निर्दिप के.सी.
बनेपा । “शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि’’ भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपाले गत शुक्रबार विद्यालय तहमा नवआगन्तुक विद्यार्थीहरुको स्वागतार्थ विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका नयाँ विद्यार्थीहरुलाई लक्षित गरी गरिएको यो स्वागत समारोह भव्य र शैक्षिक दृष्टिले समर्पित रहेको थियो । विद्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक यात्रा प्रारम्भसँगै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको समुचित सन्तुलनलाई प्राथमिकता दिइएको उल्लेख गरेको कार्यक्रमले विद्यार्थीहरुमा आत्मविश्वास, नेतृत्व क्षमता तथा अतिरिक्त क्रियाकलापप्रतिको रुचिलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको थियो ।
कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका सञ्चालक सदस्य एवं प्रबन्ध निर्देशक प्रताप वैद्यको सभापतित्वमा सम्पन्न भएको थियो । निर्देशक वैद्यले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले शैक्षिक गुणस्तरका साथै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको प्रयोगात्मक पक्षलाई समेत विशेष जोड दिँदै विद्यार्थीलाई समग्र व्यक्तित्व विकासको दिशामा अघि बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, सहायक प्रधानाध्यापक, विद्यालय संयोजकहरू, विद्यालय प्रशासन, शिक्षक शिक्षिका तथा अभिभावकहरुको उपस्थित रहेको थियो । कार्यक्रमको औपचारिक प्रारम्भमा नवआगन्तुक विद्यार्थीहरुलाई टिका र खादा अर्पण गरी परम्परागत सम्मानसहित स्वागत गरियो ।
कार्यक्रमको प्रमुख आकर्षण विभिन्न चरणहरूमा प्रस्तुत गरिएको सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति थियो । विद्यार्थीहरुले नेपाली लोक नृत्य, कविता वाचन, गायन तथा अभिनयजस्ता प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । यस्ता प्रस्तुतिहरूले उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै विद्यालय जीवनप्रतिको आत्मीयता र प्रेरणा समेत जागृत गरेको उपस्थित अभिभावकहरूले बताउनुभएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापकले मन्तव्य दिँदै ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान विगत वर्षदेखि नै अभिभावकमाझ लोकप्रिय बन्दै गएको उल्लेख गर्दै विद्यालयले आधुनिक शिक्षण विधि, डिजिटल शिक्षण–सामग्रीको प्रयोग तथा अनुभवी शिक्षकहरूको सहकार्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको धारणा राखेका थिए ।
कार्यक्रमका वक्ताहरूले शिक्षा केवल किताबी ज्ञानमा सीमित नहुने, बरु सामाजिक, सांस्कृतिक र नेतृत्वदायी क्षमताको विकासमा पनि समान रूपमा केन्द्रित हुनुपर्ने आवश्यकतामाथि जोड दिए । विद्यालय संयोजकले समापन मन्तव्यमा विद्यार्थीहरूलाई विभिन्न क्षेत्रहरूमा प्रतिस्पर्धात्मक रूपमा सक्षम बन्न प्रेरित गरे । उनले सामाजिक उत्तरदायित्व, सहकार्य र नेतृत्व क्षमताको विकासमार्फत विद्यार्थीले भविष्यमा समाजको नेतृत्व गर्नसक्ने विश्वास व्यक्त गरेका थिए । सहभागी अभिभावकहरूले विद्यालयको वातावरण, अनुशासन र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै बालबालिकाको समग्र विकासमा यस्ता कार्यक्रमहरूको भूमिका महत्वपूर्ण भएको बताएका थिए ।
विद्यालय प्रशासनका अनुसार, स्वागत कार्यक्रम केवल एक परम्परा नभएर विद्यार्थी र विद्यालयबीचको सम्बन्ध सुदृढ गर्ने अवसर पनि हो । यही अवसरमार्फत विद्यार्थीहरूले विद्यालयलाई दोस्रो घरका रूपमा स्वीकार गर्दै शैक्षिक यात्रामा सशक्त सुरुवात गर्न सक्ने अपेक्षा गरेको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *