ज्ञानमणि नेपाल कालोटोपी
हाम्रो समाजमा कुनै उदाहरण दिनु प¥यो भने वा केहिसँग तुलना गर्नु पर्दा च्याउ सरि उम्रिएका वा च्याउ खाओस् न स्वाद पाओस् , जस्ता शब्दहरु प्रयोग गरेर विषय र प्रसंग जोड्ने चलन हिजोआज पनि छ । तर अहिले च्याउ उखानमा मात्र सिमीत रहेन र यसले एउटा व्यवसायीकता पनि शुरु गरिसकेको छ । च्याउ त्यतिकै पनि उम्रन्छ र यसको खेतीका लागि त्यति धेरै खर्च गर्नु पर्दैन भन्नेहरु पनि छन् । तर त्यस्ता आफैं उम्रिएका जंगली च्याउहरुको सेवनले धेरैको ज्यान लिएका घटनाहरु दैनिकरुपमा सुनिएका छन् । तैपनि मानिसहरुले जंगली च्याउप्रति थोरै पनि सजगता अपनाएको भने पाईंदैन ।
नेपालमा च्याउखेतीका धेरै सम्भावनाहरु छन् । त्यसैले पछिल्ला दिनहरुमा यसको व्यवसायीक खेती गर्नतिर कृषकहरुको आकर्षण वढेको पाइन्छ । एक अध्ययन अनुशार नेपालमा करिव १ हजार प्रजातीका च्याउहरु पाइन्छन् । ती मध्ये सबै खानयोग्य भने छैनन् । ११० प्रजातीका खानयोग्य च्याउहरुले मानव जीवनमा धेरै लाभ पु¥याएका छन् । बाँकी च्याउ विषालु र अखाद्य भएको भएपनि कुन खानयोग्य र कुन अयोग्य भनेर छुट्याउन नसक्दा यसको सेवनले नेपालमा मात्रै वार्षिक ३ दर्जन भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । च्याउका फाइदाहरु धेरै सुनिए पनि सबै च्याउ खान योग्य छैनन् भन्ने कुराको यथार्थ बुझ्न नसक्दा यो धेरै नेपालीको काल बनिरहेको छ ।
प्रायजसो वर्षायाममा जंगल र पहाड अनि कुहिएका काठहरुमा उम्रिने च्याउ एक प्रकारको ढुसिकै प्रजाती हो । कतिपयले यसलाई वनस्पति भन्छन् । तर पनि खासमा यो लेउ र ढुसिकै वर्गमा पर्छ । नेपालमा पाइने मध्ये ११० जातका च्याउ खानयोग्य, १३ प्रजातीका औषधिय गुणले भरिएका, ४५ जातका च्याउहरु पूर्णरुपमा विषाक्त रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का अनुशार नेपालमा ३०० प्रजाती च्याउ पाइन्छन् र त्यसमध्ये ३० प्रजाती विषालु छन् । जंगलमा पाइने सयौंथरि च्याउ मध्ये १० प्रजाती मात्र खानयोग्य छन् । अरु जात भने अनुसन्धानकै क्रममा रहेको छ । यो तथ्य जे नै भएपनि खानयोग्य च्याउ अन्य खाद्यवस्तु जस्तै पौष्टिक तत्वले भरिएको छ र यसको व्यवसायीक खेतीबाट नेपालमा पनि कृषकहरुले धेरै मात्रामा रोजगारी पाउने संभाव्यतामा भने अब शंका रहेन ।


च्याउखेतीका सम्भावना र फाइदाहरु केलाउँदै जाने हो भने कतिपय च्याउहरुले क्यान्सर जस्तो भयानक रोगको रोकथाम पनि गर्न सक्ने विशेषज्ञहरुले बताएका छन् । यसरी क्यान्सरको समेत औषधिको काम गर्ने च्याउलाई जापानीभाषामा सिताके च्याउ भनिन्छ । नेपालीमा यसको नाम मृगे च्याउ हो । यो च्याउको ४ वर्ष अगाडिदेखि नेपालमा व्यवसायिक खेती शुरु गरिएको छ । अन्य सामान्य च्याउ उमार्न जस्तो सिताके च्याउ सजिलो छैन । उतिस वा कटुसको काठका गिंडहरुमा प्वाल पारेर त्यसभित्र च्याउका विउहरु रोप्दै मैनले टाल्नुपर्छ । अनि ती काठका गिंडहरुलाई नियमितरुपमा पानीमा डुबाएपछि ६ महिनामा बल्ल च्याउ उम्रन्छ । एकपटक उम्रिएपछि यसबाट ५ वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ भने नेपाली बजारमा यो प्रतिकेजी २ हजार रुपैयाँ सम्ममा विक्रि हुने गरेको छ । विशेषगरि औषधिय गुणले भरिएको निकै नै लाभदायी यो च्याउ तारेहोटलहरुमा धेरै नै माग हुने गरेको छ ।
पछिल्ला वर्षहरुमा नेपालमा च्याउखेती तर्फ लाग्नेहरुको संख्या वढ्दै गएको छ । सामान्यरुपमा परालमा उमारिने च्याउहरुको बजारमा पहुँच धेरै छ । थोरै लगानीमै गर्न सकिने यो च्याउको व्यवसायीक खेतीका लागि पनि नेपाली कृषकहरुसँग लगानी गर्ने आर्थिक हैशियत कम छ भने लगानी गरि उत्पादन गरिएको च्याउको बजार मूल्य लगानीको तुलनामा ज्यादै कम भएकाले सोचे जसरी कृषकहरुले यसको खेती गर्न सकेका छैनन् । तैपनि २० हजार भन्दा धेरै कृषकहरु अहिले यसमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ । नेपालमा उत्पादन हुने गरेका विभिन्न २१ प्रजातीका च्याउहरुले विश्व बजारमा पनि आफ्नो हिस्सा जोगाएका छन् ।
विश्वमा च्याउको कुरा गर्ने हो भने १ लाख ४० हजार प्रजातीका च्याउ रहेको अनुमान गरिन्छ यद्यपी १४ हजार प्रजाती मात्र पुष्टि भएका छन् । पुष्टि भएका मध्ये ५० प्रतिशत जति खानयोग्य वर्गमा पर्छन् । यसो भएपनि हालसम्म ३ सय प्रजातीको मात्रै व्यवसायीक खेती गरि प्रयोगमा आएका छन् । १० प्रतिशत च्याउहरु अत्यान्तै घातक छन् जसको सेवनले केहि घण्टामै मानिसको मृत्यु हुन्छ । विश्वका विकसित देशहरुमा पनि यस्ता च्याउहरुको सेवनले वार्षिकरुपमा धेरै नै मानवीय क्षती हुने गरेको छ । अमेरिकामा मात्रै प्रति १ लाखमा ५ जना विषालु च्याउ खाएकै कारण मर्ने गरेको अध्ययनले देखाएको छ । विश्वमा करिव ४ हजार जनाले प्रत्येकवर्ष विषालु च्याउकै कारण ज्यान गुमाउने गरेको देखिएको छ ।
नेपालमा पछिल्ला केहि वर्ष यता विशेषगरि वर्षायाममा जंगलतिर भेटिएका च्याउ खाएकै कारण वर्षेनी ३ दर्जन जतिको ज्यान गएको र सयौंको संख्यामा घाइते हुने गरेको तथ्य आएको छ । जंगलतिर घाँस सोत्तर गर्न जाने र त्यहाँ भेटिएका च्याउ घर ल्याएर खाँदा परिवार नै सखाप हुने गरेका दुखद घटनाहरु सार्वजनिक भएपनि यसको श्रृखंला नरोकिनु पक्कै पनि विडम्बना नै हो । च्याउ औषधिय गुणले भरिएको भएपनि सबै राम्रा पनि हुँदैनन् भन्ने कुराको चेतना नआएसम्म यस्ता घटनाहरु रोकिने अवस्था छैन । च्याउलाई विशेषगरि तरकारीका रुपमा प्रयोग गरिन्छ । यसका साथै औषधि र कतै कतै सुकुटीका रुपमा पनि प्रयोग गरिन्छ । कतिपय ठाउँमा च्याउको जुस बनाएर पनि प्रयोग गर्ने गरिएको भेटिएको छ । यसलाई पहिचान गरि कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सक्ने हो भने यसबाट हुने क्षती रोक्न सकिन्छ । च्याउखेतीका वास्तविकताहरु सर्वसाधारणमा बुझाउन कृषिविज्ञहरुले आगामी दिनहरुमा रचनात्मक भूमिका निर्वाह गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *