ज्ञानमणि नेपाल कालोटोपी
नगरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नुभएको छ ।
सोमबार नगरकोट भ्रमण वर्षको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र रहेको पनि बताउनु भयो । पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हुने जिकिर गर्दै उहाँले काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइस्थल नगरकोट भएको बताउनु भयो ।
उहाँले पर्यटन पूर्वाधारको बिस्तार र सहज आगमनको लागि सडक स्तरोन्नति गर्न ध्यान दिनुपर्ने बताउनु भयो । सांस्कृतिक, आर्थिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले नगरकोटले देश विदेशमा नेपाललाई चिनाउन मद्दत गरेको बताउनु भयो ।
सोमबारदेखि शुरु नगरकोट भ्रमण वर्षको आयोजकको रुपमा भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ्रेका मण्डनदेउपुर र बनेपा नगरपालिका तथा काठमाडौंको शंखरापुर नगरपालिका रहेका छन् । राष्ट्रपतिबाट उद्घाटन भएको कार्यक्रम वैशाख २ र ३ गतेसम्म चलेको थियो । नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष थालिएको हो । यो कार्यक्रमको प्रवद्र्धकमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड रहेका छन् ।
भ्रमण वर्ष सफल पार्न मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाको संयोजकत्व तथा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य र शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितको नेतृत्वमा संयुक्त मुल आयोजक समिति गठन गरिएको छ ।

जसमा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल, चाँगुनारायण नगरपालिका उपप्रमुख रमेश बुढाथोकी, बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहाल र शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ तथा चार वटै नगरपालिका प्रमुख प्रशाकीय अधिकृतहरु पनि रहनु भएको छ । नगरकोटसँग जोडिएका वर्तमान वडाध्यक्षहरु, नाल्दुम पर्यटन विकास समितिका अध्यक्षसहित पदाधिकारी, वर्तमान जनप्रनिनिधि, पूर्वजनप्रतिनिधि, स्थानीय सामाजिक संघसंस्थासमेत गरी १ हजार १ सय १ सदस्यीय संयुक्त मुल आयोजक समितिका साथै बिभिन्न नौ वटा उपसमितिहरु गठन गरिएको छ ।
‘Nagarkot is more than sunrise’ भन्ने मुल नाराका सुरु ‘नगरकोट भ्रमण वर्ष–२०८२’ नेपाल सरकारले यसै भ्रमण वर्षभित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेसमेत मुख्य लक्ष्य राखिएको मूल आयोजक समितिका संयोजक टोकबहादुर वाइवाले बताउनु भयो । नगरकोटसँगै यी ४ वटा नगरपालिकाको पर्यटन, कृषि पर्यटनलगायत यहाँका बिभिन्न जातजाति, भेषभूषा, जात्रा, पर्व र संस्कृति पहिचान गरि यसको उजागर गर्दै गाउँगाउँमा रहेका होमस्टेको विस्तार गर्ने, पर्यटकको बसाई लम्ब्याउने गरि भ्रमण वर्ष मनाउन लागिएको उहाँले जानकारी दिनुभयो । भ्रमण वर्षभर कम्तीमा एक लाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको पनि वाइवाले बताउनु भयो ।
यहाँ वैशाख २ गते भोलि चर्चित लोकदोहोरी साँस्कृतिक समूह इन्द्रेणीले आफ्नो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो भने बैशाख ३ गते प्रसिद्ध गायक प्रकाश सपुतसहितका स्थानीय कलाकारहरुले साँगीतिक कार्यक्रम प्रस्तुत गरे । यहाँ ५० भन्दा बढी स्टलहरु रहेका छन् । फुड स्टल तथा स्थानीय कृषि सामग्री, गुरुङ समुदायको संग्रहालय, प्रत्येक पालिकाका छुट्टाछुट्टै झाँकी प्रदर्शनी गरिएको थियो । चारवटै पालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १०० जना कलाकारलाई नगरकोट वरपरका सम्पदा भ्रमण गराई उक्त सम्पदाको चित्र क्यानभासमा कोरिने र प्रदर्शनी गरिने छ । साथै कला संग्रहालयको पनि स्थापना गरिनेछ ।
भ्रमण वर्ष सफल पार्न आवश्यक खर्च चारवटै नगरपालिका र नगरकोट क्षेत्रको पर्यटन व्यवसायीहरुसमेतको साझेदारी रहेको बनेपाका प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । भ्रमण वर्षभरि चार वटै पालिकामा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन हुने पनि उहाँले जानकारी दिनुभयो । शाक्यका अनुसार पुसमा अंग्रेजी नयाँ वर्ष सन् २०२५ को विदाई र २०२६ को सूर्योदयका अवसरमा चारवटै पालिकाको सहभागितामा नगरकोटमा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अन्तिम महिना अर्थात चैत महिनामा राष्ट्रिय सहकारी दिवसलाई विशेष एवं सिर्जनात्मकरुपमा विविध कार्यक्रमको आयोजना गरिनुका साथै नगरकोट भ्रमण वर्ष–२०८२ स्मारिका प्रकाशन गरिने मण्डनदेउपुर नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष पुरुषोत्तम बजगाईंले जानकारी दिनुभयो ।
चारवटै पालिकाबाट नगरकोट आवतजावतका लागि मुख्य सडक लामो समयदेखि निर्माणमा डिलासुस्ती रहेको अवस्थामा हाल चाँगुनारायण नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट कालोपत्रेको प्रक्रिया सुरु गरेको कार्यक्रममा जानकारी दिइयो । साथै विभिन्न वैकल्पिक सडकहरुको स्तरोन्नती गरिएको छ । चारवटै पालिकाहरुबाट नगरकोट आउने पदमार्गहरुसमेत रहेकाले पर्यटकहरु पदमार्गको प्रयोग गरेर पर्यटकीय आनन्द लिन सकिने आयोजकले जनाएको छ । नगरकोट भ्रमण वर्षले भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाको सम्वृद्धिको यात्रालाई जोडेर लैजान सफल हुने विश्वास आयोजकले लिएको छ ।
नगरकोट भ्रमण वर्षलाई लक्षित गरि नगरकोटमा आन्तरिक पर्यटकलाई अझै सुविधा दिने गरि नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा संचालन गरिएको छ भने होटल व्यवसायीहरुले नयाँ वर्षको १, २ र ३ गते १५ प्रतिशत र भ्रमण वर्ष अवधीभर नगरकोट आउने पर्यटकको बसाईमा १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । चार वटा नगरपालिकाभित्र विभिन्न महत्वपूर्ण मठमन्दिर लगायत अन्य विविध धार्मिक पौराणिक, आध्यात्मिक, साँस्कृतिक र ऐतिहासिक क्षेत्रहरु चिनारीको रुपमा रहेका छन् । चारवटै नगरपालिका क्षेत्रभित्र पर्ने प्राकृतिक वन जंगलले घेरिएको पर्यटकीयस्थल नगरकोटमा हाल पर्यावरणीय मनोरम दृष्यावलोकन, हिमाली दृश्यहरु, सूर्योदय र सूर्यास्तका मनोरम दृष्यावलोकनका लागि आन्तरिक एवं विदेशी पर्यटकको आगमन हुने गरेको छ । भ्रमण वर्षले यहाँ पर्यटकको उपस्थिती थप बढ्ने आयोजकको दाबी छ ।
