बनेपा । काभ्रेको बनेपामा अवैध गहना निर्माण र बिक्रीमा संलग्न पाँच जनाको समूह पक्राउ परेको छ । बनेपाको मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा प्रहरीले छापा मारेर सुन र चाँदीजस्तो धातु, नगद र अन्य सामग्री बरामद गरेको छ ।
बुधबार बिहान ७ बजे बनेपा नपा वडानम्बर ७ परिवार नियोजनचोकमा आदिरत्न शाक्यको घर भाडामा लिई संचालनमा रहेको मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा प्रहरीले छापा मारेको थियो । गोप्य सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेसमेतको टोली खटिएर छापा मारेको थियो । सो क्रममा उक्त ज्वेलर्सका संचालक भारतको पश्चिम बंगाल राज्यस्थित मदनपुर जिल्लाका बर्ष ४७ को दिपंकर मैतीको कोठाबाट सुनजस्तो देखिने पहेंलो धातुका गरगहना ६७८.८३ ग्राम, भारतीय रुपैयाँ २५ हजार ३१० र नेपाली रुपैयाँ १ लाख २१ हजार ५ बरामद भएको हो ।
उक्त कार्यमा संलग्न भारत वेस्ट बंगाल मेदिनीपुर घर भई पाँचखाल नगरपालिका(४ बस्ने बर्ष ३० को सुमन सासमोलको साथबाट २३.०८० ग्राम सुनको धातु जस्तो देखिने टुक्राहरु, जोतभन्साम घर भइ बनेपा नपा ७ बस्ने बर्ष ३८ को ऋषिकेश गोड्सेको कोठाबाट चाँदी जस्तो धातु ३२७।७५० ग्राम पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।
यस्तै मंगलबार बरामद भएको श्रोत नखुलेको नेपाली रुपैयाँ २५ लाख र उक्त कार्यमा संलग्न सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गापा–१ बस्ने बर्ष २१ को राजन धमला र जिल्ला सप्तरी छिन्नमस्ता गापा–६ बस्ने बर्ष ३८ को संजयकुमार साहलाई समेत थप अनुसन्धानका लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन पठाइएको छ ।
