विद्युत् निर्यातबाट साढे दुई महिनामा १५ अर्ब रुपैयाँ बराबरको आम्दानी भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिकरूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको बताए ।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिकरूपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।
यसरी हेर्दा नेपालले बिजुली निर्यातबाटै उल्लेख्य प्रगति गर्न सक्ने देखिन्छ । एक अध्ययन अनुसार नेपालमा साना ठूला ६ हजार व६ा खोलानाला र नदी तलाउहरु छन् । जहाँबाट ८३ हजार मेगावाट बिजुली उत्पादन हुन सक्ने अवस्था छ । तर देशमा हाल उत्पादन भएको बिजुली करिब ३ हजार ५०० मेगावाट मात्र हो । त्यसमा पनि विभिन्न छिमेकी देशहरुको भर परेर निर्माण गरिएका छन् ।
नेपालकै नीजि लगानीमा निर्माण भएका आयोजना निकै कम छन् । हाल वर्षायाममा बढी भएको बिजुली भारत र बंगलादेशमा निर्यात गर्न सकिने अवस्था छ । तर हिउँदमा भने देशमा नपुगेर किन्नु पर्ने अवस्था छ । स्वदेशमै उत्पादन भए पनि नागरिकले सस्तोमा बिजुली उपयोग गर्न पाएका छैनन् । त्यसैले नागरिकलाई सस्तोमा सेवा दिएर पनि यसबाट प्रशस्त नाफा आर्जन गर्न सकिने एकातिर छ भने सरकारले बेलाबेलामा भन्ने गरेको समृद्ध नेपालको कुरा पनि यसैबाट मात्र सम्भव छ । नेपालमा भएका जल, जंगल र जडिबुढीको सदुपयोग गर्ने हो भने हामीले रोजगारीका लागि अरुको भर पर्नै पर्दैन । यसतिर कहिले सोच्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *