ४० करोड बराबरको घिउ चीनलाई विक्री गर्ने तयारी भएको र त्यसबाट आएको पैसा किसानलाई दिइने आश्वासन दिनुभएको थियो । त्यतिबेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यसहित किसान प्रतिनिधि कृषिमन्त्रीलाई भेट्न पुग्नुभएको थियो । यसपटक भने उपप्रमुख विष्णुमणि नेपाल, वडा नम्बर ९ का वडाध्यक्ष सिताराम श्रेष्ठ, वडानम्बर १२ का वडाध्यक्ष कुमार पराजुलीलगायत किसानहरु पुगेका थिए ।
मन्त्रीले पहिले जसरी नै आश्वासन दिएको र कहिले भुक्तानी पाइने भन्ने अझै टुंगो नभएको बताइएको छ । यद्यपी उपप्रमुख विष्णुमणि नेपालले भने बिहीबारको भेट सकारात्मक भएको र कृषिमन्त्रीप्रति आफूहरु विश्वस्त रहेको बताउनुभयो । यसपटक दूध प्रशोधन केन्द्र साझेदारीमा पालिकास्तरमै खोल्न पहल गर्ने र यसका लागि पालिका, सहकारी र सरकारले समन्वय गरिनेसम्मको आश्वासन कृषिमन्त्रीबाट पाएको उपप्रमुख नेपालको भनाइ छ । डिडिसीलाई नाफामा लैजान र किसानको भूक्तानी समयमै दिनका लागि अनावश्यक कर्मचारी कटौती र सेवासुविधामा पनि सोही अनुसार कटौती गर्नुपर्नेमा आफूले पहल गरिरहेको मन्त्री अधिकारीले बताउनुभयो । जतिसक्दो छिटो किसानलाई भुक्तानी दिन आफूले डिडिसीलाई तारन्तार खबर गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । किसानहरुले भने आफूहरुले भोगेका समस्याहरुबारे अवगत गराएका थिए ।
यसभेगको जोगिटार चिलिङ सेन्टर अन्तर्गतका किसानले मात्र करिब ८५ लाख रुपैंयाँ भुक्तानी लिन बाँकी छ । वडानम्बर १२ स्थित ज्याम्दीका किसानको भने करिब एक करोड बढी भुक्तानी पाउन बाँकी रहेको वडाध्यक्ष कुमार पराजुलीले जानकारी दिनुभयो ।

त्यसैले नेपालका किसानलाई हरेक समस्या छन् भन्ने कुरा अब नयाँ रहेन । अभावै अभावका बीच अनेक हण्डर खाएर उत्पादन गरेका कृषि उपजहरुको बजार नहुँदा समस्यामा रहेका उनीहरु विगत केही वर्षयता रासायनिक मल नपाउँदा हैरान भए । समस्याकै बीचमा यहाँका किसानहरुलाई अहिले अर्को पीडा थपिएको छ, दूधको भुक्तानी समयमा नपाउनु । पहिले हरेक १५ दिनमा आफूले बेचेको दूधको भुक्तानी पाउँदै आएका किसानहरुलाई दूग्ध विकास संस्थानले भुक्तानी नदिएको पाँच महिना भयो ।
करिब चार दशकदेखि काभ्रेका किसानहरुको आम्दानीको मुख्य स्रोत पशुपालन र तरकारी खेती भएको छ । जिल्लामा अहिले यसतर्फ लाग्ने किसानको संख्या एक लाखभन्दा बढी छ । देशका सबै किसानले भोग्दै आएका साझा समस्या यहाँका किसानले पनि भोगिरहेका छन् ।
भुक्तानी समयमा नदिनुको कारण दूधको बजार माग घटेको र पाउडर दूध बनाउनु पर्ने बाध्यता आएको संस्थानले जनाएको छ । नियमित आउँदै गरेको भुक्तानी नआएपछि किसानहरु भने निकै समस्यामा छन् । यो समस्या लिएर धेरैपटक उनीहरु दूग्ध विकास संस्थानको कार्यालय पुगे । पछिल्ला दिनमा भने पैसा नै नपाइएको होइन तर बक्यौता धेरै भएपछि समस्या भएको किसान बताउँछन् ।
समयमा पैसा नआउँदा घर खर्च चलाउन र गाईवस्तुलाई दानापिठो किन्न पनि समस्या भएको उनीहरुको गुनासो छ । संस्थानले अनावश्यक कर्मचारी राखेर खर्च धान्न नसकेपछि किसानलाई अनेक बाहाना बनाएर दूधको भुक्तानी रोकेको भन्दै स्थानीय कृषक नारायण पराजुलीले आक्रोश पोख्नुभयो ।
मण्डनदेउपुरमा मात्र दूध उत्पादन गर्ने किसानको संख्या १० हजारभन्दा बढी छ । उनीहरुले दैनिकरुपमा करिब २५ हजार लिटरभन्दा बढी दूध राजधानीका बजारमा पठाउँछन् । केही किसानहरुले निजी डेरीहरुलाई पनि बेच्छन् भने धेरैजसोले वर्षौंदेखि सरकारी माताहतको दूग्ध विकास संस्थानलाई दूध बेच्दै आएका छन् । निजी डेरीहरुले समयमै पैसा दिँदा सरकारी निकायको संस्थानले भने किसानलाई समयमा भुक्तानी दिएको छैन । दूधको मूल्य समयमै पाउन उनीहरुले माग गरिरहेका छन् ।
यो समस्या लिएर दुग्ध विकास संस्थानको लैनचौरस्थित कार्यालय पुगेका किसानहरुलाई संस्थानले विभिन्न बाहाना बनाउँदै आएको छ । कोरोना अवधिदेखि आर्थिक मन्दी शुरु भएको र पछिल्ला दिनमा दूधको खपत घटेका कारण समयमा भुक्तानी दिन नसकेको संस्थानले भनेको छ । आगामी दिनमा संस्थान किसानलाई समयमै दूधको भुक्तानी दिने प्रयासमा रहेको र यो समस्या नदोहोरिने आश्वासन पाएको आँपघारी दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र नेपाल बताउनुहुन्छ ।
राजधानीको बजारमा दुग्ध विकास संस्थानले हरेक दिन नगदमा दूध बेच्दै आएको छ । उपभोक्ताले कुनै दिन एक रुपैयाँ छुट पनि पाउँदैनन् । तर किसानहरुको दूध खरिद गरिरहेको सरकारी निकायले महिनौंसम्म उनीहरुलाई भुक्तानी नदिएर यो हदसम्मको अपराध गरिरहेको छ । अब पनि नियमितरुपमा भुक्तानी नपाए सबै किसानहरु जुटेर केन्द्रीय कार्यालय घेराउ गर्ने उनीहरुको चेतावनी छ ।
