बनेपा । हामीले गाउँघरमा पाइने बाँसलाई त्यति ध्यान दिएका हुँदैनौं । तर बाँस खासमा बहुउपयोगी वनस्पति हो भन्ने हामीले विर्सनु हुँदैन । मानिस जन्मिएदेखि मरेपछिसम्म पनि बाँस आवश्यक मानिन्छ । धार्मिक काममा त यसको प्रयोग गरिन्छ नै, यसका साथै बाँसबाट तरकारी, हस्तकलाका सामानहरु र बहुमूल्य दैनिक प्रयोजनका सामानहरु पनि बनाउन सकिन्छ ।
करिब दुई दशकदेखि बाँसकै अनुसन्धान र नर्सरी शुरु गर्नुभएका बनेपाका बद्री अधिकारीको नर्सरीमा अहिले करिब १० हजार मोसो प्रजातीका बाँसका बेर्ना उत्पादन भएका छन् । उहाँले यसका लागि बीउहरु चाइनाबाट ल्याउनु हुन्छ । उत्पादित बेर्नाको प्रतिवटा दुई सयदेखि चार सयसम्ममा बिक्री हुन्छ । नेपालमा पाइने करिब ८० प्रजातीका बाँसमध्ये यो बेग्लै विशेषता भएको बाँस हो । अधिकारीका अनुसार यस बाँसलाई तामाको तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ भने कागज र हस्तकलाका सामान बनाउन पनि सकिन्छ । अझ नेपाल जस्तो पहाडी देशका पहिरो गइरहने ठाउँहरुमा लगाउने हो भने यसले भूक्षय रोक्न पनि ठूलो सहयोग गर्छ ।


परिचय
यो बाँस ग्रामिनी परिवारभित्र पर्ने पात नझर्ने एक ठूलो आकारको घाँस हो । बाँसको काठ जस्तै कडा घना, बलिया हाँगाहरु घनाको ढ्याङ्ग्रा र चक्रिय फूल फूल्ने जस्ता गुणहरुले गर्दा अन्य घाँसभन्दा फरक हुन्छ । मोसो बाँस गानोबाट छुट्टाछुट्टैरुपमा विकसित हुने प्रजाति हो । यस प्रजातिको झ्याङ्ग हुँदैन । मोसो बाँस पृथ्वीको शितोष्ण क्षेत्रमा पाइने सबैभन्दा ठूलो बाँस हो । यो सरदर ७५ फिटमा अग्लो र १८ सेन्टीमिटर डायमिटरको हुन्छ । मध्य पहाडी क्षेत्रमा यसको सफलतापूर्वक खेती गर्न सकिन्छ । यसको जरा उकालो र दायाँबायाँ सहजै फैलिन्छ भने ओरालोतिर कम फैलिन्छ ।
धनेश्वर बैकिवा सामुदायिक वन
०६४ साल श्रावण महिनामा नेपाल वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले धनेश्वरको बैकिवा सामुदायिक वनमा पाँच सय बोट मोसो बाँसको विरुवाहरु रोपेको थियो । शुरुमा ७ रोपनी जमिनमा लगाइएको उक्त बाँस हाल १ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । यो प्लट समुन्द्री सतहबाट १ हजार ५५० मिटरको उचाइमा रहेको छ । उत्तर मोहडाको सेपिलो जग्गामा यो बाँस छिट्टै मौलाउँछ । आजको दिनमा उक्त प्लटमा रुख र बाँसहरु सँगसँगै हुर्किरहेका छन् । त्यहाँको बाँस प्लटमा पुग्दा बेग्लै आनन्दको अनुभूति हुन्छ । त्यहाँ आउने सबै पर्यटक र दर्शकहरुले उक्त बाँस मन पराएका छन् । त्यस सामुदायिक वनका उपभोक्ता एवं पदाधिकारीहरुले राम्रो काम गरिएछ भनी गर्व गर्दछन् ।
विरुवा रोप्ने तरिका
नर्सरीमा राम्ररी हुर्किएका विरुवाहरु रोप्दा राम्रो प्रतिफल भेटिएको छ । सानो र कलिलो विरुवाहरु कडा घाम र ठूलो पानीले धेरै विरुवाहरु मर्दछन् । विरुवा लगाउँदा एक लाइनदेखि अर्को लाइन ३ मिटर र एक विरुवादेखि अर्को विरुवा ३ मिटरको फरकमा रोप्नु पर्दछ । विरुवाको खाडल ४५ सेन्टीमिटर × ४५ सेन्टीमिटरमा खन्नु पर्दछ ।
उत्पादन भएका बाँसको सदूपयोग
सुरुसुरुमा बाँस सानै रहेकाले तरकारीलाई थाँक्रा दिने, डोको, डालो बुन्ने र सिन्का बनाउने काममा प्रयोग हुन्थे । पछि आएर ग्रिन ब्याम्बो क्रियशनलाई हस्तकलाका सामानहरु बनाउन बिक्री गर्न सुरु भयो ।


मोसो बाँसका विरुवाहरु
बनेपा–धनेश्वर निवासी बद्री अधिकारीले शुरु गर्नु भएको मोसो बाँस नर्सरीमा २ वर्षे विरुवाको दुई सय, ३ वर्षे विरुवाको तीन सय, ४ वर्षे विरुवाको चार सय दरले बिक्री वितरण गरिरहनु भएको छ ।
हालसम्म मोसो बाँसका विरुवा रोपिएका जिल्लाहरु
काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ्ग, काठमाडौं, कास्की, भक्तपुर, जुम्ला, ललितपुर, कालिकोट, दोलखा, दैलेख, रामेछाप, जाजरकोट, इलाम र अछाम गरी १६ जिल्लाहरुमा १२ हजार ५०० मोसो बाँसका विरुवाहरु रोपिएका छन् । यस वर्ष खोटाङमा ५ हजार विरुवाको माग आएको अधिकारीले बताउनुभयो ।
सहयोग एवं समन्वय
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, डिभिजनल वन कार्यालयहरु, स्थानीय सरकारी निकायहरु, वन तथा वातावरण संरक्षण मञ्च, ग्रिन ब्याम्बो क्रियशन, रिकफ्ट नेपाल, साहारा नेपाल, रुपान्तरण, आभारी जस्ता संस्थाहरुको यो बाँस विकास विस्तारमा साथ र सहयोग प्राप्त भइरहेको छ ।
मुख्य समस्या
विरुवा रोपिएको तीन वर्षपछि मुसाले विरुवाको जरा खान सुरु गर्दछ । तसर्थ सुरुदेखि नै वृक्षरोपण गरिएको क्षेत्र सफा राखी मुसा नियन्त्रण कार्य गर्नुपर्दछ ।
मोसो बाँसका फाइदाहरु
१) एकल व्यक्तिले पनि सजिलै गोडमेल र काँटछाँट गर्न सकिने ।
२) बाँस रोपिएको क्षेत्रमा चिस्यान कायम रही पानीको मुलको संरक्षण हुने ।
३) धेरै बाँसका धनाहरु बिक्रीबाट बढी आम्दानी हुने ।
४) पहिरो रोकथाम गर्ने ।
५) किराले नखाने ।
६) खानको लागि स्वादिलो र पोषणयुक्त टुसाहरु उपलब्ध हुने ।
७) बाँदर आतंकको भय नरहने ।
८) हस्तकलाका सुन्दर र आकर्षक सामाग्रीहरु तयार गर्न सकिने ।
९) खेर गइरहेको काम नलाग्ने जग्गामा यो बाँस रोप्न सकिने ।
१०) कागज उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग गरी गुणस्तरिय कागज प्राप्त हुने ।
११) उच्चकोटीको धागोबाट अन्तर्राष्ट्रियस्तरको कपडा तयार हुने ।
यसरी हामीलाई सामान्य लाग्ने बाँसको खेती गर्ने हो भने नेपालका धेरै डाँडाकाँडाहरु हरियाली हुने र पहिरो तथा भूक्षयबाट बचाउन सकिने अधिकारीको अनुभव छ । यसले देशमा बढीरहेको बेरोजगारलाई पनि अन्त्य गर्न सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *