- ज्ञानमणि नेपाल कालोटोपी
गत अंकबाट निरन्तर…….
संसारमा मानिस एक्लै जन्मिन्छ, एक्लै मर्छ पनि । तर बाँचुञ्जेल जीवनको दौरानमा जोसँग भेटिन्छ, ती सधैं सँगै नहुन पनि सक्छन् । शत्रु कमाइन्छ, मित्र कमाइन्छ तर तपाइँले आफ्ना शत्रुसामू एक्लै छु भनेर कहिल्यै पनि निराश नहुनुहोला । यो भावना राख्नु कि म सबैको लागि एक्लै काफि छु । आफ्नोे साथमा अरु कोही नभए पनि भगवान हुनुहुन्छ भन्ने विश्वास राख्नुपर्छ । तर तपाइँ गलत बाटोमा हिँड्नु भने भएन ।
केही मानिसहरु तपाइँसँग नजिकिन खोज्छन् तर उनीहरु हमेशा तपाइँको अहित चिताउँछन् भने ती मानिसहरुसँग तपाइँ सधैं टाढा रहनुहोला । जो मानिस तपाइँसँग उसलाई काम पर्दा मात्र सम्पर्कमा आउँछ र अरुबेला केही खबर गर्दैन भने बुझ्नुस् की ऊ स्वार्थी हो । यसैगरि जो बारम्बार झुटो मात्र बोल्छ भने पनि ऊसँग पनि तपाइँ टाढै रहनुपर्छ । यस्ता मानिसहरु जीवनमा कहिल्यै काम लाग्दैनन् । यस्तै जो मानिस तपाइँको इज्जत गर्न जान्दैन, ऊसँग पनि कहिल्यै नजिक नहुनुहोला । यस्ता मानिसले सधैं तपाइँलाई धोका मात्र दिन्छन् । अनि जो मानिस तपाइँसँग फाइदा मात्र लिन खोज्छ र आफ्नो केही कुरा पनि तपाइँलाई दिँदैन भने त्यस्तो मानिससँग पनि तपाइँ परै भएको राम्रो । यस्तै जो मानिस सधैं तपाइँलाई तल गिराउन मात्र खोज्छ भने पनि त्यस्ता मानिससँग सतर्क रहनुपर्छ ।
तपाइँ पल पलमा मुस्कुराउनुस्, मुस्कुराउने मान्छे कहिले पनि हार्दैन । सधैं अरुको रिस गर्ने र डाहा गर्ने मानिसले जीवनमा जति धन कमाए पनि त्यसले केही अर्थ राख्दैन । जीवनमा पीडा कसलाई हुँदैन र ? रोएर तनावलाई कम गर्न सकिँदैन । पीडा भयो भन्दैमा अरुको अघिल्तिर किन अँध्यारो अनुहार लगाउनु ? चन्द्रमा पनि त कति धेरै काला धब्बा लिएर सबैलाई उज्यालो दिइरहेको छ । हामीले सधैं सकारात्मक सोच राख्न सक्नुपर्छ । जसले हर अप्ठ्याराहरुलाई पनि सहज बनाइदिन्छन् ।
संसारमा तपाइँको प्रगतिमा कोही रिस गर्छ भने त्यो तपाइँका आफन्तमै हुन्छन् । अरुले त प्रगतिको प्रशंसा गर्छन् । भाँचिएको रुखमा त नयाँ पालुवा पलाउँछ भने हामीले केही कुरामा असफल भइयो भनेर दुःख मान्नु हुँदैन । धैर्य गर्न सक्नुपर्छ ।
सधैं हँसिलो अनुहार देखिँदैमा उसका मनभित्र पीडा छैन भन्ने हुँदैन । थाहा छ नि सेतो गुलाबको पनि छाँया त कालै हुन्छ नि । तर यो नविर्सनुस् संघर्षबिनाको सफलता सम्भव छैन तर यो पनि नविर्सनुस् कि म सफलताको विन्दुमा पुगिसकें । यदि मानिसले यो अहमता पाल्छ भने ऊ मानिसको अनुहार भएर पनि मानिस जस्तो हुँदैन । मानिसले आफूलाई मानिस जस्तो बनाउन व्यवहार पनि परिवर्तन गर्नसक्नु पर्छ । अन्यथा अनुहार त मानिसको जस्तो बाँदरको पनि त हुन्छ तर के मानिस र बाँदरको व्यवहार फेरिएन भने मानिसलाई बाँदर नभनेर के भन्ने ?
मानिस भएर जन्मिएपछि उसलाई मानिसको साथ अनिवार्य हुन्छ । समाज चाहिन्छ, आफन्त चाहिन्छ । यदि कोही चाहिँदैन भन्ने मानिस छ भने सोच्नुस् त्यो मानव भएर पनि मानव हुन सक्दैन । दुःखसुख सबैलाई जतिबेला पनि पर्न सक्छ । अरुलाई दुःख परेको बेला रमिता हेरेर बस्ने र आफूलाई दुःख परेको बेला संसार नै पल्टियो, अरुले सहयोग गरे हुन्थ्यो भन्ने मान्छे स्वार्थी हो । यस्तो मानिसले कुनै पनि बेला कसैको साथ पाउँदैन । अन्तिम अवस्थामा सधैं एक्लै हुन्छ । आफ्नो एक पैसा पनि कसैलाई नदिने र अरुको मात्र खान पाए हुन्थ्यो भन्ने मानिस एक दिन भोकै मर्छ ।
कहिलेकाहिँ फरक ठाउँ र परिवेश पनि बुझ्नु पर्छ । घुम्नु पर्छ, तर बिना अर्थको घुमाइ उचित हुँदैन । समय त्यतिकै आइरहेको छैन । अमूल्य समयको सदूपयोग गरिएन भने त्यो समय फेरि फर्केर आउँदैन । त्यसलाई न कसैले करोडौंमा किन्न नै सकिन्छ । मानिसले मानिससँग नै हो संगत गर्ने । कोही यस्तो मानिससँग संगत गरौं कि कुनैबेला त्यो मानिस त मेरो असल मित्र हो नि भनेर गर्व गर्न पाइयोस् । समस्यामा साथ दिने मानिस नै हो आफ्नो मान्छे तर यहाँ हामीले यो पनि विर्सनु हुँदैन कि अरुलाई समस्या पर्दा आफूले चाहिँ के र कति सहयोग गर्न सकियो, त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।
क्रमशः……..।
