बनेपा । ६५ वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको बनेपास्थित शीर मेमोरियल अस्पतालमा अब सिटीस्क्यान सेवा पनि पाइने भएको छ । अस्पतालले बुधबारदेखि सिटीस्क्यान सेवा सुरु गरेको हो ।
एक कार्यक्रमकाबीच प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेले सिटीस्क्यान सेवाको शुभारम्भ गरे । सोही अवसरमा अस्पतालमा स्थापित जेनेरेटर हाउसको उद्घाटन पनि गरिएको छ भने हेमोडायलासिस भवनको शिलान्यास पनि गरिएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टोर जी गायेरसले सन् २०२२ मा चार जना रोटरियनले अस्पतालका लागि सिटीस्क्यानको परियोजना अघि बढाउन आग्रह गरेपछि सिटीस्क्यान ल्याउने प्रकृया सुरु गरिएको बताए ।
अस्पतालका लागि १६० स्लाइसको सिटीस्क्यान मेसिन करिब चार लाख ६० हजार अमेरिकी डलर (नेपाली चार करोड ९८ लाख रुपियाँ) रकम बराबरमा प्राप्त भएको डा हेक्टोरले जानकारी दिए । कुनै बिरामीले सिटीस्क्यानको रकम तिर्न नसक्ने अवस्था छ भने पनि रकम अभावकै कारण उक्त बिरामीले सिटीस्क्यान सेवाबाट बञ्चित हुनु नपर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य वादेले सिटीस्क्यान सेवा सुरु भएसँगै बिरामीको उपचारमा सहजता ल्याउने बताए । उनले निर्माण सुरु भएको हेमोडायलासिस भवन निर्माणपछि समेत विभिन्न रोगका बिरामीहरुको लागि हेमोडायलासिस गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताए । कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य, बनेपा नगरपालिका ५ का वडा अध्यक्ष बलराम अधिकारीले अस्पतालले प्रवाह गरेको सेवाको प्रभावको बारेमा चर्चा गरेका थिए ।
