चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
तीन महिनामा सात वटा ठूला, चार वटा मध्यम र तीन सय वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आउने गरेको छ । सबैभन्दा बढी पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।
यस्तै उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।
सुरुदेखि हालसम्म सात हजार ५५० वटा उद्योगमा छ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता उच्च भए पनि सो अनुपातमा लगानी भित्रिन भने सकेको छैन । उद्योग विभागका अनुसार आव २०८१÷८२ मा ६५ अर्ब लगानी प्रतिबद्धता आउँदा १२ अर्ब एक करोड रुपियाँ भित्रिएको थियो ।
देशको राजनीतिक र आर्थिकलगायतका क्षेत्र खस्किँदै गइरहेको अवस्थामा पनि बैदेशिक लगानी प्रतिबद्धता आउनु सकारात्मक हो तर यसको कार्यान्वयन गराउन सकिन्छ कि सकिँदैन, सरकारले यतातिर ध्यान दिनुपर्छ । यस्तो प्रतिबद्धता विगतमा पनि नआएका होइनन् तर ती प्रतिबद्धतामै सिमित भए । २० प्रतिशत पनि कार्यान्वयन भएनन् । अहिलेका प्रतिबद्धताहरु कागजमा मात्र सिमित नहोस् । यसलाई सदूपयोग गर्न तीनै तहका सरकारहरुले ध्यान दिनु आवश्यक छ । हुन त हामी हाम्रै बजेट त पूरा कार्यान्वयन गर्न सक्दैनौं, यस्तो बेलामा अरुले दिने सहयोग सदूपयोग हुनेमा आशंका छ तर सधैं नकारात्मक मात्रै सोचेर पनि हुँदैन । यसमा सकारात्मक हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *