धुलिखेल । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदेश सरकारले जारी गरेको सबै नीतिमा स्वास्थ्य नीतिसम्वन्धी निर्देशिकाका सन्र्दभमा कार्यालयले कार्यक्रम गरेको हो । जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख आतिथी हुनुहुन्थ्यो ।
मन्त्री थापाले सरकारले बागमती प्रदेशका सबै नागरिकहरुका लागि सबै नीति निर्माणमा स्वास्थ्य नीति अनिवार्य समावेश गर्ने गरी जारी गरेको निर्देशिका कार्यान्वनमा सहजिकरण गर्न स्थानीय तहहरुसँग अन्तक्र्रिया गरिएको जानकारी दिनुभयो । आगामी वर्षको बजेटमार्फत निर्देशिकालाई सहज र सरलरुपले प्रयोगमा ल्याई नागरिकहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्न मन्त्री थापाले अनुरोध गर्नुभयो ।
जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले स्वास्थ्य नीतिमा भएका महत्वपूर्ण विषयका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहभागिहरुले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रमुख प्रशासकीय अधिकृतहरु, स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
