सिन्धुपाल्चोक । गुफाडाँडा कुनैबेला गुमनाम थियो । ०७५ साल पुस १६ र १७ गते यहाँ राष्ट्रिय जलवायु सम्मेलन भयो । त्यसपछि गुफाडाँडा एकाएक चर्चामा आएको हो । अहिले भरपर्दो पर्यटकीय गन्तव्यकारुपमा यसलाई लिने गरिन्छ ।
काठमाडौंको कुलाहलयुक्त वातावरणबाट केही समयका लागि भएपनि छुटकरा लिँदै घुम्न जाउँ भन्नेहरुका लागि गुफाडाँडा उपयुक्त छ । काठमाडौंबाट करिब ५४ किलोमिटरको दूरीमा रहेको गुफाडाँडा पदयात्राका लागि पनि निकै नै राम्रो गन्तव्य रहेको स्थानीयवासी बताउँछन् ।
मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेको गुफाडाँडा आफैंमा मनोरम प्राकृतिकस्थल हो । यहाँ ०७५ साल पुस १६ र १७ गते आयोजना गरिएको जलवायु सम्मेलनलाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । यहाँ भएको जलवायु सम्मेलनमा देशका सबै जिल्लाका प्रतिनिधिहरु आएका थिए । सो सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्दै आगामी दिनमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षतिका बारेमा सचेत गराई नयाँ कार्यक्रमसहितको रणनिती तयार गर्ने जनाएको थियो ।
त्यसयता यहाँ धेरै मन्त्री र नेताहरु पुगेका छन् । पछिल्लोपटक बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पनि यहाँ पुग्नुभएको थियो । लामाले यहाँको पर्यटकीय विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो तर उहाँले यसपटक एक रुपैंयाँ पनि बजेट विनियोजन गर्नुभएन । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यसबारेमा गुनासो गर्दै संघ र प्रदेशबाट गुफाडाँडा उपेक्षामा परेको बताउनुभयो । यसवर्ष नगरपालिकाले २ करोड बजेट छुट्याएको जानकारी दिँदै उहाँले आगामी दिनमा पालिकाले यसको मुहार फेर्न सक्दो पहल गर्ने बताउनुभयो ।
मेलम्ची वडानम्बर ९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्व र इतिहास निकै पुरानो भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले यहाँसम्म जाने सडक निर्माण र यहाँ राखिएका ७७ वटै जिल्लाका झण्डालाई व्यवस्थित बनाउन वडाले सोचिरहेको बताउनुभयो । उहाँले प्रकृतिले दिएको हरियाली सुन्दरतासँगै त्यहाँबाट देखिने अनेकन हिमशृङ्खलाले गुफाडाँडा थप मनमोहक रहेको बताउनुभयो । गुफाडाँडामा जलवायु संरक्षण गरौं भन्ने सन्देश दिने स्तम्भ पनि राखिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच सम्पादक समाज नेपालले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि सजग गराउने उद्देश्यले असार २८ गते शनिबार पत्रकार पदयात्रा–२ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ को गुफाडाँडामा सम्पन्न गरेको छ । पदयात्रामा विभिन्न सञ्चार माध्यमका १०० जनाभन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो । पदयात्रामा काठमाडौंका अतिरिक्त नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका पत्रकारको उल्लेख्य सहभागीता थियो ।
पत्रकारहरुको टोलीले पदयात्रा शुरु गर्दादेखि नै यहाँ वरिपरिको हरियाली, खेतबारीको मनोरम दृश्य, खोलाहरू र हिमाली हावाको स्पर्शले टोलीलाई स्वागत गरिरहेको थियो । गुफाडाँडा, मेलम्ची–९ मा अवस्थित एउटा रमणीय डाँडो हो, जहाँबाट सगरमाथा क्षेत्रका हिमशृंखलाहरू, इन्द्रावती नदीको खोँच र वरिपरिका बस्तीहरू स्पष्ट देखिन्छन् । यो डाँडोको विशेषता भनेको यहाँ अवस्थित एक ऐतिहासिक गुफा हो, जसलाई स्थानीयले “शिवगुफा” भन्ने गर्दछन् । स्थानीयहरूका अनुसार, यो गुफा आध्यात्मिक साधनाका लागि प्रयोग हुने गथ्र्यो भने केहीले यसलाई गोप्य आश्रयस्थलका रूपमा समेत प्रयोग गरिएको पाइन्छ । गुफाडाँडा जस्तो रमणीय ठाउँ अझै पनि राज्यको बेवास्ताको शिकार बनेको त्यहाँ पुग्नेहरु बताउँछन् ।
गतवर्ष नुवाकोटको शिवपुरीमा रहेको लौके झरनामा पदयात्रा गरेको सम्पादक समाजले यो पटक भने सिन्धुपाल्चोकको गुफाडाँडामा कार्यक्रम गरेको हो । गुफाडाँडाको पर्यटकीय महत्व झल्काउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक सम्पादक समाजका महासचिव श्याम डोटेलले जानकारी दिनुभयो । उहाँले स्थानीय उत्पादन र परिकारलाई आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिनुभयो । गुफाडाँडालाई एक सम्भावनायुक्त आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सके यसबाट राम्रो फाइदा लिन सकिनेमा दुईमत छैन ।
स्थानीय क्यौलेठाना आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले यहाँको विकास र समृद्धिका लागि पत्रकारका तर्फबाट सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइरालालगायत काठमाडौँबाट एक सय जनाभन्दा बढी पत्रकारको सहभागिता थियो । पदयात्रामा निस्केका पत्रकारलाई शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितले एक समारोहकाबीच स्वागत तथा सत्कार प्रदान गर्नुभएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।
क्यौलेठाना आधारभूत विद्यालय
यहाँ रहेको क्यौलेठाना आधारभूत विद्यालयमा हाल १०४ जना विद्यार्थी रहेका छन् । यहाँ पढ्ने सबैजसो विद्यार्थी तामाङ समुदायका हुन् । ८ जना शिक्षक कार्यरत यस विद्यालयमा ८ कक्षासम्म पढाइ हुने प्रधानाध्यापक भरतकुमार मल्लले बताउनुभयो । यहाँको भौगोलिक अवस्थाका कारण अधिकांश विद्यार्थीहरु शहरतिर पढ्न जाने गरेपछि हाल विद्यार्थीको संख्या घटेको हो । विद्यालय भवन राम्रो छ तर अन्य पूर्वाधारका कामहरु बाँकी छन् । गाउँसम्म जाने सडक पनि हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने अवस्था छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन सके विद्यार्थी संख्या बढाउन सकिने शिक्षकहरुको भनाइ छ । यसमा पालिका र वडाले सहयोग गरिरहेको वडाध्यक्ष किरणदीप खड्का बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *