एजेन्सी । पाकिस्तानी सेनाले भारतले आफ्ना तीनवटा हवाई अड्डामा आक्रमण गरेको आरोप लगाउँदै त्यसको जबाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानले आफ्नो कारबाहीलाई ‘अपरेसन बुनयान मरसूस’ नाम दिँदै एक भारतीय हवाई अड्डा र अन्य निशानाहरूमा हमला गरेको जनाएको छ ।
श्रीनगर विमानस्थल नजिकै रहेका एक जना प्रत्यक्षदर्शीले शनिबार बिहानै एउटा जेट नजिकैबाट उडेको र त्यसपछि विस्फोटन भएको सुनेको बीबीसीलाई बताएका छन् । शनिबार बिहान पाकिस्तानका तर्फबाट गरिएका ती दाबीहरूमा पत्रकार सम्मेलनमार्फत प्रतिक्रिया जनाउँदै भारतीय वायु सेनाका विङ कमाण्डर व्योमिका सिंह र विदेशसचिव विक्रम मिस्री दुवैले भारतका सैन्य पूर्वाधारमा क्षति पुगेको भन्ने कुरा अस्वीकार गरेका छन् ।
विवरणमा भारतीय आक्रमणमा परेको भनिएको एक हवाई अड्डा–नूर खान– पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर पर रहेको रावलपिन्डीमा पर्छ । स्थानीय समय अनुसार बिहान करिब ३ बजेर १५ मिनेट जाँदा हमला भएको भनिएको छ । दुवै देशमा कैयौँ विमानस्थल बन्द हुनुका साथै उडानहरू प्रभावित बनेका छन् ।
त्यसको केही समयपछि पाकिस्तानको उड्डयन निकायले दिउँसोसम्मका देशको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ । र त्यस यताका समयमा भारतीय उड्डयन निकायले समेत १५ मे को बिहानसम्मका लागि देशको उत्तर र पश्चिममा रहेका ३२ वटा विमानस्थलहरू बन्द गर्ने घोषणा गरेको छ ।
भारतीय सेना के भन्छ ?
भारतले आफ्ना हवाई अड्डालाई निशाना गराउने क्रममा पाकिस्तानले तीव्र गतिको क्षेप्यास्त्र प्रयोग गरे तापनि भारतले त्यसलाई निष्क्रिय पारिदिएको शनिबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । भारतीय सेनाले सामाजिक सञ्जालमा पाकिस्तानले उक्साहटपूर्ण हमला बढाएको बताउँदै त्यसमा आफ्ना पश्चिमी सीमामा सर्वसाधारणहरूलाई खतरामा पार्ने गरी व्यापक ड्रोन प्रहार गरेको बताएको छ ।
तिनै प्रयासमध्ये एकमा भारतको पञ्जाब राज्यको अमृतसर सहरको खासा क्यान्टोनमेन्टमाथि शत्रुपक्षका कैयौँ सशस्त्र ड्रोनहरू उडिरहेको देखिएको भारतीय सेनाले जनाएको छ ।
‘हाम्रा हवाई प्रतिरक्षा एकाइहरूले शत्रुका ती ड्रोनहरूलाई तुरुन्तै हमला गरे र नष्ट गरे’, सेनाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनेको छ । शनिबार बिहानैदेखि भारत र पाकिस्तानबीचको एलओसी भनिने नियन्त्रित सीमा क्षेत्रमा धेरैतर्फबाट विस्फोटन भएका विवरणहरू आइरहेका छन् । बीबीसी पत्रकारहरूले भारत प्रशासित कश्मीरका श्रीनगर र जम्मू सहरहरूमा विस्फोटका आवाजहरू सुनेका छन्। तर ती विस्फोटनका स्रोत पहिचान गरिएको छैन ।
पाकिस्तानमा प्रधानमन्त्रीले डाके बैठक
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले न्याश्नल कमाण्ड अथ्योरिटीको बैठक बोलाएका छन् । उक्त निकाय इस्लामाबादको परमाणु अस्त्रहरूको रेखदेख गर्ने शीर्ष निकाय हो । त्यहाँको सेनाका प्रवक्ताले जवाफी आक्रमण जारी रहेको दाबी गर्दै भारतले आफूहरूका क्षेप्यास्त्र प्रहार गरेको सबै हवाई अड्डाहरूलाई लक्षित गरिरहेको जनाएका छन् ।
पाकिस्तानी सेनाले भारतको एस–४०० प्रतिरक्षा प्रणाली ध्वस्त पारेकोसहित विभिन्न दाबी गरिरहेको छ । उसले साइबर आक्रमण सुरु गरेको र सत्तारुढ भारतीय जनता पार्टीसहित भारतका केही शीर्ष वेबसाइटहरू ह्याक गरेको पनि बताएको छ । बीबीसीले यी दाबीहरूको स्वतन्त्ररूपमा पुष्टि गर्न सक्दैन र हालसम्म भारतले यसमा कुनै टिप्पणी गरेको छैन ।
दिल्लीमा रहेका एक बीबीसी संवाददाताले पछिल्लो यस विकासक्रम उपमहाद्वीपको लागि खतरनाक क्षण बनेको बताएका छन् । परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानले अब एकअर्कामाथि क्षेप्यास्त्र प्रहार गरिरहेका घटनालाई उल्लेख गर्दै बीबीसीका दक्षिण एशिया क्षेत्रीय सम्पादक अनबरसन एथिराजनले दुवै देशले वृद्धि गरेका सैन्य गतिविधि खतरनाक रहेको बताएका हुन् । गत २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएपछि दुवै परमाणुशक्ति सम्पन्न देशबीच पछिल्लो तनाव चर्किएको छ ।बीबीसीबाट
भारत–पाकिस्तान तनावको असर नेपाल–भारत सीमामा
धनुषा । भारत–पाकिस्तानबीचको तनावको असर नेपाल–भारत सीमामा समेत देखिएको छ ।
प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमामा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको हो । सोही निर्देशनअनुसार भारतसँग जोडिएको सीमामा धनुषामा समेत सुरक्षा कडाई बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताउनुभयो । उहाँले सीमामा आवतजावत गर्ने यात्रुको परिचय पत्र प्रमाणीकरण गर्नुका साथै आवतजावतको प्रयोजन र सवारी साधनको समेत रेकर्ड राख्न तदारुकता देखाइएको जानकारी दिनुभयो ।
भारत र पाकिस्तानबीच देखिएको विवादलाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालय, मधेस प्रदेश प्रहरी कार्यालयबाट भएका निर्देशनलाई कार्यान्वयन गरिरहेको बताउनु भयो । सीमामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन लागिरहेको जानकारी दिनुभयो । यसअघि सीमावर्ती भारतीय बजार क्षेत्र वा सीमावर्ती भारतबाट आवतजावत गर्न अर्थात स्थलमार्गबाट दुवै देशका नागरिक बिना रोकावट आउने जाने गर्दथे ।
