ज्ञानमणि नेपाल कालोटोपी
मानिसको जीवनमा हार जीत सामान्य नै हुन् । आज हार्नेहरुले भोलि जित्न सक्छन्, आज जित्नेहरु सधैं जितका हिस्सेदार हुँदैनन् पनि । जीवनमा हार र चुनौतीहरु त केवल आँट र सफलताको बाटो बनाउने सिँढीहरु हुन् , असफलतामै पनि अघि बढ्दै गर्नुस्, सफलता तपाईंलाई खोज्दै आउँछ । तपाईंको मिहेनतले एकदिन पक्कै संसार बदल्नेछ । यसो भन्दैमा तपाईंले कठिन समयहरुसँग डराउनु हुँदैन । कठिन समय सधैं आउँदैन, जसरी परीक्षा कहिलेकाहीँ मात्र आउँछ नि, हो त्यस्तै हो यस्तो समय पनि । यहि बेलामा हो तपाईंले आफ्नो रुप बदलेर आएका स्वार्थी र मतलबीहरु मान्छेहरु चिन्ने पनि । जो यस्तो समयमा तर्किएर हिँड्छन् नि, हो यस्ता मानिसहरुलाई कहिले पनि फर्किएर नहेर्नुस् ।
मानिसको सोच नै स्वार्थले भरिएको हुन्छ । आफ्नो स्वार्थ पूरा गर्न उसले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्छ । यो बेलामा कसैले तपाईंको बेइज्जत पनि गर्न सक्छन्, यदि उनीहरुले बेइज्जत नै गरे भने पनि तपाईंले यो बेलामा धैर्यता अपनाउनु पर्छ, उसको जवाफ तपाईंले इज्जतले दिनु पर्छ । किनकी जब तपाईंको सही समय बोल्न थाल्छ नि, घमण्डले भरिएको स्वार्थी मानिसको शीर आफैं झुक्न बाध्य हुन्छ । त्यसैले भनिन्छ नि, ‘गरिबीमा बितेको बालापन, आफन्तको अपमान, पराईको तिरस्कार र सम्बन्धको घातले जीवनभर मनलाई गहिरो घाउ त दिन्छन् नै तर ती घाउहरुले नै मानिसलाई समस्याको खाडलबाट माथि आउन सिकाउँछन् । बलियो बनाउँछन् । आज हार्न सिकेकाहरु नै हो भोलि जितको पगरी गुत्ने पनि ।
हामी सोच्दै नसोची कसैको भविष्यको अनुमान गर्छौं भने हामी गलत छौं । किनकी मानिसको वर्तमान हेरेर उसको भविष्यमाथि मजाक गर्नु हुँदैन । समय यति धेरै शक्तिशाली छ कि यसले कोइलालाई पनि हीरा बनाइदिन्छ । यदि तपाईंलाई कसैले चारैतिरबाट घेराबन्दी गरेर लडाउन खोज्छन् भने तपाईंसँग केही न केही शक्ती छ र त उनीहरु डराइरहेका छन् । थाहा छ नि हामीलाई फूटबल खेलमा पनि त टिमको शक्तिशाली स्ट्राइकर नै त हो धेरैको घेराबन्दीमा पर्ने पनि । यस्तो बेलामा डराएर होइन, निडर भएर ती व्यक्तिको सम्मान गर्न जान्नु पर्छ, किनकी सम्मान हरेक व्यक्तिको सबैभन्दा महत्वपूर्ण आधारस्तम्भ हो । यो एउटा लगानी जस्तै हो, जुन् तपाईंले अरुलाई खर्चिनुहुन्छ, त्यसले तपाईंलाई नाफासहित फिर्ता गर्छ । हामी भाग्य भाग्य भन्दै कराउँछौं तर भाग्य त ती व्यक्तिको साथमा हुन्छ जो मिहिनेत गर्न सधैं तयार हुन्छ ।
मानिसको स्वभाव एउटै हुँदैन, जो धनी छ नि, उसलाई खर्च गर्न निकै डर लाग्छ, त्यो कन्जुस पनि उस्तै हुन्छ । मौन बस्ने मानिसहरु धेरै खतरनाक हुन्छन् । कोही मानिस अलि बढी गफाडी हुन्छन्, उनीहरु कतै न कतै चिप्लिन्छन् पनि । जतिबेला समाजले उनीहरुलाई बेवकूफको संज्ञा दिन्छ । मानिसहरु कोही धेरै भावुक पनि हुन्छन्, तर ती मानिसहरु इमान्दार र सच्चा हुन्छन् । कोही धेरै शक्तिशाली हुन्छन् तर उनीहरु चाहिँ धेरै हदसम्म निर्दयी स्वभावका पनि हुन्छन् । चिप्ला कुरा गर्नेहरुसँग भने सधैं जोगिनु पर्छ । जति मीठो बोल्छन् नि, ती व्यक्तिहरु उती नै धोकेबाज पनि हुन्छन् ।
काम गर्दै जाँदा गल्ती हुन्छ तर मानिसहरु आफ्ना गल्तीहरु स्वीकार गर्न खोज्दैनन् । अनि आफ्ना गल्तीहरुको दोष अरुलाई लगाउँछन् । यस्तो बेलामा निर्दोषहरुले डराउनु हुँदैन, आफूलाई कमजोर बनाउनु पनि हुँदैन । आत्मविश्वासका साथ अघि बढ्नुपर्छ, सत्य तपाईंकै पक्षमा हुन्छ । त्यो बेलामा अप्रत्यासितरुपमा खुशी मिल्छ । यात्रामा कुरेर भेटिएकाले भन्दा जुरेर भेटिएकाहरुले नै हो बढी खुशी दिने । हामीले संगत ती व्यक्तिहरुको गर्नुपर्छ जसले अभावको खडेरी र दबाबको भूकम्पमा पनि नआत्तिएर आफ्नो असल चरित्र प्रदर्शन गरिरहेको हुन्छ । त्यसैले मान्छेहरु भन्ने गर्छन्, ‘बितिरहेको समय, रुखबाट झरिरहेको पात र धन कमाएर बदलिँदै गएको मान्छेले जिन्दगीमा धेरै महत्वपूर्ण पाठ सिकाउँछन् । मानिसले संसारसँग लड्छु र संसारलाई जित्छु भन्ने सोच कहिल्यै पनि राख्नु हुँदैन । किनकी संसार जित्न सकिँदैन र यो आवश्यक पनि छैन ।
समय र परिस्थितीसँग लड्दै आफ्ना सपनाहरुको उडान भर्न सकियो भने हो सफलताको आकाश छुने पनि । जीवनमा जति हिँडे पनि कहिँ पुगिएन जस्तो आफूलाई लाग्छ भने बरु बाटोहरु फेर्नुपर्छ तर यात्रालाई कहिल्यै पनि दोष दिनु हुँदैन । यस्तो बेला आमाबुबालाई सम्झनुपर्छ, उहाँहरु त ती देवताहरु हुनुहुन्छ, जसले आफ्ना सपनाहरु जलाएर सन्तानलाई सधैं उज्यालो भविष्य दिन खोजीरहेका हुन्छन् । भगवानले पनि पटक पटक ती मान्छेकै परीक्षा लिन्छन्, जसले थोरै भए पनि जिन्दगीलाई पढेको हुन्छ । पढ्दै नपढेकोलाई कसले चिन्छ र परीक्षा लिन्छन् ?
