धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका संचारकर्मीहरुसँग जिल्लामा भएका विभिन्न गतिविधि तथा विपद ब्यवस्थापनमा भएका क्रियाकलापका बारेमा जानकारी गराएको छ ।
कार्यालयले सरकारी नीति नियम, कानून तथा सरकारी वकिल कार्यालयमार्फत मुद्दाहरुको अभियोजन र अनुसन्धानमा हुने क्रियाकलाप, नागरिकतासम्वन्धी ब्यवस्थाका बारेमा जानकारी गराएको थियो । साथै पछिल्ला समय भएका अपराधमा नागरिकहरु सचेत हुनुपर्ने विषयमा जानकारी गराएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, नाबालक परिचयपत्र, मुद्दा, संघसंस्था तथा हतियार, विपद तथा अन्य विषयमा जानकारी गराएका थिए । उनले असोज १० देखि १२ मा भएको विपद र त्यसपछिको क्षतिका बारेमा जानकारी गराउँदै विपदको आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि नागरिकतासम्बन्धी विषयमा अभिमुखिकरण गराएकी थिइन् । उनले नागरिकताका प्रकार, नागरिकतासम्बन्धी मौजुदा कानूनका विषयमा जानकारी गराएकी थिइन् । नागरिकता प्रदान गर्दा हुने गरेका विभिन्न प्रकृया र समस्या अनि मुद्दाका सन्दर्भमा जानकारी गराउँदै जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले कानुनत भएका ब्यवस्था र नागरिकता लिने तथा दिने दुबैलाई हुने सजायँ र ब्यवस्थाका बारेमा जानकारी गराइन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहले साईबर अपराध, लागू औषध तथा अन्य अपराध र विभिन्न आपराधिक क्रियाकलापका बारेमा जानकारी गराएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतले जिल्लामा भएका गतिविधि र नागरिकका सेवाका बारेमा धारणा राखेका थिए ।
नयाँ नागरिकता लिने भन्दा प्रतिलिपी बनाउने धेरै
प्रशासन कार्यालयबाट गत आर्थिक वर्षमा नयाँ नागरिकता ९ हजार २ सय ५९ जारी भएका छन् भने प्रतिलिपी लिनेको संख्या ९ हजार ८ सय ४५ जना रहेको छ । यस्तै ७१ जनाले  नागरिकता परित्याग गरेका छन् । ६७ जनालाई गैरआवासिय नागरिकता प्रदान गरिएको छ । १० वटा नागरिकता रद्ध र २ थान नागरिकता अंगिकृत प्रदान गरिएको छ ।
पुरानो हस्तलिखित नागरिकता खुइलिने र बिग्रने गरेका र सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यसका लागि आउनेहरु बढ्दै गएका कारण कतिपय पुरानो नागरिकतामा त्रुटीहरु फेला परेका छन् । जसले गर्दा पछिल्ला केही महिनायता नागरिकताको प्रतिलिपी लिनेहरु बढेको जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताउनुभयो । उहाँका अनुसार पहिले गाउँमा टोली गएर बनाएका नागरिकतामा कतै उमेर, कतै थर र कतै नामै गल्तीहरु पाइएका छन् । यी गल्तीहरु सुधार गर्नुपर्दा प्रतिलिपी लिनेहरुको संख्या बढेको हो ।
गत आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या २७ हजार १९६ रहेको छ । यही अवधिमा १४ हजार ७४८ कार्ड वितरण भएका छन् । दलित र जनजाती परिचयपत्र २३१ वटा जारी भएका छन् ।
यस्तै १५ हजार ९३ वटा राहदानीको निवेदन दर्ता भएको प्रशासनमा १५ हजार ६५९ कार्ड वितरण भएको छ । नाबालक परिचयपत्र ६७५ वटा जारी भएको पनि प्रशासन कार्यालयले जनाएको छ । यसैगरि ७४ वटा मुद्दा दर्ता भएका छन् भने ४१ वटा फस्र्यौट भएका छन् । यस्तै ठाडो उजुरी ३४३ वटा दर्ता हुँदा ३३१ वटा फस्र्यौट भएका छन् ।
कार्यालयमा यसवर्ष ३० वटा नयाँ संघसंस्था दर्ता भएका छन्, २२९ वटा नवीकरण भएका छन् भने १९ वटा हातहतियार नवीकरण भएका छन् । यसैगरि कार्यालयबाट कारागार निरिक्षण दुई पटक, सरकारी कार्यालय अनुगमन १२ पटक, प्रहरीलगायत सुरक्षा निकायको अनुगमन ९ पटक, विकास आयोजना अनुगमन २७ पटक र संघसंस्था अनुगमन ३४ पटक गरिएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबीचमा जिल्ला सुरक्षा समितिको बैठक ४५ पटक बसेको छ भने जिल्ला विपद् व्यवस्थापनसँग सम्बन्धित बैठक २२ पटक बसेको छ । कार्यालयले शहीद परिवार, द्वन्द्व पीडित परिवार र वैदेशीक रोजगार पीडित परिवारलाई ८१ लाख ६० हजार ९१६ रुपैयाँ राहत वितरण गरेको छ । विपदमा परेकाहरुका लागि २ करोड ४७ लाख ७५ हजार राहत वितरण गरिएको छ ।
यो समय अवधिमा कार्यालयले कूल १४ करोड ८६ लाख ७ हजार ५१७ रुपैंयाँ राजश्व संकलन गरेको छ भने चालु खर्च ४४ करोड ६५ लाख ५ हजार १९४, पूँजीगत खर्च २० लाख ५ हजार ५८२ र विविध खर्च १९ करोड ४५ लाख ४० हजार ९०४ रुपैयाँ भएको छ । धरौटी विवरणबाट आम्दानी ६ करोड ७८ लाख ४६ हजार ४६२ प्राप्त भएको छ । यसबीचमा १४८ जना विशिष्ठ व्यक्तिको भ्रमण भएका छन् ।
यसैगरि जिल्लाभर ६०७ वटा आपराधिक घटना भएका छन् । ७ जनाको हत्या हुँदा १०० वटा आत्महत्याका घटना भएका छन् भने प्राकृतिक प्रकोपका घटना २३३ वटा भए । जसमा ८७ जनाको मृत्यु भएको र ९७ जना घाइते भएको कार्यालयले उल्लेख गरेको छ । यसैगरि लागूऔषध जफतका ७ वटा मुद्दा दर्ता हुँदा १४ जना पक्राउ परेका छन् । ४१७ वटा पसल र फर्मको अनुमगन भएको र १५ वटालाई जरिवाना र कारबाही गरिएको छ । जरिवाना बापत ११ लाख एक हजार संकलन भएको छ । १५५ वटा फर्म र पसलबाट सामान जफत गरिएको र जसको मूल्य ७ लाख ५७ हजार ४६५ रहेको पनि कार्यालयले जनाएको छ । यस अवधिमा कार्यालयले १० वटा ड्रोन उडान अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *