ज्ञानमणि नेपाल कालोटोपी
कुनै पनि कामको शुरुवात गर्नु ठूलो कुरा होइन । त्यसलाई निरन्तरता दिनु र बचाई राख्नु पक्कै पनि ठूलो कुरा हो । यही शिलशिलामा काभ्रेली भूमिमा २० वर्ष पहिले जन्मिएको मध्यमार्ग साप्ताहिक हाम्रा शुभचिन्तकहरुकै कारण आज २१ औं वर्षमा प्रवेश गरेको सुखद खबर सुनाउन पाउँदा हामी हर्षले गौरवान्वित भएका छौं । यसको जस हामीले हाम्रा शुभचिन्तक पाठकहरु, विज्ञापनदाता र मार्ग निर्देशकहरुलाई नै सुम्पिएका छौं । काभ्रेली पत्रकारिताको भीडमा अहिले पनि २ दर्जन पत्रिकाहरु, आधा दर्जन एफएमहरु र टेलिभिजन पनि खुलिसकेका छन् । तर ती सबैले निरन्तरता पाएका भने छैनन् । यिनीहरु बीचमा सधैं एउटै रफ्तारले अघि बढ्न सक्नु पक्कै पनि ऐतिहासिक सफलता हो नै । हामीले आज पाएको यो सफलता पनि त्यस्तै ऐतिहासिक छ । जसबाट हामीलाई अघि बढ्ने थप ऊर्जा प्राप्त भएको छ ।
कुनैपनि बच्चा जन्मिँदा ऊसँग धेरै आशा गरिन्छ । यसले भविष्यमा राम्रो गर्ला, कूल र परिवारको इज्जत जोगाउला.. यस्तै यस्तै । हुन पनि हो, कुनै बच्चा जन्माउनु ठूलो कुरा होइन । जन्मिएको बच्चालाई हुर्काउनु, बढाउनु, पढाउनु र शिक्षित बनाउनु अनि आफ्नै खुट्टामा टेक्न सक्ने बनाउनु बरु ठूलो कुरा हो । यस्तै मध्यमार्ग पनि हिजो हाम्रा पाठक र शुभचिन्तकहरु माझ निकै भीडभाडमा जन्मिएको थियो । मध्यमार्ग जन्मँदा हाम्रा धेरै प्रतिस्पर्धीहरुले अनुमान लगाएका थिए, आखिर यो पनि अरु जस्तै भीडभाडमा त्यतिकै हराउने छ, आफ्नै अस्तित्व बिर्सिएर पतन हुनेछ । तर हामीले त्यस्तो हुन दिएनौं । हाम्रा हजारौं शुभचिन्तकहरुको माया पाउँदै हुर्कदैं मध्यमार्ग आजदेखि २१ औं वर्षमा पाइला टेक्न सफल भएको छ ।
मध्यमार्ग शुरुदेखि नै पाठकमुखी भएर उदाएको थियो । अनेक उल्झनहरुका बीच पनि ‘पाठकमुखी पत्रकारिता हाम्रो प्रतिबद्धता’ नारा लिएर जिल्लाका अन्य पत्रिकाहरुका भीडमा पसेको मध्यमार्गले यस समयसम्ममा आफूलाई प्रतिस्पर्धी पत्रिकाका रुपमा मात्र उभ्याएन, ८ वर्ष पहिले सूचना विभागबाट वर्गिकृत ‘क’ वर्गमा आफूलाई सफलतापूर्वक चिनाउन पनि सफल भयो । तर पछिल्ला केही वर्ष यो स्तरमा केही तल झरेको छ । यसको मतलब हामीले हाम्रो सेवामा कमी गरेका होइनौं । देशमा भएका राजनीतिक खिचातानी र अन्य केही समस्याका कारण हो । तैपनि हामी बिचलित छैनौं । चुनौतीका साथ थप सुधार गरेर अघि बढ्ने हाम्रो अठोट छ । यसको श्रेय हामीले आफूलाई कहिल्यै लिएनौं । हाम्रा शुभचिन्तक, पाठक, विज्ञापनदाता, प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण जनमानस नै यसको मुख्य पात्र हुनुहुन्छ ।
हिजो एउटा सानो शिशुको रुपमा जन्मिएको मध्यमार्ग आज २१ वर्षको युवक भइसक्यो । अझै अगाडि जाने सोचमा छ । यसका लागि यहाँहरुको थप गाली, ताली र मायाको खाँचो छ । हुन त यहाँहरुको माया पहिलेदेखि नै पाएकै हो मध्यमार्गले । तर पनि यसको निरन्तरताले आगामी दिनमा मध्यमार्गलाई अलगधारमा उभ्याउन सकिने कुरामा दुईमत छैन । काम गर्दै जाँदा सधैं राम्रै मात्रै हुन्छ भन्ने छैन । कहिलेकाहिं केही गल्ती पनि हुन सक्छन् । हामीले पनि केहि गल्ती ग¥यौं होला । अन्जानमा भएका ती गल्तीहरुलाई औंल्याइदिएर आगामी दिनमा अघि बढ्न आउन सक्ने अनेक तगाराहरुलाई पन्छाइदिनु हुन हामी हाम्रा समस्त पाठक र विज्ञापनदातासमक्ष अनुरोध गर्दछौं । पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा हो । यो विषयमा जानकार हुँदाहुँदै पनि काभ्रेली पत्रकारितामा एउटा फरकधारको साप्ताहिक पत्रिका उदाएको थियो, जो अहिले कठिन पहाड चढ्ने यात्रामा छ । मध्यमार्गले अहिले आफूलाई अनलाइनमा पनि परिस्कृत गरिरहेको छ ।
यस अवधिमा धेरै अप्ठ्याराहरु आए । समस्याहरु पनि नआएका होइनन् । जतिबेला आफूलाई मध्यमार्गले कहिल्यै विश्राम दिलाएन । न खरायो जसरी दौडियो, न बसायो कछुवाकै तालमा । आफ्नै गतिमा निरन्तर अगाडि बढ्नु नै मध्यमार्गले १९ वर्ष पार गर्नुको मुख्य कारण हो भन्दा फरक पर्दैन । हामीले निकै कठिन मोडमा पनि विश्राम लिएनौं, लिदैनौं पनि । हरेक चुनौतीलाई सामना गर्न हामीसँग पाठक र विज्ञापनदाताको बल र साथ छ ।
सबैले आइतबारका पत्रिकाले के लेख्यो भनेर विशेष चासोका रुपमा हेर्ने गरेको पाइएको छ । कतिपय अन्य पत्रिकाले पहिलो समाचारलाई नै अन्तिमसम्म पछ्याउने हुँदा पनि आइतबारको पत्रिकालाई थप चुनौती हुन्छ । यति मात्र होइन, नियमित प्रकाशित हुन नसकेर कतिपय पत्रिकाहरु प्रकाशन नै बन्द भएका छन् । तर मध्यमार्गले आफूलाई यस्तो घिट्घिटे अवस्थामा कहिल्यै पनि उभ्याउनु परेको छैन । यो नै उसको ठूलो सफलता हो । प्रत्येक दिन देश र जनताले आफूलाई सुसुचित भएको मान्न खोज्नु अनौंठो होइन । यसको अन्त्य गर्न मध्यमार्ग प्रयासरत छ । समयअनुसार यसले आफ्नो गति परिवर्तन गर्नु जरुरी छ । हामी त्यही यात्रामा छौं ।
यतिबेला हामीलाई अगाडि वढ्न धेरै अप्ठ्याराहरु पनि छन् । चुनौतीहरु पनि उस्तै छन् । प्रतिस्पर्धीहरु त छँदैछन् । यी विविध समस्याहरुका बाबजुद पनि हामी सफलताको उच्च शिखरमा पुग्नु छ । त्यसका लागि यहाँहरुको थप माया र साथको आवश्यक छ । मध्यमार्गले यहाँहरुले सोचेको भन्दा थप सफलताको सिंडी त्यतिबेला चढ्नेछ, जतिबेला हाम्रा सबै अप्ठ्याराहरु पाखा लाग्नेछन् । त्यसका लागि हामी निडर भएर अघि वढ्दै जाने प्रण गर्दछौं । अझै निष्पक्ष भएर यहाँहरुलाई सूचना प्रवाह गर्ने महान् कार्यमा हामी कहिल्यै कञ्जुस्याईं गर्ने छैनौं । आशा छ हामीले सोचेको त्यो सफलता अवश्य पाउने छौं । हामीलाई आजका दिनसम्म साथ र सहयोग गर्नुहुने अनि ताते गर्दै डोहो¥याउनु हुने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं । (लेखक ‘कालोटोपी’ मध्यमार्ग साप्ताहिकका सहसम्पादक हुन् ।)
