सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौलेठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौंको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा सोमबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरमा डा. राजु खतिवडा र सजल तवनवासुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो ।
शिविरको उद्घाटन गर्दै नगरप्रमुख तामाङले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निजी संस्था र समुदायबीचको सहकार्यले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै “नगरपालिकाले पु¥याउनु पर्ने दायित्वमा नव आशा गृह क्लिनिकजस्ता संस्थाहरूले हातेमालो गर्नुले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको र दुर्गमका बासिन्दा, विद्यार्थी र कमजोर वर्गका नागरिकका लागि यस्ता स्वास्थ्य सेवा कार्यक्रमले ठूलो राहत पु¥याउने गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई नगरपालिकाले प्राथमिकतामा राख्ने प्रतिबद्धतासमेत जनाउनु भयो ।
शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, वृद्धवृद्धा तथा स्थानीयवासी गरी २८७ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष किरणदीप खडका, मेलम्ची स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, स्थानीय अभिभावक तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।
