धुलिखेल । कृषि विकास कार्यालय काभ्रे, पशुसेवा कार्यालय धुलिखेल र बागबानी विकास केन्द्र पाँचखालको संयुक्त आयोजनामा मंगलबार धुलिखेलमा समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमको अध्यक्षता तथा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, काभ्रेपलाञ्चोकस्थित कृषिसँग आवद्ध सम्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार तथा सरोकारवालाहरुको उपस्थितिमा आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सम्मको प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷०८३ को योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा कृषि कार्यालयका तर्फबाट प्रमुख कुलप्रसाद दवाडी, पशुसेवा कार्यालयबाट प्रमुख सृजा वाग्ले र बागबानी कार्यालयका तर्फबाट प्रमुख विष्णु बोगटीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कृषि क्षेत्रमा भएका प्रमुख कार्यहरु कृषि विकास तथा ब्यवसाय प्रर्वद्धन, कृषि प्रसार तथा प्रविधि विस्तार र कृषि उद्यमशिलता विकास कार्यक्रमका बारेमा सो कार्यालयका प्रमुख दवाडीले जानकारी गराउँदै पालिकास्तरमा भएका कार्यक्रमहरु, त्यसको लागत तथा कार्यान्वनको अवस्था र आगामी योजनाका बारेमा पनि जानकारी गराउनुभयो ।
उहाँका अनुसार कृषि विकास कार्यालय काभ्रेले आर्थिक वर्ष २०७८÷२०७९ मा ४२७ वटा, आर्थिक वर्ष २०८०÷०८१ मा १ हजार १४ वटा र आर्थिक वर्ष २०८१÷०८२ मा ७५९ वटा योजना कार्यान्वन गरेको छ । आयोजनामध्ये सबैभन्दा धेरै पाँचखाल नगरपालिकामा सम्झौता भएका छन् । कार्यालय प्रमुख दवाडीका अनुसार कार्यविधी, बजेट र कार्यक्रमको तालमेल नमिलेका कारण प्रगति भनेजस्तो देखिन कठिन भएको छ ।
समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम, साना सिंचाई कार्यक्रम, ब्यवसायीक तरकारी खेती प्रबद्र्धन कार्यक्रम, मसिना धानबाली प्रर्वद्धन कार्यक्रम, चैते धानबाली प्रवद्र्धन कार्यक्रम, खाद्यान्न बाली प्रवद्र्धन कार्यक्रम, लसुन प्याज प्रवद्र्धन कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएका छन् । यस्तै मौरी प्रवद्र्धन, संरक्षित संरचनामा गोलभेंडा खेती, मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम, कफि प्रवद्र्धन कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वन भएको कार्यालय प्रमुख दवाडीले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षका लागि कफि खेती, युवा लक्षित कार्यक्रम, साना सिंचाई, कृषिका लागि नवीनतम प्रविधि, संरक्षित संरचनामा तरकारी खेती, कृषि बजार तथा पूर्वाधार विकास, कृषि ऋणको सहज उपलब्धता सुनिश्चित, जैविक विविधता संरक्षण, च्याउ खेती, रैथाने बालीसम्बन्धी कार्यक्रम प्रस्ताव गरिएको छ ।
अपर्याप्त जनशक्ति, सूचना प्रविधिसम्बन्धी उपयुक्त पूर्वाधार विकास, साना कृषकहरुको आवश्यकतामा आधारित कृषि प्रसार एवं विकास, विभिन्न तहका सरोकारवाला निकायहरुबीच प्रभावकारी तथा कार्यमुलकसम्वन्धको विकास, कृषकहरुको साक्षरता दरमा अभिबृद्धि, कृषि प्रसार विकासमा पर्याप्त बजेट विनियोजन तथा लगानी चुनौतीका रुपमा रहेका छन् ।
पशु सेवा कार्यालयमा सीप विकासका कार्यक्रम प्रस्ताव
कार्यक्रममा पशु सेवा कार्यालय धुलिखेलको प्रगति तथा आगामी कार्यक्रमका बारेमा कार्यालयकी प्रमुख डा. सृजा वाग्लेले जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार कार्यालयमार्फत पशुपंक्षी तथा मत्स्य उपचारमा प्रयोग हुने औषधी खरिद, पशुपंक्षी रोग निदानका लागि ¥यापिट टेष्ट किट खरिद, सार्वजनिक सम्पतिको नियमित मर्मतसम्भार, पशुपंक्षी तथा मत्स्य उद्यमशिलता विकास, तथ्यांक संकलन तथा प्रेषण, बार्षिक प्रगति पुस्तिका प्रकाशन, पशुपंक्षी रोग सर्भिलेन्स तथा नमुना संकलन र परीक्षण लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।
पशुपंक्षीमा देखिने आकस्मिक रोग नियन्त्रण, बाख्रा प्रर्वद्धन, वर्डफ्लु रोग नियन्त्रण, पशु आहारा आत्मनिर्भर, रेबिज रोग नियन्त्रण, लप्पी रोग नियन्त्रण, बंगुर प्रवद्र्धन, पशुपंक्षीसँग सम्वन्धित विभिन्न दिवस आयोजनालगायत सम्पन्न भएको कार्यक्रममा जानकारी दिइयो । प्रमुख वाग्लेका अनुसार मागमा आधारित जिविकोपार्जन कार्यक्रम, पशुपंक्षीमा लाग्ने संक्रामक रोग विरुद्धको खोप, दुग्धमा उत्पादन बृद्धि, निजी क्षेत्रको साझेदारीतामा दुग्धजन्य पदार्थ भण्डारणका लागि कोल्डरुम निर्माण सहयोग पनि सम्पन्न भएका छन् ।
विगतमा भएका कार्यक्रमहरुको निरन्तरता तथा पशुपंक्षीपालनसम्बन्धी सीप विकास तालिमहरु आगामी वर्षका लागि प्रस्ताव गरिएको छ । स्थानीय तहमा रहेका पशु सेवा शाखाहरुले निरन्तर पशुपंक्षी रोग सर्भिलेन्स, संक्रामक तथा आकस्मिक रोग नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन, खोप कार्य र नियमित रिपोर्टहरु उपलब्ध गराउने र प्रवद्र्धनात्मक कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सचेत रहनु पर्ने बताउनुभयो ।
सहभागिहरुले स्थानीय तहमा भएका कार्यक्रमहरुको निरन्तरता तथा समन्वयात्मक भूमिकाका बारेमा सुझाव दिएका थिए । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको कार्यक्षेत्र चालु आर्थिक वर्षदेखि सिन्धुपाल्चोक पनि परेको छ ।
बागबानी केन्द्रले के गर्दैछ ?
पाँचखालमा कार्यालय रहेको बागबानी विकास केन्द्रले चालु आर्थिक वर्षमा सोचेअनुसार सेवा प्रदान गर्न सफल भएको जनाएको छ । यस कार्यालयका प्रमुख विष्णु बोगटीका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले ४१ लाख २० हजार राजश्व संकलन गरिसकेको छ भने यस आर्थिक वर्षमा ६० लाख कटाउने लक्ष्य लिएको छ । १५२ रोपनी जग्गामा यस कार्यालयले विभिन्न बाली, फलफूल तथा तरकारीको बीउ उत्पादन गर्दै वितरण पनि गरिरहेको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरु, पालिका प्रमुख, उपप्रमुख तथा किसान समूह र अन्य सरोकारवालाहरुले जिज्ञाशा राखेका थिए । यी जिज्ञाशा उपर चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष, रेणुका चौंलागाईं, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिंग, प्रमुख अतिथी दिपक गौतमलगायतले जवाफ दिनुभयो । सो क्रममा उहाँहरुले आफ्ना पालिकामा भइरहेका काम र हुनसक्ने कामका बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले सबै पालिका र सम्बन्धित कार्यालयलाई किसान लक्षित कार्यक्रम शुरु गर्न निर्देशन दिनुभयो । जिसस प्रमुख गौतमले ठाउँ हेरेर कार्यक्रम तय गर्नुपर्नेमा जोड दिनुभयो । रैथाने बीउहरुलाई बढावा दिनेगरि कार्यक्रम ल्याउनु पर्नेमा उहाँको जोड थियो ।
