पनौती÷भालेश्वर माध्यमिक विद्यालय पनौतीले स्थापनाको ६८ औ बार्षिकोत्सव मनाएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षता रहेको थियो ।
मन्त्री मास्केले प्रदेश सरकारले नमुना विद्यालयका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । सामुदायिक विद्यालयहरु प्रतिको अभिभावकको आकर्षण बढाउन शिक्षक अभिभावकहरुले गरिरहेको मेहनतको सम्मान गर्दै आगामी दिनमा सामुदायिक विद्यालयहरु मार्फत प्रदान गरिने शिक्षालाई झनै प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो ।
सो कार्यक्रममा प्रमुख अतिथि मास्केले सर्वाेकृष्ट शिक्षकहरु जनही ५ हजार नगदसहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमा रामचन्द्र तिमल्सिना, सुदीप कुँवर, लक्ष्मी थापा, अञ्जली रजक र कर्मचारी सजनी थापा (लेखा समूह) हुन् भने गंगा महत पूरै दिन विद्यालयमा हाजिर भई प्रशंसा–पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो ।
सोही अवसरमा विद्यार्थीहरुलाई लीला–मध्यमार्ग अक्षयकोष, तुलसा स्मृति कोष छात्रवृत्ति, गंगाकुमारी छात्रवृत्ति कोषबाट छात्रवृत्ति प्रदान समेत गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले विद्यालयको बार्षिक प्रतिवेदन र अवस्थाका बारेमा जानकारी गराउँदै दक्ष जनशक्ति ब्यवस्थापन तथा भौतिक पूर्वाधारका लागि सहयोग र समन्वय आवश्यक रहेको बताउँदै ११ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययरनत विद्यालयमा भौतिक पूर्वाधार सम्पन्न हुँदै गए पनि जनशक्ति ब्यवस्थापन कठिन भएको बताउनुभयो ।


गुणस्तरीय, ब्यवहारीक शिक्षा र विद्यार्थीहरुलाई आत्मनिर्भर हुने खालको शिक्षा उपलब्ध गराउन श्रोतको आवश्यकता रहेको थापाले बताउनुभयो । ३२ जना जनशक्तिलाई राज्यको तर्फबाट सेवा सुविधा उपलब्ध गराए पनि ३१ जना शिक्षक कर्मचारीहरुलाई निजी श्रोतबाट पारिश्रमीक उपलब्ध गराउनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । विद्यालय बस संचालन, छात्राबासका लागि आवश्यक ब्यवस्थापन र अन्य आवश्यक कार्यका लागि बजेट ब्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान दिन प्रधानाध्यापक थापाले अनुरोध समेत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले भालेश्वर माध्यमिक विद्यालयले निरन्तर शैक्षिक गुणस्तर कायम राख्न आन्तरिक र बाह्य श्रोतहरुको पहिचान गरी अभिभावकहरुको मन जित्ने कार्य गरिरहेको बताउनुभयो भने सहायक प्रधानाध्यापक हरि तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा बाल क्लवका अध्यक्ष विद्यार्थी सगर्व न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकालले भालेश्वर जस्ता सामुदायिक विद्यालयहरुलाई सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्दै अन्य विद्यालयहरुको पनि गुणस्तर सुधार गर्ने र दिवा आवासीय विद्यालय निर्माण गरी यस्ता खालका योजनाहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, संविधान सभा सदस्य रामहरि सुवेदी, पनौती नगरपालिकाका निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्षद्वय वेदप्रसाद बञ्जारा र विपिन लामा, मल्पी इन्टरनेशनल स्कूलका पूर्व प्रिन्सिपल ज्योतिमान शेरचन, नेपाल शिक्षक संगठनका अध्यक्ष भिमसेन हुमागाईं लगायतका व्यक्तिहरुले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षासेवी, चन्दादाता, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु तथा अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो भने सोहि अवसरमा विद्यार्थीहरुले खेल तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई शोभा बढाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *