धुलिखेल । काभ्रेको धुलिखेलमा विद्युत्को पोलमा करेन्ट लागेर मृत्यु भएका सर्लाही ईश्वरपुर नगरपालिकाका उपेश परियारको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने भएको छ ।
विद्युत लाइन मर्मतको जिम्मा पाएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दिपकप्रसाद धिताल र उपेशकी श्रीमती रश्मिला परियारबीच आइतबार सहमति भएको हो । जस अनुसार, परिवारका सदस्यको नाममा संयुक्त खाता खोलेर ७ दिनभित्र १० लाख रकम उपलब्ध गराउन निर्माण सेवाका प्रोपाइटर धिताल मञ्जुर भएका छन् । त्यस्तै, मृतकका परिवारलाई पालनपोषण र छोराछोरीलाई शिक्षाका लागि क्षतिपूर्ति उपलब्ध गराइने सहमतिपत्रमा उल्लेख छ ।
त्यस्तै, विद्युत प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत दुर्घटना क्षतिपूर्ति विनियमावली अनुसार अधिकतम १० र न्युनतम ५ लाख रुपैयाँसम्म उपलब्ध गराइने भएको छ । यसका लागि कार्यकारी प्रमुख अमृतबाबु अधिकारीले पहल गर्ने सहमति पनि भएको छ ।
त्यस्तै, उपेशकी श्रीमती रश्मिलालाई घरपायक पर्ने स्थानमा योग्यताअनुसार रोजगारी उपलब्ध गराउने पनि सहमति भएको छ । उनलाई विद्युत प्राधिकरणकै केन्द्रमा रोजगारी उपलब्ध गराउने सहमति छ । उपेशको गत शनिबार बिहान ११ हजार भोल्टको हाइटेन्सन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको थियो । तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाबिनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले ठेक्कामा लिएर काममा लगाएको थियो ।
उपेशको घरमा गाउँलेले हालिदिए छानो
काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्वल भनिने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हालीदिएका छन् । जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपीचोकका बासिन्दा उज्वलको घरको छानो उडाएको थियो ।
छानो उडाएको दुई दिनपछि शनिबार उज्वलको मृत्यु भयो । घारिबथानमा उहाँको घरबाहेक कसैको पनि क्षति भएको छैन । मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुगेका छन् ।
घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आइतबार बिहान उज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आएका थिए । शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए ।
मृतकका आफन्त भैरव परियारले परिवारको मुख्य सहारा गुमेपछि निकै समस्या भएको बताए । ‘आमा दुवै आँखा देख्दिनन्, बुबाको बुताबाट कुनै आम्दानी हुने अवस्था छैन् । श्रीमतीले घर हेरेर बसिदिँदा उज्ज्वलले कमाएको पैसाले परिवार चलिरहेको थियो’, परियारले भने, ‘उज्ज्वलको प्राण गएसँगै यो परिवारको त बिचल्ली हुने अवस्था आएको छ ।’
परिवारले दिएको जानकारीअनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहेका थिए । गत शनिबार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत लाइन छोड्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *